१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

धरहरामा डोजर

भुइँचालोले भत्काएको धरहरालाई जस्ताको तस्तै राखी त्यही स्वरूपको नयाँ धरहरा बनाइनेछ । नयाँ डिजाइनअनुसार भूमिगत पार्किङ, पानीको फोहोरा, फोटो खिच्ने स्थान, संग्रहालय, गिफ्ट सप र थिएटरलगायतका पूर्वाधार बन्नेछन् ।
दामोदर न्यौपाने

काठमाडौँ — पुरातत्त्व सिद्धान्तअनुसार सम्पदा क्षेत्रमाथि हेलिकप्टरसमेत उडाउन पाइँदैन । काठमाडौंको सम्पदा धरहरा क्षेत्रमा भने यो सिद्धान्त लागू भएन । हेलिकप्टर उडाउने मात्र होइन, यसको वरिपरि डोजर लगाएर कुरूप बनाइएको छ अहिले ।

धरहरामा डोजर

‘सम्पदा क्षेत्रमा यसरी डोजर लगाउनै हुँदैन,’ पुरातत्त्वविद् विष्णुराज कार्की भन्छन्, ‘डोजर लगाउँदा धरहराको भग्नावशेषलाई असर गर्छ । भित्री संरचना खल्बलिन्छन् । वरिपरि मूर्ति छन् भने त्यसलाई असर गर्छ । धरहरा क्षेत्रमा डोजर छिराउनै मिल्दैन । त्यसले सुन्धारालाई पनि असर गर्छ ।’


सम्पदा संरक्षण अभियन्ता धरहरामा डोजर चलाइनु पुरातात्त्विक मूल्य मान्यताविपरीत मात्र नभई प्राचीन स्मारक संरक्षण ऐन, नियमावली र अपराध संहिताविपरीत भएको बताउँछन् ।


सम्पदा संरक्षण अभियन्ता तथा कानुनका विद्यार्थी सञ्जय अधिकारी धरहरामा डोजर चलाएर राष्ट्रिय विभूति भीमसेन थापाको समेत अपमान भएको बताउँछन् । ‘मुलुकी अपराध (संहिता) ऐन, २०७४ मा राष्ट्रिय विभूतिको अपमान गर्न नहुने उल्लेख छ,’ अधिकारी भन्छन् । डोजर चलाएर प्राचीन स्मारक संरक्षण ऐनको समेत उल्लंघन भएको उनको भनाइ छ ।


भुइँचालोले भत्काएको धरहरालाई चाहिँ जस्ताको तस्तै राखेर त्यही स्वरूपको नयाँ बनाउने गरी डिजाइन भएको छ । अब बन्ने धरहरा गोश्वारा हुलाक कार्यालयको आकाशेपुलबाटै धरहराको क्षेत्र सुरु हुनेछ । धरहरा पुनर्निर्माणका लागि ड्रइङ डिजाइन तयार गर्न केज कन्सल्ट्यान्ट प्रालि र एसोसिएट्स जेभीलाई पुरातत्त्वले जिम्मेवारी दिएको थियो ।


संस्कृति मन्त्रालयले धरहराको विस्तृत डिजाइन गर्न पुरातत्त्व विभागलाई कार्यादेश दिएको थियो । परामर्शदाता इन्जिनियर विष्णु पन्थीले तयार गरेको डिजाइनमा गार्डेनको छेउमा तीनतले पार्किङ स्थल बन्नेछ । सुन्धारालाई धरहरा क्षेत्रभित्रै राखिनेछ । सुन्धारालाई पुनर्निर्माण गरेर भर्‍याङ बनाइनेछ । खुला यो भर्‍याङमा तीन सय जनासम्म हिंड्न सक्ने क्षमताको हुन गरी डिजाइन गरिएको छ ।


