कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दक्षिणकालीमा फोहोर बढ्दै

काठमाडौँ — बढदो जनसंख्यासँगै काठमाडौंको धार्मिक तथा पर्यटकीय स्थल दक्षिणकालीमा फोहोर बढदै गएको छ । जनसंख्या बढेसँगै नयाँ घर बन्ने क्रम जारी छ । सँगसँगै फोहोरको परिमाण पनि ।

फोहोर व्यवस्थापनमा नगरको बेवास्ता र मन्दिरमा आउने दर्शनार्थीले जथाभावी फाल्ने फोहोरका कारण हरियाली क्षेत्र कुरूप बन्दै गएको छ ।


खासगरी वडा नं. ५, ६ र ७ मा जथाभावी फोहोर फाल्ने गरिएको स्वयं जनप्रतिनिधि स्विकार्छन् । ‘धेरैजसो सहरीकरण भई नसकेका स्थान छन् । त्यसैले फोहोर कम हुन्छ । तर, फर्पिङ र वरपर फोहोरको निकै ठूलो समस्या छ,’ वडा नं. ६ का अध्यक्ष तथा दक्षिणकाली क्षेत्र प्रबन्ध समितिका अध्यक्ष शंकरमान महर्जनले भने । फोहोर व्यवस्थापनमा महानगरसहित सिसडोलको भर परेकाले कुनै व्यवधान हुनेबित्तिकै असर पर्ने गरेको उनले बताए । नगरको मुख्य सडक वरपर फोहोरका थुप्रा देखिन्छन् ।


नाइके खोल्चामा पनि चारैतिरबाट फोहोर फालिएको हुन्छ । वरपरका बासिन्दा आफैं फोहोर फाल्छन्, जसले जग्गाधनीलाई अप्ठयारो परेको ५ नं. का वडाध्यक्ष श्यामबहादुर खत्रीको भनाइ छ । उनका अनुसार स्थानीयले राति फोहोर फाल्ने गरेका छन् । ‘त्यो ठाउँ केही महिनाअघि डम्पिङ साइटको रूपमा भाडामा लिने कि भन्ने कुरा थियो । तर, त्यो निर्णय हुन नपाउँदैदेखि मान्छेले फोहोर फाल्न थालिसके,’ खत्रीले भने, ‘त्यो खाल्टोको फोहोर नगरको टिपरले पनि लादैँन, जस्ताको तस्तै हुन्छ ।’


बर्सेनि लाखौं पर्यटक पुग्ने धार्मिक महत्त्व भएको र नगरको नामकरण गरिएको दक्षिणकाली मन्दिर वरपरमा पनि फोहोर फाल्ने क्रम बढदै छ । २ वर्षपछि आइतबार मन्दिर दर्शनका लागि पुगेकी काभ्रेकी माया नेपाल प्लास्टिकका सामान र खानेकुराका झोलाले मन्दिर क्षेत्र फोहोर देखिएको बताइन् ।


‘मन्दिरतिर अलिअलि फूलमाला त जहाँ पनि हुन्छ । तर, यो चाउचाउ–बिस्कुटका खोल प्लास्टिकका पोका, पानीको बोतल, कार्टुन सबै यहीँ फालेर धार्मिक वन र मन्दिर क्षेत्र कुरूप भएको छ,’ उनले भनिन् । त्यही दिन काठमाडौं घुम्ने सिलसिलामा सपरिवार घुम्न पुगेका थिए बाराका जय नारायण साह पनि । दक्षिणकाली नगरपालिकाको हरियाली र वातावरणले जति प्रभावित बनायो त्यति नै उनी फोहोर देखेर खिन्न भए ।


मन्दिरसँगै रहेको बस स्टप र नजिकैका होटलले केही फोहोर जम्मा पारेर फोहोर लिन आउनेलाई दिन्छन् भने केहीले चाहिँ दिनभरिका फोहोर नजिकै जंगलमा मिल्काउँछन् । दक्षिणकाली क्षेत्र प्रबन्ध समितिकी नायब सुब्बा मन्दिरा महर्जन रञ्जित दर्शनार्थी र श्रद्धालुले उक्त क्षेत्रमा राखिएका डस्टबिन प्रयोग नगर्नु पनि फोहोर बढ्नुको एक प्रमुख कारण भएको बताइन् । ‘हामीले आवश्यक ठाउँमा फोहोर फाल्ने भाँडा राखिदिएका छौं । तर मन्दिर आउनेहरूले जथाभावी फाल्दिन्छन्,’ उनले भनिन्, ‘दर्जन जति सरसफाइ कर्मचारीले काम गरिरहे पनि सबै फोहोर उठाएर सकिन्न ।’


उनले नगरपालिकाको ट्रिपरले मन्दिरको फोहोर नलाने र त्यहीँ व्यवस्थापन गर्ने गरिएको जानकारी दिइन् । उनका अनुसार पूर्णवती र उदारवती गंगा (खोला) को दोभानमा अवस्थित दक्षिणकाली मन्दिरको फोहोर परिसरभित्रै व्यवस्थापन गर्ने गरिएको छ ।


बलिका लागि ल्याइने पशुपन्छीको वध गरिसकेपछिको फोहोर पनि पहिले खोलामै फालिने भए पनि हाल शौचालय मुन्तिर पर्खाल लगाई खाल्डोमा गाड्ने गरिएको छ । ‘यहाँको फोहोर दीर्घकालिन व्यवस्थापनका लागि धेरै बजेट चाहिन्छ । तर, नगरपालिका वा केन्द्रबाट यसका लागि पर्याप्त बजेट आउँदैन,’ महर्जनले भनिन् ।


वडा नं. ५ का अध्यक्ष खत्री नगरका ९ वटै वडामा दुई ट्रिपर र उक्त दुई वडामा एक ट्रिपर फोहोर उठ्ने गरेको बताउँछन् । एक दिन बिराएर फोहोर बोक्ने ट्रक आएर सडक छेउको र थुपारिएको फोहोर उठाउने गरेको उनले बताए । नगरसँग फोहोर उठाउने र ट्रक चलाउने चालकसहित जम्मा दुई कर्मचारी छन् ।


तिनले फोहोर व्यवस्थापनका सबै कार्य धान्न नसकेको नगरप्रमुख स्विकार्छन् । सरकारले एउटा फोहोर बोक्ने ट्रिपर नगरलाई हस्तान्तरण गरे पनि चालक र पेट्रोल खर्च महँगो पर्न जाने नगरप्रमुख मोहनकुमार बस्नेतको भनाइ छ ।


नगरप्रमुख बस्नेत सरसफाइको अवस्था सुधारका लागि कम्तीमा दुईदेखि चार महिना लाग्ने बताउँछन् ।

प्रकाशित : मंसिर २, २०७५ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?