कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

खाल्डोमा खसेर बितेका साइकल यात्री: एक्लै भइन् आमा

शिल्पा कर्ण

काठमाडौँ — बल्खुमा बस्छिन् सुभद्रा श्रेष्ठ। शनिबार बिहान ९ बजेतिर प्रहरी वृत्त कीर्तिपुरबाट उनलाई फोन आयो ।

खाल्डोमा खसेर बितेका साइकल यात्री: एक्लै भइन् आमा

एउटा शव भेटिएको थियो टीयू गेटभन्दा केही परको भल्भ च्याम्बरमा । मेलम्ची खानेपानी आयोजनाले पाइप मर्मतका लागि भनेर स्ल्याब निकालेको थियो । सडकमा रातो रंगको माउन्टेन बाइक (साइकल) सहित शव भेटिएको थियो ।

स्थानीयले एकाबिहानै शव देखेपछि ६ बजे प्रहरीलाई खबर गरेका थिए । ती मृत व्यक्तिको डायरीमा प्रहरीले भेटेको थियो सुभद्राको नम्बर । प्रहरीले शवको हुलिया सुनाएपछि उनलाई आफ्नै भाइ हो कि जस्तो लाग्यो ।

हतारिँदै पुगिन् । बाटाभरि कामना गर्दै थिइन्, भाइको शव नहोस् । पुगेपछि प्रहरीले टाउकोमा चोट लागेको पानीमा धेरैबेर रहेको शवको तस्बिर देखायो । होस गुमाइन् सुभद्राले । मृतक उनकै भाइ श्यामसुन्दर श्रेष्ठ थिए । शव पोस्टमार्टमका लागि प्रहरीले टिचिङ पुर्‍याइसकेको थियो । प्रहरीको कागजी प्रक्रिया पूरा गरी शव बुझिन् ।

केही नजिकका आफन्तलाई जानकारी गराइन् । आमालाई भन्ने हिम्मत भने आएन । शुक्रबारदेखि छोरा घर नफर्केपछि उनकी आमा सावित्री श्रेष्ठले श्याम पुग्न सक्ने सबै आफन्त, साथीभाइलाई फोन गरेर उनका बारे सोधिसकेकी थिइन् । छोराको नम्बर निरन्तर स्वीच अफ आउँदा आमाको मनमा चिसो पसिसकेको थियो । शनिबार बिहान पनि छोरालाई सम्पर्क गर्ने कोसिसमा थिइन् उनी । दुई छोरीहरूलाई पनि फोन गरी सोध्थिन्, कतै दिदीहरूसँग कुरा भयो कि भनी । आइतबार जेठी छोरी सुभद्राले हिम्मत जुटाएर श्यामको मृत्यु भइसकेको जानकारी दिइन् । आमाले मन थाम्न सकिनन् ।

आइतबार नै श्यामको अन्त्येष्टि गरियो । ‘खासमा आमा किरिया बस्नुपर्ने हो,’ दिदी सुभद्राले भनिन्, ‘यो उमेरमा यस्तो अवस्थामा बस्न दिएनौं । ब्राह्मण राखेर किरिया गरिरहेका छौं ।’ आमाको उमेर र स्वास्थ्यअवस्थाले छोरीहरूले किरिया बस्न दिएनन् ।

घरिघरि छोरालाई सम्झेर रुन्छिन् सावित्री । त्यसैले कोही छोराबारे सोध्न आए सुभद्राले नै भेट्छिन् । आफैंकहाँ राखेकी छन् आमालाई । जिल्ला शिक्षा समन्वय इकाई ताहाचल, चागलनजिकै हल्का रातो रङको साढे ३ तले घर छ । २५ वर्ष पुरानो यो घरको तल कस्मेटिक पसल छ । त्यही पसलमा दिनभरि सावित्री बस्थिन् ।

बीचका फ्ल्याट भाडामा छन् । शुक्रबारसम्म घरको माथिल्लो तलामा ६५ वर्षिया सावित्री र ३८ वर्षीय छोरा श्यामसुन्दर श्रेष्ठ बस्थे । श्यामका पिता पहिले बितिसकेका हुन् । श्याम अविवाहित थिए । श्यामसुन्दरले आमालाई घरको काममा सहयोग गर्ने गरेको दिदी सुभद्राले बताइन् ।

शुक्रबार दिउँसो २ बजेसम्म श्याम घरमै बसेर इन्टरनेट चलाइरहेका थिए । त्यो समयसम्म उनी सामाजिक फेसबुक म्यासेन्जरमा अनलाइन देखिन्छन् । ‘त्यसपछि केही कामले बाहिर निस्कियो होला । कीर्तिपुरतिर घुम्न निस्केको हुनुपर्छ । फर्किने बेला अँध्यारो थियो र यो दुर्घटना हुनपुग्यो,’ दिदी सुभद्राले अनुमान गरिन् । अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ । कतिपयले उनको अन्यत्रै हत्या गरी उक्त खाल्डोमा फालेको भन्ने कुरा गरे पनि उनी त्यसलाई नकार्छिन् । ‘उसको सरल र सभ्य व्यवहारले गर्दा हत्या भएजस्तो लाग्दैन,’ उनी भन्छिन् ।

श्यामसुन्दर योगी थिए, योग पनि सिकाउँथे । उनकी दिदीका अनुसार उनलाई नयाँ नयाँ ठाउँ घुम्न मन लाग्थ्यो । साइकल लिएर घुम्न निस्किने गर्थे । भारतका केही तीर्थस्थल पनि पैदल यात्रा गरेर आइसकेका थिए । धर्मकर्ममा निकै रुचि राख्थे श्याम । विकासानन्दको सान्निध्यमा ५ वर्ष बसेका थिए । यसरी योगी बनेको १५ वर्ष भइसकेको दिदी सुभद्राले जानकारी दिइन् ।

अहिले थरिथरि प्रश्न मनमा उठिरहन्छ भन्छिन् सुभद्रा । ‘पोस्टमार्टम रिपोर्ट १० दिनपछि आउँछ रे । अनिमात्र मृत्युको वास्तविक कारण खुल्नेछ,’ उनले भनिन्, ‘के हुन्छ होला त्यसमा, किन यति ढिला दिने हो जस्तो लाग्छ । अब आमाको के हुने हो सोच्छु ।’

यदि केयूकेएलको गल्ती देखिए क्षतिपूर्ति दिनैपर्ने उनको भनाइ छ । अहिले श्यामको मृत्यु भएको खुला च्याम्बर ढाकिसकिएको छ । त्यो केही पहिले ढाकेको भए श्यामको ज्यान जाँदैनथ्यो जस्तो लाग्छ उनलाई । अहिले सुभद्राको एउटै पीर छ, भाइ गएपछि आमा एक्ली भइन् ।

प्रकाशित : कार्तिक १३, २०७५ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?