नयाँ डिजाइनअनुसार यहाँ फोटो खिच्ने ठाउँ हुनेछ । पानीको फोहोरा राखिनेछन् । यो फोहोरा हुँदै संग्रहालयमा जान सकिनेछ । धरहरामा भएका पुरातात्त्विक वस्तु, टक्सार विभागमा भएका सिक्का छाप्ने मेसिनलगायतका सामान संग्रहालयमा राख्ने गरी डिजाइन गरिएको पुरातत्त्व विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिए । दाहालका अनुसार संग्रहालय दुई तलाको हुनेछ ।


यसबाहेक गिफ्ट सप, सानो थिएटरलगायतका पूर्वाधारसमेत बनाइने डिजाइनमा उल्लेख छ । यसलाई अपांगमैत्री पनि बनाइनेछ । अपांगलाई ध्यान दिएर दुईवटा लिफ्टको व्यवस्थासमेत गरिनेछ ।


धरहरा क्षेत्रमा नयाँ संरचना बनाउने कार्यलाई भीमसेन थापा स्मृति प्रतिष्ठानका पदाधिकारीले नजायज कार्य भनेका छन् । ‘अहिले बनाउन लागेको संरचनाले कुनै पुरातात्त्विक मूल्य रहँदैन,’ प्रतिष्ठानका कोषाध्यक्ष प्रा. सुशीलविक्रम थापा भन्छन्, ‘जे छ, त्यही, त्यस्तै बनाउन सकिन्छ भनेका थिए प्राविधिकले । तर त्यसो गरिएन । जस्ताको तस्तै बनाउन झन्झटिलो होला तर असम्भव भन्ने होइन । ९० सालमा बन्यो भने अहिले झन् किन बन्दैन ?’


अहिलेको जमिनको सतहभन्दा तलमाथि नगईकन धरहरा बनाइनेछ । यसको उचाइ २ सय ४५ फिट हुनेछ । पहिलाको धरहराको उचाइ पनि यति नै हो । राष्ट्रिय विभूति थापाले बनाएको धरहरा ९० सालको भुइँचालोमा भत्कियो । भत्किएपछि जुद्धशमशेरले नयाँ बनाए । पुरानोमा बार्दली थिएन ।


नयाँमा बार्दली बनाइयो । यसको डिजाइन बिग्रेडियर कर्णेल इन्जिनियर डिल्लीजंग थापाले गरेका थिए । ‘त्यतिबेलाको अप्ठ्यारो बेलामा मेरो जिज्युबुवा डिल्लीजंगले यसको डिजाइन गर्नुभयो,’ सम्पदा अध्ययन गरिरहेकी चन्दा राणा भन्छिन्, ‘अहिले सजिलो बेलामा आएरचाहिँ यसलाई मास्न लागियो । यो विडम्बनापूर्ण छ ।’ धरहराको निर्माणमा चुनासुर्कीको जोडाइ र इँटाको गारो थियो ।


यसको डिजाइन मुगल कालिगढले गरेका थिए । सबभन्दा माथिल्लो भागमा गुम्बज् बनाई सुनको जलप लगाइएको धातुको गजूर थियो । यसको निर्माणमा मुस्लिम धर्मको प्रभाव परेको इतिहासकार बताउँछन् । ‘यस्तो ऐतिहासिक ठाउँ किन मास्नुपर्‍यो ?’ अभियन्ता अधिकारी भन्छन्, ‘लिफ्ट चढेर जाने धरहरा यहीं किन चाहियो ? व्यस्त सडभन्दा टाढा बनाए भइगयो । यहाँ त धरहराको ठुटो जोगाएर बाँकी खाली ठाउँ राखे भयो । खुला संग्रहालय बनाए भयो । ऐतिहासिक तस्बिर प्रदर्शनी गरे भयो । यहाँ अर्बौं खर्च गरेर नयाँ संरचना बनाउन आवश्यकै छैन ।’


