१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

भक्तपुरमा जाम हटाउन अभियान

भक्तपुर — बनेपा–बर्दिबास सडक सुचारु भएपछि अरनिको राजमार्गको भक्तपुर खण्डमा काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधनको चाप अत्यधिक छ ।

भक्तपुरमा जाम हटाउन अभियान

त्यसबाहेक निर्माण सामग्री (गिटी, बालुवा) बोक्ने ट्रिपरलगायत ठूला मालबाहक गाडी भक्तपुर हुँदै आवतजावत गर्छन् । प्रहरीका अनुसार बीपी राजमार्ग सुचारु भएपछि भक्तपुरमा नयाँ घर निर्माण गर्ने तथा सवारी किन्नेको संख्या बढेको छ ।


भक्तपुरमा बस्ने तर काठमाडाैं र ललितपुरमा व्यापार व्यवसाय वा जागिर गर्नेका निजी सवारीले सडकमा जामको समस्या बढदो छ । सुरक्षित यात्रा तथा जामरहित भक्तपुरका लागि महानगरीय प्रहरी परिसर भक्तपुरको नेतृत्वमा जिल्ला सुरक्षा समिति, स्थानीय तहले अभियान सुरु गरेको जनाएको छ ।


पहिलो चरणमा सूर्यविनायक–तीनकुने सडकको दायाँबायाँको सर्भिस ट्रयाक खाली गर्न थालिएको भक्तपुर प्रहरी प्रमुख हिमालयकुमार श्रेष्ठ बताउँछन् । ‘सर्भिस ट्रयाकमा जथाभावी राखिएका पार्किङ हटाउने, खुला पसल, साइनबोर्ड हटाउन सुरु भएको छ,’ उनले भने, ‘कतिपय स्थानको सर्भिस ट्रयाक भत्किएको छ, सडक विभागको समन्वयमा मर्मत गर्छौं ।’ सूर्यविनायक चोकदेखि मनोहरा पुलसम्मको सर्भिस ट्रयाक व्यवस्थित र खाली गरेपछि मोटरसाइकल तथा साइकल सर्भिस ट्रयाकबाट मात्र सञ्चालन गरिने उनले बताए ।


पार्किङ स्थलव्यवस्था गरिने

जिल्लाका चारवटै स्थानीय तहले पार्किङको व्यवस्था गर्न सकेका छैनन् । पार्किङ क्षेत्र यकिन नहुँदा सर्वसाधारणले सडक किनारामै पार्किङ गर्छन् । सडकपेटीको पार्किङले नगरको सडक अस्तव्यस्त छ । सुरक्षा समितिले सूर्यविनायक नगरपालिका–९ स्थित सूर्यमोडको सामुदायिक वन क्षेत्र, जगाती प्रहरी वृत्तअगाडिको चाइनिज इँटा भट्टा क्षेत्र, सल्लाघारीस्थित ९९ रोपनी क्षेत्रमा पार्किङको व्यवस्थापन गर्नुपर्ने सुझाव दिएका छन् ।


सानोठिमीस्थित फुटबल मैदान, कमलविनायक आसपास, अस्पताल क्षेत्र, करिडोर भित्री सडक एक साइड आवगमनमा बाधा नहुने गरी लोकन्थली, कौशलटार, थिमि, पुरानो थिमि, चारदोबाटो, सल्लाघारी, पाण्डुबजार, सूर्यविनायक चोक आसपासमा नगरपालिकाले पार्किङको व्यवस्था गर्नुपर्ने एसपी श्रेष्ठ बताउँछन् । समितिले दुर्घटना न्यून गर्न सुझाव दिएको छ ।


अरनिको राजमार्गको बाँकी स्थानमा सीसी क्यामरा जडान गरी कन्ट्रोल रुमबाट नियमित अवलोकन गर्ने, सार्वजनिक सवारी चालकको मोबाइल नम्बर राखी सडक जामको अवस्थाबारे एसएमएसबाट जानकारी दिनेलगायतका सुझाव समितिले दिएको छ ।


समितिको प्रतिवदेनमा दुर्घटना कम गर्न तथा जाम हटाउन सडकको सही प्रयोग, पार्किङ व्यवस्थापन, ट्रयाक र पैदल यात्रु हिँड्ने सडकपेटी निर्माण गरिनुपर्ने उल्लेख छ । त्यसैगरी, मनोहरा खोला पूर्वको करिडोर बाटो व्यवस्थित र फराकिलो बनाउने, पेप्सीकोलातर्फका गाडी सीधा काठमाडांैतर्फ जाने व्यवस्था गर्दा जडीबुटी चोकमा जाम नहुने उल्लेख छ ।


त्यसैगरी, केही स्थानमा बेलिब्रिज बनाउनुपर्ने, बस पकेट दुवैतर्फ बनाउनुपर्ने, सडकपेटीका पसल व्यवस्थित गर्नुपर्ने, ट्राफिक बत्ती मर्मत गरी सुचारु गर्नुपर्ने दुर्घटनाग्रस्त तथा बिग्रिएका सवारी हटाउन क्रेनको व्यवस्था हुनुपर्नेलगायतका सुझाव समितिले दिएको छ । त्यस्तै, कच्ची बाटोलाई फराकिलो पारी कालोपत्रे गर्नुपर्नेसमेत समितिको सुझाव छ ।

प्रकाशित : मंसिर २, २०७५ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?