किलागल एकीकृत बस्ती विवादमा

दामोदर न्यौपाने

काठमाडौँ — राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र काठमाडौं महानगरपालिकाले काठमाडौंको प्राचीन बस्तीमा अघि सारेको एकीकृत बस्ती विकास योजना विवादका कारण अलपत्र परेको छ । एकीकृत बस्ती नबनाउने या नबनाउने विषयमा स्थानीयवासीबीच विवाद बढेको हो।

काठमाडौं किलागलमा प्रस्तावित किलागल एकीकृत बस्ती । तस्बिर : दामोदर/कान्तिपुर

डुमचोकका राजेन्द्र महर्जन एकीकृत बस्ती योजनामा सहभागी नुहने बताउँछन् । उनको चारतले घर छ । सबै घर एउटा एउटा कोठाको हो । ‘एकीकृत बस्तीमा घरको स्वामित्व हाम्रो हुँदैन,’ उनी भन्छन्, ‘बरु यस्तै थोत्रो घर होस् । तर स्वामित्व आफ्नै होस् ।’

त्यही गल्लीकै सूर्जमान महर्जनचाहिं एकीकृत बस्ती बनाउनुपर्ने पक्षमा छन् । एकीकृत बस्ती भयो भने भित्रसम्म पसल राख्न पाइने, घर भाडामा दिएर आम्दानी गर्न सकिने उनको विश्वास छ । ‘एकीकृत बस्ती भयो भने धेरै सुविधा हुन्छ,’ उनी आशावादी छन्, ‘कि यस्तै गरी बस्नुपर्‍यो सधैं । अघि बढ्ने हो भने एकीकृत बस्ती बसाउन दिनुपर्‍यो ।’

पुनर्निर्माण प्राधिकरणले सरकारले नै जमानि बस्ने गरी ऋण उपलब्ध गराउने गरी योजना अघि बढाउन लागेको महर्जनले सुनाए । ‘तल भाडामा लगाउन पाइन्छ । माथि आफू बसे भयो,’ महर्जन भन्छन्, ‘त्यही भाडाको पैसाले बैंकको ऋण तिर्न सकिन्छ । केही वर्षमा घर आफ्नो भइहाल्छ ।’

सूर्जमानको यो प्रस्ताव मान्न तयार छैनन् राजेन्द्र । ‘सधैं आम्दानी हुन्छ भन्ने के छ र ? उनी प्रश्न गर्छन्, ‘महिनामा १५ हजार आम्दानी होला, बैंकको तिर्नुपर्ने २५ हजार होला । अनि कसरी तिर्नु त्यत्रो पैसा ? ऋण लिएपछि बैंकले त छाडदैन । अनि आम्दानीको स्रोत नभई कसरी तिर्नु बैंकको ब्याज ?’

सूर्जमानचाहिं महानगरले घर भाडामा लगाइदिन्छ भन्नेमा ढुक्क छन् । ‘भाडा लगाइदिने जिम्मा महानगरले लिन्छ,’ उनी आशावादी छन्, ‘महानगरले हामी भाडा लगाइदिन्छौं भनेका छन् । उनीहरूले घर भाडा लगाएर बहाल कर उठाउन पाउँछन् । त्यही भएर घर भाडामा लगाउने जिम्मा हामी लिन्छु भनेका छन् मसँग छलफल गर्दा । ढुक्क हुनुस् ।’

पुनर्निर्माण प्राधिकरण, काठमाडौं महानगरपालिका र स्थानीयवासीबीच हुन लागेको सम्झौताको ड्राफ्ट बोकेर आएका थिए सूर्जमान । राजेन्द्रले भने सरकारले हाम्रो सम्पत्ति लिने योजना बनाउँदासमेत हामीसँग सल्लाह नगरेको भन्दै आक्रोश पोखेका थिए । ‘सबै कुरा रे–रेमा चलेको छ,’ राजेन्द्र भन्छन्, ‘तपाईंसँग मात्र सल्लाह गरेर हुन्छ ? हामीसँग खै त छलफल गरेको ? हामीलाई गुमराहमा राखेर हाम्रो पुख्र्यौली बस्तीमा आँखा लगाएका हुन् । म त दिन्नँ । तपाईं दिए दिनुस् ।’

५५ घर छन किलागलको किलागल गल्लीमा । यो गल्लीमा तीनवटा चोक छन् । यही बस्तीमा महानगर र पुनर्निर्माण प्राधिकरणले एकीकृत बस्ती विकास गर्न लागेका हुन् । ५५ घरमध्ये पहिला एकीकृत बस्ती बसाउन सहमत भएका पनि अहिले नबनाउने पक्षमा पुगेका छन् । उनीहरूले बस्तीको विरोध गर्दै वडा कार्यालयमा असहमति पत्रसमेत दर्ता गराएका छन् ।

