१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

अझै बनेन चाँगुनारायण

कान्तिपुर संवाददाता

भक्तपुर — भुइँमा यत्रतत्र छोडिएका कलाात्मक बुट्टे झ्यालहरू घामपानीले थप जीर्ण बनेको छ । कतिपय काठहरू कुहिसकेका छन् भने पछि प्रयोगमा आउन सक्ने बुट्टे झ्याल, खापालगायत काठ छरिएकै अवस्थामा छन् ।

अझै बनेन चाँगुनारायण

२०७२ वैशाखको भूकम्पको धक्काले प्राचीन सम्पदा चाँगुनारायण मन्दिर र मन्दिर परिसरको चौघेरा सत्तल क्षतिग्रस्त भयो । स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय (पुरातत्त्व विभाग) भक्तपुरले चाँगुनारायण मन्दिरको जीर्णोद्धार गरे पनि चौघेरा सत्तलको अवस्था उस्तै छ ।


सत्तलको तला छोट्याएर जस्तापाताले छोपिएको छ । केही भाग भने अझै भग्नावशेष अवस्थामा गुज्रिएको छ । क्षतिग्रस्त सत्तलको भग्नावशेष घाँसेझाडीमा परिणत छ । पुरातत्त्व विभागले महत्त्वपूर्ण पुरातात्त्विक निर्माण सामग्री संरक्षणका लागि जस्ताको टहरामा राखे पनि पर्याप्त नभएको स्थानीय बासिन्दा बताउँछन् । ‘भूकम्प गएको साढे तीन वर्ष बितिसक्यो, क्षतिग्रस्त सत्तल पुनर्निर्माण सुरु हुन सकेको छैन,’ चाँगुनारायण मन्दिरका मूल पुजारी एवं मन्दिर विकास समिति अध्यक्ष चक्रधरानन्द राजोपाध्यायले भने, ‘समयमै सत्तलको पुनर्निर्माण नहुँदा विश्व प्रसिद्ध चाँगुनारायण मन्दिरको स्वरूपमै असर पुगेको छ ।’


दिनहुँ सयौं आन्तरिक तथा बाह्य पर्यटक चाँगुनारायण मन्दिर अवलोकनका लागि पुग्छन् । चौघेरा सत्तलको पुनर्निर्माण ढिलाइले मेला भर्न आउने भक्तजन तथा पर्यटकलाई ओत लाग्ने ठाउँसमेत नभएको राजोपाध्यायले बताए ।


मन्दिर प्रवेशद्धार जीर्ण छ । मन्दिर प्रवेश क्षेत्रमा स्थानीयले सडक ढाक्ने गरी निर्माण सामग्री थुपारिएका छन् । जसका कारण चाँगुनारायण मन्दिर आउने पर्यटक/भक्तजनको आवागमनमा असर पुगेको उनीहरू बताउँछन् ।


नगरपालिकाले नगरकोटसँगै चाँगुनारायण मन्दिर अवलोकनका लागि आउने बाह्य पर्यटकको प्रवेश सेवा शुल्क उठाउने गरेको छ । तर, मन्दिर क्षेत्र संरक्षणका लागि कुनै कार्य नगरेको स्थानीयको गुनासो छ । चाँगुनारायण मन्दिर क्षेत्रमा गतिलो शौचालय छैन । भएकै शौचालय झाडीले छोपिएको छ । शौचालय जान सक्ने अवस्था छैन । संरक्षण र सरसफाइको अभावमा शौचालय दुर्गन्धित छ ।


पर्यटक लक्षित सेवा शून्य छ । मन्दिर घुम्न आउने पर्यटकले मन्दिर परिसरको चौघेरा सत्तल, क्षतिग्रस्त भीमसेन सत्तललगायतको अवलोकन गर्दैै दु:ख व्यक्त गर्ने गरेको स्थानीय एवं किलेश्वर महादेव मन्दिरका पुजारी लक्ष्मण भट्ट बताउँछन् ।


पुरातत्त्व विभाग भक्तपुरले भने चाँगुनारायण मन्दिरको चौघेरा सत्तलको पुनर्निर्माण प्रक्रिया सुरु भएको जनाएको छ । चौघेरा सत्तल पुनर्निर्माणका लागि गत जेठमै ठेक्का प्रक्रिया सुरु भएको र इभ्यालुसनलगायत प्राविधिक प्रक्रिया ढिलाइले पुनर्निर्माणको थालनीमा ढिलाइ भएको विभाग प्रमुख मोहनसिं लामाले बताए । प्राविधिक चौघेरा सत्तलको लागत इस्टमेट २४ करोड रुपैयाँ प्रस्ताव गरेको छ । विभाग प्रमुख लामाका अनुसार चौघेरा सत्तल पुनर्निर्माणका लागि बहुवार्षिक योजनाअनुरूप चालु आर्थिक वर्ष ०७५/७६ मा ३ करोड रुपैयाँ विनियोजन भएको छ ।


गैरसरकारी संघसंस्थाका कारण पनि सम्पदा पुनर्निर्माणमा ढिलाइ भएको उनी बताउँछन् । ‘एक आईएनजीओले सत्तल पुनर्निर्माण गर्ने प्रस्तावसहित एमओयू गरेर धेरै समय ठाउँ ओगटिरह्यो,’ उनले भने, ‘दाता नपाएको बनाउन सकेन ।’ कात्तिक मसान्तभित्र विभागले पुनर्निर्माण थाल्ने तयारी गरेको जनाएको छ ।

प्रकाशित : कार्तिक २६, २०७५ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?