भीमसेन थापाले आफ्नो निवास बागदरबार छेउमै १८८१ सालमा धरहरा बनाएका थिए । भीमसेन थापाले यो धरहरा बनाएपछि रानी त्रिपुरासुन्दरीले १८८२ मा अर्काे धरहरा बनाउन लगाइन् । १९९० सालको भुइँचालोले यी दुईमध्ये भीमसेन थापाले आफ्नो निवास छेउमा बनाएको धरहरा ढल्यो । अहिलेको धरहरामा चाहिँ आंशिक क्षति मात्रै पुगेको थियो ।


९० सालमा भुइँचालो आउनु पहिला नै चट्याङ परेर धरहरालाई क्षति पुर्‍याएको थियो । ११ तले धरहरालाई ९० सालको भुइँचालोपछि १९९२ सालमा तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले ९ तलामा झारेर पुनर्निर्माण गरेका थिए ।


धरहरा पुनर्निर्माण गर्ने विषयमा लामो समय विवाद भएको थियो । कसले गर्ने भन्ने विषयमा लामो समय विवाद भएपछि पुनर्निर्माण प्राधिकरणले नै बनाउने भएको छ । मन्त्रिपरिषद्ले नेपाल टेलिकमलाई दिने निर्णय गरे पनि उसले बनाउने इच्छा नदेखाएपछि लामो समयदेखि धरहरा पुनर्निर्माणले गति लिन सकेको थिएन ।


प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपल्ट प्रधानमन्त्री हुँदा ‘मेरो धरहरा मै बनाउँछु’ अभियान सुरु गरेका थिए । मन्त्रिपरिषद्ले निर्णय नै गरेर नेपाल टेलिकमलाई बनाउन दिएको थियो । तर एक वर्षअघि विभिन्न कारण देखाई पुनर्निर्माण गर्न नसक्ने जनाउँदै पत्र पठाएको थियो ।


कम्पनीको लाभ लागत, पुरातत्त्व विभागले तयार गरेको आधारभूत डिजाइनमा खुला क्षेत्र अधिक राख्नुपर्ने, कम्पनीले व्यावसायिक सञ्चालनका लागि प्रस्ताव गरेको विकल्प/डिजाइन सरकारद्वारा स्वीकृत नभएको तथा स्थानीय बासिन्दाको परम्परागत रीतिरिवाजलाईसमेत कारण देखाएर टेलिकमले हात झिकेको थियो । टेलिकमले राखेको सर्त पूरा गर्न सकिने अवस्थाको नरहेको भन्दै उसलाई निर्माणको जिम्मा नदिईएको पुरातत्त्व विभागले जनाएको छ ।


विभागका अनुसार टेलिकमलाई ४ अर्ब रुपैयाँको लागत इस्टिमेट दिइएको थियो । तर टेलिकमले सात अर्ब लाग्ने अनुमानित लागत पेस गरेको थियो । दुई वर्षअघि मन्त्रिपरिषद्को बैठकले टेलिकमलाई धरहरा पुनर्निर्माण गर्न दिने निर्णय गरेको थियो । अहिले यसको निर्माण लागत ३ अर्ब ४५ करोड रुपैयाँ छ । निर्माणको ठेक्का जीआईईटीसी–राजन जेभीले पाएको छ । धरहरा बनाउन सरकारले ४४ रोपनी जग्गासमेत प्रदान गरेको छ ।


पहिलाको ५ रोपनी जग्गामा राम्रो नहुने भन्दै पुरातत्त्व विभागले सरकारसँग थप जग्गा मागेको थियो । धरहरा पुनर्निर्माण गर्न नेपाल टेलिकम, विद्युत् प्राधिकरण, नेपाल राष्ट्र बैंक, गोश्वारा हुलाक कार्यालय, काठमाडौं महानगरपालिकालगायतले सहयोग गर्ने प्रतिबद्धता जनाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

प्रकाशित : मंसिर १, २०७५ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?