तीन वर्षअघिबाट सुरु भएको यो योजना । योजनाअन्तर्गत सुरुमा ५५ घरलाई अधिकरण गरेर एउटा अपार्टमेन्ट बनाउने अनि सबैलाई सेयर दिने योजना बनाइएको थियो । यही योजनाअनुसार ‘नेसनल सोसाइटी फर अर्थक्युक टेक्नोलजी’ नक्सासमेत दिएको थियो । ‘पहिलो पटक दिएको नक्सा स्थानीयवासीले अस्वीकृत गरिदिए,’ राजेन्द्र भन्छन्, ‘तीन पटक नक्सा ल्याइसके । हामीले अस्वीकृत गरिदियौं ।’

एकीकृत बस्तीको योजना अर्थक्युक टेक्नोलजीले नै ल्याएको हो । पहिला यहाँको बाटो ठूलो पार्ने गरी योजना ल्याइएको थियो । चोक पनि बढाउने योजना थियो । यसो गर्दा यहाँको प्राचीन वास्तुकला मासिने भन्दै सम्पदा संरक्षण अभियन्ताले विरोध गरे । ‘विरोधपछि बाटो ठूलो बनाउने योजनाबाट पछि सरे,’ सम्पदा संरक्षण अभियन्ता आलोकसिद्धि तुलाधर भन्छन्, ‘चोक पनि नछुने भनेर फेरि अर्काे योजना बनाएका छन् रे । तर के हो ? पर्याप्त छलफल भएको छैन । पुस्तौंदेखि बस्दै आएको आफ्नो थातथलो मास्ने निर्णय गर्दा सरोकावालसँग पर्याप्त छलफल गरेको देखिएन ।’

तुलाधर यहाँका प्रत्येक बस्तीमा अमूर्त संस्कृति भएको र यस्तो बस्ती योजानले ती अमूर्त संस्कृति मासिने बताउँछन् । ‘यहाँका चोकमा मूर्त र अमूर्त सम्पदा छन् । हरेक चोकमा महादेव हुन्छन् । ती महादेवलाई लुक महादेव भन्ने गरिन्छ । लुक महादेव चोकको बीचतिर ढुंगाले छोपेर राखिएको हुन्छ । भस्मासुरले लखेटेपछि सानो रूप धारण गरेर महादेव लुकेको विश्वास गरिन्छ,’ उनी भन्छन्, ‘चैत महिनामा हुने पाहाचार्ये पर्वमा यहाँ पूजा हुन्छ । यी चोक मासिए भने यी अमूर्त संस्कृति नास भइहाल्छन् ।’

चोकमा इनार पनि हुन्छन् । इनारको बेग्लै महत्त्व छ । इनार भएको ठाउँमा महिलाको सार्वजनिक जमघट हुने स्थानका रूपमा लिइन्छ । ‘कोही इनार सुके । कोही इनारमा पानी आउँछ । बिहान पानी झिक्छन् । दिनभर पानी जम्छ । अनि फेरि भोलि बिहानलाई काम लाग्छ,’ तुलाधर भन्छन्, ‘त्योभन्दा पनि महत्त्वपूर्ण कुरा, इनारको छेउमा कान देवता हुन्छन् । कान देवता रिसाए भने कान दुख्छ भन्ने मान्यता छ । इनारको छेउमा कपास पनि राखिएको हुन्छ । कपासमा रङ लगाइएको हुन्छ । कान दुख्यो भने रङ लगाइएको कपासले विधिपूर्वक कान देवताको पूजा हुन्छ ।

प्राचीन बस्तीको यो अर्काे महत्त्वपूर्ण अमूर्त सम्पदा हो । यसको वास्ता नगरी एकीकृत बस्ती मात्रै भनेर हुन्छ ? हुँदैन ।’

हरेक घरको ढोकामा मण्डला र पिपालखु हुन्छ । यसको आफ्नै अर्थ छ । ‘मण्डला र पिपालखु एउटा बाउन्ड्री हो,’ तुलाधर भन्छन्, ‘यो मण्डला र पिपालखुभन्दा बाहिर जाँदा एउटा व्यहार गर्नुपर्छ । भित्र आउँदा अर्काे व्यहार हुन्छ । बाहिर जाँदा सामाजिक व्यहार । भित्र आउँदा व्यक्तिगत व्यवहार ।

यति महत्त्वपूर्ण हुन्छ, यो सीमारेखा । त्यही भएर यसको पूजा गरिन्छ । हरेक व्यक्तिको घर अगाडि हुन्छ यो । यसको ध्यान दिइन्छ कि दिइँदैन ? यो नेवारी जीवनशैलीको अभिन्न अंग हो । यसलाई ध्यान दिइन्छ कि दिइँदैन ?’

