कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

अभिभावकबाटै कुटिन्छन् बालबालिका

हिंसाका कारण उपत्यकामा दिनहुँजसो बालबालिकालाई उपचारका लागि अस्पताल पुर्‍याइन्छ
फातिमा बानु

काठमाडौँ — केही महिनाअघि लमजुङकी ३ वर्षीया बालिकालाई अचेत अवस्थामा राजधानीको कान्ति बाल अस्पताल ल्याइयो । घाँटीमा रातो डाम थियो, श्वासप्रश्वासमा समस्या थियो ।

चिकित्सकले बालिकाको यस्तो अवस्था कसरी भयो भन्नेबारे बुझ्न खोज्दा अभिभावकले घाँटीमा सल कस्सिएर यस्तो अवस्था भएको बयान दिए । चिकित्सकलाई भने अभिभावकको विश्वास नलागेपछि बालिकाको विशेष परीक्षण भयो । चिकित्सकले यो घटना प्रहरीमा उजुरी गरेपछि साँचो कुरा बाहिर आयो ।


श्रीमान् र श्रीमतीको झगडाको सिकार भएकी रहिछन् बालिका । उपचारक्रममा बालिकाको मृत्यु भयो । श्रीमान्सँग झगडा परेपछि आमाले बालिकाको घाँटी निमोठिदिएकी थिइन् । बालिकाकी आमा थुनामा छिन् ।


उपत्यकामा दुर्व्यवहारका कारण दिनहुँजसो बालबालिका उपचारका लागि अस्पताल पुर्‍याइन्छ । तर अधिकांश घटनाबारे अनुसन्धान हुँदैन । न चिकित्सकले यसबारे सोध्छन्, न त बालबालिकाले आफूमाथि भएको कुटपिटको घटनाबारे बताउन सक्छन् । अस्पतालमा यस्ता बालबालिका आइरहन्छन् ।


कहिले प्रहरीले ल्याउँछन्, कहिले अभिभावकले त कहिले छिमेकीले पनि । सामान्य रगत परीक्षण र एक्सरेबाट पत्ता लाग्ने भए पनि यो अभ्यासमा छैन । यस्ता दुव्र्यवहारबारे छानबिन कसरी गर्ने भन्नेमा स्वास्थ्यकर्मी नै अन्योलमा छन् ।


बालरोग विशेषज्ञ डा.सामना शर्मा भन्छिन्, ‘बिरामीको चाप बढी हुन्छ, शंका लाग्दा मात्रै हामी बालबालिकाको अवस्थाबारे विस्तृत बुझ्न भ्याउँछौं ।’ सरकारले यस्ता घटनाबारे छानबिन गर्ने नीति बनाउनुपर्ने उनले बताइन् ।


दुव्र्यवहारबाट घाइते भएर अस्पताल ल्याइएका बालबालिकालाई अभिभावकले भर्ना गरी उपचार गर्न नमान्ने हुँदा घटनाको जरो पत्ता लगाउन अझ गाह्रो हुने उनी बताउँछिन् । उनी थप्छिन्, ‘यस्तो हुँदा बच्चाको उपचार त हुन्छ, तर न्याय हुँदैन ।’ महाराजगन्जस्थित कान्ति बाल अस्पतालमा भर्ना भएका बालबालिकाबारे चिकित्सकले व्यक्तिगत रूपमा गरेको अनुसन्धानका अनुसार धेरैजसो बालबालिका स्कुलमा शिक्षक–शिक्षिकाद्वारा कुटिएर घाइते हुने गरेका छन् ।


यौन दुव्र्यवहार, कुटपिट र शारीरिक कुटाइका कारण बालबालिका नै भर्ना हुने अवस्थामा अस्पताल आइपुग्ने गरेको चिकित्सक बताउँछन् । कानमा रगत जमेको, पानी र तेलले पोलेका घटनामा भने स्वास्थ्यकर्मीले सजिलै थाहा पाउने गरेको उनीहरूको अनुभव छ । थाहा पाइहाले पनि बालबालिकालाई न्यायसम्म पुर्‍याउने विशेष संयन्त्र नहुँदा उनीहरूमाथि हुने दुव्र्यवहार रोकिन सकेको छैन ।


बालबालिकामाथि हुने यस्ता दुव्र्यवहार पहिचानका लागि चिकित्सक र नर्सलाई विशेष तालिमको आवश्यकता रहेको बालरोग विशेषज्ञ डा.विष्णुरथ गिरी बताउँछन् । उनी भन्छन्, ‘शरीरमा घाउ लिएर अस्पताल आउँछन्, यसबारे बच्चाले भन्न सक्दैनन्, अभिभावकले झुट बोल्छन् ।’ केही विशेष परीक्षणबाट घटना हो या दुर्घटना पत्ता लाग्छ ।’ बालबालिकामाथि हुने यस्ता दुव्र्यवहार रोक्न कानुन नै बन्नुपर्ने उनी बताउँछन् ।


चकचक र जिद्दी गर्ने बालबालिकाको बानी हुन्छ । उनीहरूलाई नियन्त्रण गर्न एक/दुई झापड नै लगाउनुपर्छ भन्ने अभिभावकको मानसिकता हुन्छ । यस्तै मानसिकताका कारण बालबालिका अपांग हुनेदेखि मृत्युको मुखसम्म पुग्ने गरेका छन् ।


यस्तो अवस्थामा बालबालिकाले तत्कालै उपचार र परामर्श पनि पाउन सकिरहेका छैनन् । डा. गिरी भन्छन्, ‘कति बालबालिका त कुटिएको महिनौं दिनपछि मात्रै अस्पताल ल्याइन्छन्, शंका लागेमा हामी प्रहरीमा उजुरी दिन्छौं ।’ यस्तो प्रवृत्ति रोक्न सरकारी संयन्त्र नै बन्नुपर्ने उनको भनाइ छ । यस्ता घटना न्यूनीकरणका लागि सरकारले विशेष समिति नै बनाउनुपर्ने बालरोग विशेषज्ञ डा. रामहरि चापागाइँ बताउँछन् । उनी भन्छन्, ‘यो समितिमा चिकित्सक, कानुन व्यवसायी र फोरेन्सिक पनि संलग्न हुन जरुरी छ, उनीहरू सबैलाई तालिम पनि चाहिन्छ ।’

प्रकाशित : मंसिर ८, २०७५ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?