मेला भर्नेको घुइँचो

कान्तिपुर संवाददाता

काठमाडौँ — पुनर्निर्माणको क्रममा रहेको आनन्दादि लोकेश्वर मन्दिर चोभारमा एकमहिने मेला सुरु भएसँगै दर्शनार्थीको संख्या बढ्दो छ । कोजाग्रात पूर्णीमासँगै दसैं औपचारिक रूपमा सकिएपछि जात्रा सुरु भएको हो  ।

कात्तिक महिनामा आदिनाथको दर्शन र पूजाआजा गर्नाले शरीरका सम्पूर्ण रोगव्याधि हटेर जाने जनविश्वास छ ।

स्थानीय गीता शाक्य भन्छिन्, ‘अन्य दिनभन्दा बढी मान्छेहरू पुग्न थालेका छन् । विशेषगरी अन्तिमको ५ दिन दर्शनार्थीको संख्या निकै बढी हुन्छ ।’ बुधबार बिहानै ३ बजेदेखि नै श्रद्धालु आदिनाथ दर्शन गर्न पुग्ने गरेको उनले बताइन् ।

अन्तिमको ५ दिनमा निर्जला व्रत बस्नेहरू पनि हुने भएकाले भीड बढ्ने उनको भनाइ छ । यो मेला एक महिना अर्थात् अर्को पूर्णिमासम्म चल्छ । मन्दिरका पुजारी तीर्थराज शाक्यका अनुसार पाटनको नागबहाल, ओकुबहाल र भूबहालका मान्छे दिनहुँ पुग्ने गर्छन् । ‘गुठीका मान्छेका साथै खोकना, पाँगा, कीर्तिपुरतिरका श्रद्धालु आउँछन्,’ उनले भने ।

२०७२ सालको भूकम्पले प्यागोडा शैलीको तीनतले आदिनाथ भत्काएदेखि त्यसैमा जात्रा मनाइँदै आएको पुजारी तीर्थराजले जानकारी दिए । ‘अगाडिको गन्धर्वेश्वर मन्दिर ठीकै छ । आदिनाथ भत्केकाले पुनर्निर्माण कार्यका बीच जात्रा पर्व मनाउँदै आएका छौं,’ उनले थपे, ‘यहाँका सत्तल पनि जीर्ण भइसकेका छन् । मन्दिर पुनर्निर्माण पछि मात्र तीबारे सोचिनेछ ।’

मन्दिर भत्केपछि आदिनाथलाई पुजारीको सत्तलमा राखिएको छ । पूजा गर्नेले सत्तलअगाडि नै बत्ती बाल्ने गरेका छन् । बिहानै आउनेले पनि त्यहीँ दर्शन गर्ने गरेको पुजारी शाक्यले जानकारी दिए ।

आदिनाथ मन्दिर पचली भैरव र एलएनएम निर्माण सेवाले संयुक्त रूपमा पुनर्निर्माण गरिरहेको छ । दुई करोड तीन लाख ६० हजार रुपैयाँमा पुनर्निर्माण गर्नेगरी पुरातत्त्व विभागले सम्झौता गरेको छ । २०७३ फागुनमा सुरु भएको निर्माण कार्य यही वर्षको माघसम्ममा सम्पन्न गर्नेगरी सम्झौता भएको विभागले जनाएको छ ।

भदौमा सिकर्मी नाइकेको मृत्यु भएपछि पुनर्निर्माण कार्य प्रभावित भएको थियो । पुजारी तीर्थराज शाक्य पुनर्निर्माण यस वर्ष सकिनेमा शंका रहेको बताउँछन् । अर्को वर्षको जात्रा पनि निर्माणाधीन मन्दिरमा मनाइने सम्भावना रहेका उनको भनाइ छ । ‘बल्ल काठ कुँद्ने काम सुरु भएको छ । जोड्न पनि समय लाग्छ । एक वर्ष अझै लाग्छ होला,’ उनले भने ।

आदिनाथमा वर्षको दुईचोटि मेला लाग्ने गरेको छ । चैतेदसैं चलिरहँदा अष्टमीका दिन आदिनाथ मन्दिरमा देवता स्थापना गरिएकाले जात्रा गरिने ७० वर्षीय पुजारी बाबुकाजी शाक्यले जानकारी दिए ।

प्रकाशित : कार्तिक ११, २०७५ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्

ठडिँदै क्षतिग्रस्त सम्पदा

कान्तिपुर संवाददाता

भक्तपुर — भूकम्पले क्षतिग्रस्त भक्तपुरका मुख्यमुख्य सम्पदाहरूले पुनर्निर्माणको गति लिएको छ  । विश्वसम्पदा सूचीमा सूचीकृत तथा अन्य मुख्य सम्पदाहरू स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय (पुरातत्त्व विभाग) भक्तपुर र भक्तपुर नगरपालिकाले मौलिक शैलीमा पुनर्निर्माणलाई गति दिएको हो  ।

विश्वसम्पदामा सूचीकृत भक्तपुर दरबार स्क्वायर परिसरमा निर्माणाधीन केदारनाथ मन्दिर । तस्बिर : लीला श्रेष्ठ/कान्तिपुर