यसअघि झाेंछेलाई पनि यस्तै एकीकृत बस्ती बनाउने योजना तत्कालीन मेयर केशव स्थापितले बनाएका थिए । वसन्तपुरको ग्वाछे: मुग गल्लतीदेखि झोंछेसम्म एकीकृत बस्ती बसाउने उनको योजनालाई स्थानीयवासीले विरोध गरेका थिए ।

‘यो सब प्राचीन बस्ती मास्ने षडयन्त्र हो,’ तुलाधर भन्छन्, ‘एकीकृत बस्ती योजनामा कोही प्रलोभनमा फसेको छ । कोही आफूलाई फाइदा हुने रहेछ भनेर लागेको छ । कोहीले चाहिँ हुँदैन भनेर लिखित निवेदन दिएका छन् । एकीकृत बस्तीले जीवनशैली फेरिन्छ । रहनसहन फेरिन्छ । मौलिकता मेटिन्छ ।’ यो बस्ती किसान समुदायको हो ।

किसानमध्ये पनि यो टालमा यहाँ गाई र भंैंसी पाल्ने समूह छन् । गाई पाल्नेलाई सापु र भैसी पाल्नेलाई मेपु भनिन्छ । गाई पाल्नेको र भैंसी पाल्नेको अलगअलग गुठी छन् । गाईपालन अझै छ भने भैंसीपालन भने हराएको छ । ‘जो निमुखा, गरिब, बोल्न सक्दैन भनेर यो योजना ल्याइएको हो,’ तुलाधर भन्छन्, ‘बस्तीलाई बजारीकरण गर्न खोजियो । बस्तीलाई बजारीकरण गरिएपछि प्राचीन अमूर्त संस्कृति नास भएर जान्छ ।’

४ एकीकृत बस्ती योजना स्वीकृत
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चार वटा एकीकृत बस्ती विकासका प्रारम्भिक योजना स्वीकृत गरेको छ । प्राधिकरण कार्यकारी समितिको बैठकले ओखलढुंगाको मलेखुको गाउँपालिकाको फँुयाल गाउँ, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिकाको झ्याडीटोल, मेलम्ची नगरपालिकाको गिरन्चोक एकीकृत बस्तीको प्रारम्भिक योजना स्वीकृत गरेको प्राधिकरणले जनाएको छ ।

त्यसैगरी काठमाडौं शंकरापुर नगरपालिकाको पुखुलाछीस्थित सिर्जनशील एकीकृत बस्ती विकासको प्रारम्भिक योजनालाई पनि स्वीकृत गरेको छ । प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीका अनुसार फुँयालगाउँमा १२ घरधुरी, झ्याडीटोलमा ५६, गिरान्चौरमा १ सय ३५ र सिर्जशील बस्तीमा १६ घरधुरी हुनेछन् ।

प्रकाशित : कार्तिक १०, २०७५ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्

घर आँगनमै उपचार

कान्तिपुर संवाददाता

मकवानपुर — घर आँगनमै शल्यक्रिया गरेर कन्चटमा रहेको गाँठो फाल्न पाउँदा विनोद चेपाङ दंग परेका छन् । दाँहिने आँखाको नजिक केराउ गेडाभन्दा ठुलो गाँठो (सिष्ट) आएको थियो  ।

चितवनको अस्पतालमा गएर देखाउँदा चिकित्सकले शल्यक्रिया गरेर फाल्नुपर्छ । ३० हजार रुपैयाँ लाग्छ भनेका थिए । रकमको अभावले उनी अनुहारमा गाँठो पालेर बसिरहेका थिए ।

मिस नेपाल २०१८ की शृङखला खतिवडाद्वारा कैलास गाउँपालिका–७ ताम्लाङमा विशेषज्ञ सेवासहित शुक्रबार नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका थिए । जिल्लाको अति विकट उक्त बस्तीमा सञ्चालित शिविरमा ४० वर्षीय विनोद चेपाङको चुरेहिल अस्पतालका चिकित्सक डा.किरण घिमिरेले शिविरमा नै शल्यक्रिया गरेर गाँठो निकालेर फालिदिएका थिए । डा.घिमिरेले विनोदको मात्र होइन, ५१ वर्षीय साहिला चेपाङको पनि ढाँडमा भएको गाँठोको पनि शल्यक्रिया गरेर निकालिदिए । गाँठो फालेर औषधिसमेत पाउँदा दुवै चेपाङ दंंग परेका थिए ।

चेपाङहरूको मात्र बसोबास रहेको उक्त विकट बस्तीमा सञ्चालित शिविरमा २ सय ७० जनाको स्वास्थ्य परीक्षण गरिएको मिस नेपाल खतिवडाले बताइन् । हेटौंडा अस्पताल, चुरेहिल अस्पताल, सहकारी अस्पतालका १० जना विशेषज्ञ डाक्टरसहित २५ जना स्वास्थ्यकर्मीले शिविरमा सेवा उपलब्ध गराएका थिए । दुर्गम गाउँमा यसरी विशेषज्ञ सेवासहित नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको यो पहिलो पटक भएको गाउँपालिकाका अध्यक्ष टंक मोक्तानले बताए ।

न्यानो कपडा वितरण
कैलास गाउँपालिका–७ डोकाटारस्थित सरस्वती प्राविका विद्यार्थीलाई मिस नेपाल शृंखला खतिवडाले न्यानो कपडा वितरण गरेकी थिइन । कपडा तथा तयारी पोसाक संघले उक्त दुर्गम गाउँका छात्रछात्रालाई न्यानो कपडाको व्यवस्था गरेको थियो । उक्त विद्यालयमा ८७ जना विद्यार्थी अध्ययनरत छन । अधिकांश छात्रछात्रा चेपाङ समुदायका हुन् ।

प्रकाशित : कार्तिक १०, २०७५ ०८:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्