पुरातत्त्व विभागले बहुवार्षिक योजना अन्तर्गत क्षतिग्रस्त मुख्य सातवटा सम्पदा पुनर्निर्माणको जिम्मा लिएको थियो । जसमध्ये हालसम्म विश्वसम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिर, सूर्यविनायक नगरपालिकास्थित दक्षिण बाराही मन्दिर, दरबार स्क्वायर परिसरको मल्लकालीन सिद्धिलक्ष्मी (सिद्धिबत्सला) मन्दिरको पुनर्निर्माण सम्पन्न गरेको छ ।

भक्तपुर दरबार स्क्वायर परिसरको क्षतिग्रस्त सिलु महादेव (फसिदेवल) मन्दिर, दरबार स्क्वायर परिसरकै तव सत्तल, राष्ट्रियकला संग्रहालय (लाल बैठकबाहेक) सिंह ढोकाको पछाडीको भाग, सूर्यविनायक नगरपालिकास्थित अनन्तलिंगेश्वर मन्दिर पुनर्निर्माणको चरणमा रहेको विभागका इन्जिनियर मोहनकृष्ण श्रेष्ठले बताए । विभागले चालु आर्थिक वर्ष ०७५/७६ भित्र पुनर्निर्माण थाल्ने गरी काभ्रे र भक्तपुरका २२ सम्पदा पुनर्निर्माणका लागि बजेट विनियोजन भएको समेत जनाएको छ ।

भक्तपुर नगरपालिकाले भूकम्पका कारण क्षतिग्रस्त भक्तपुर दरबार प्रवेशद्वार, दरबार क्षेत्रको शेष (शंकर), त्रिविक्रम, हरिहर नारायण मन्दिर, दत्तात्रयस्थित लक्ष्मीनारायण मन्दिर, भीमसेन मन्दिर, इनाचोंस्थित नित्यनाथ मन्दिर, क्वाछेंस्थित नित्यनाथ मन्दिर, जेलांस्थित फल्चा (पाटी), व्यासीस्थित ४ वटा फल्चा, छुंमा गणेशस्थित ढुंगे मन्दिरलगायतको पुनर्निर्माण सम्पन्न गरेको सम्पदा शाखाले जनाएको छ ।

नगरपालिकाले पुनर्निर्माण थालेको भक्तपुर दरबार स्क्वायर परिसरको क्षतिग्रस्त केदारनाथ मन्दिर पुनर्निर्माण अन्तिम चरणमा पुगेको सम्पदा शाखा प्रमुख श्रेष्ठले बताए । दरबार परिसरकै बत्सला मन्दिर ४० प्रतिशत पुनर्निर्माण भएको र नासमनामा अवस्थित बत्सला मन्दिर, सरस्वतीस्थानको लामुगाल पाटी, चोकलस्थित नारायण मन्दिर, सूर्यमढीमा अवस्थित ३ वटा फल्चा, तलातुथी, भुलाछें पाटीलगायतको पुनर्निर्माण भइरहेको उनले बताए । नगरपालिकाले उपभोक्तामार्फत सम्पदाको पुनर्निर्माण गरिरहेको छ ।

सम्पदा पुनर्निर्माणको काम क्रमिक रूपमा भइरहे पनि निर्माण सामग्री, जनशक्तिको अभावले सोचे अनुरूप पुनर्निर्माणमा ढिलाइ भएको विभागले जनाएको छ । काठ, ढुंगा, कलात्मक इँटा अभावसँगै स्मारक तथा सम्पदा संरक्षणको लागि आवश्यक मौलिक निर्माण सामग्रीहरू पर्याप्त रूपमा उपलब्ध हुन नसकेको श्रेष्ठ बताउँछन् ।

‘नेपालमा मौलिक सामग्रीहरू उत्पादन गर्ने उद्योगकै कमी छ,’ उनले भने, ‘सरकारी तवरबाटै मौलिक सामग्री काठ, चुना, सुर्की, इँटालगायतको सामग्री उपलब्ध हुनुपर्छ ।’ सम्पदा पुनर्निर्माणका लागि दक्ष कामदारको समेत अभाव भएको विभागले जनाएको छ । काठलगायत निर्माण सामग्रीको अभावले बजेट सिलिङ र योजनाअनुसार सम्पन्न गर्न समस्या परेको जनाएको छ ।

विश्वसम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मूल मन्दिर पुनर्निर्माण विभागले गरेको छ भने, मन्दिर पसिरको किलेश्वर महादेव मन्दिर, सत्तललगायतका सम्पदा भने जर्मन, अस्ट्रेलियन र अमेरिकन सरकारको सहयोगमा हेरिटेज एन्ड इन्भाइरोमेन्ट कन्जरभेसन फाउन्डेसन नेपालले पुनर्निर्माण थालिएको छ । फाउन्डेसनले किलेश्वर महादेवको मन्दिर पुनर्निर्माण गरिसकेको छ ।

प्रकाशित : कार्तिक ११, २०७५ ०८:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्