२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

सिद्धिलक्ष्मी मन्दिर पुनर्निर्माण सकियो

कान्तिपुर संवाददाता

भक्तपुर — भूकम्पले क्षतिग्रस्त सिद्धिलक्ष्मी (सिद्धिवत्सला) मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ  । भूकम्पपछिको पुनर्निर्माण (पीडीएनए) अन्तर्गत विनियोजित बजेटबाट स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुरले सिद्धिलक्ष्मी मन्दिर पुनर्निर्माण गरेको हो  ।

सिद्धिलक्ष्मी मन्दिर पुनर्निर्माण सकियो

मल्लकालीन मन्दिर विश्वसम्पदामा सूचीकृत भक्तपुर दरबार स्क्वायर परिसरमा पर्छ ।


भक्तपुरका राजा जगतप्रकाश मल्लले नेपाल संवत् ७९२ मा स्थापना गरेको सिद्धिलक्ष्मी मन्दिर २०७२ वैशाखको भूकम्प र त्यसपछि आएको पराकम्पले शिरदेखि पेटीसम्मको भाग चिरा परेर पश्चिमतर्फ ढल्केको थियो । पुरातत्त्वविद्को सुझावबमोजिम जगसम्म भत्काएर पुनर्निर्माण गरिएको पुरातत्त्व विभागका इन्जिनियर एवं सूचना अधिकारी मोहनकृष्ण श्रेष्ठले बताए ।


क्षतिग्रस्त मन्दिरको जीर्णोद्धार गर्दा भत्किने जोखिम बढेकाले जगसम्म भत्काएर पुनर्निर्माण गरेको श्रेष्ठले बताए । यसअघि नेपाल संवत् ८३५ मा राजा भूपतिन्द्र मल्लले जीर्णोद्धार गरेको अभिलेखमा उल्लेख भएको विभागले जनाएको छ ।


गर्भगृहमा तान्त्रिक मूर्ति स्थापित मन्दिर ऐतिहासिक, पुरातात्त्विक हिसाबले पनि महत्त्वपूर्ण रहेको संस्कृतिविद् लीलाभक्त मुनकर्मी बताउँछन् । १९ फिट लम्बाइ, १९ फिट चौडाइ र २३ फिट उचाइ रहेको शिखर शैलीको मन्दिर माटोको जोडाइमा बाहिर ढुंगा तथा भित्र इँटाको प्रयोग गरी मौलिक शैलीमा पुनर्निर्माण गरेको छ । मन्दिरको दक्षिणभिमुख ३ तिर ढोका अवस्थित छ ।


‘उपत्यकाभित्रका ढुंगे मन्दिरभन्दा भिन्न शैलीमा बनेको सिद्धिलक्ष्मी मन्दिरको छुट्टै विशेषता छ,’ इतिहासविद् डा.पुरुषोत्तमलोचन श्रेष्ठले भने, ‘सिद्धिलक्ष्मी मन्दिरको सिंढीको दायाँबायाँका रक्षक गणहरूको अद्भूत कलाकारिताले मन्दिरको परिचय दिन्छ ।’ विभागले मन्दिर पुनर्निर्माणका लागि निर्माण कम्पनीसँग १ करोड ७२ लाख ९९ हजार ६९७ रुपैयाँ लागत इस्टिमेटसहित सम्भौता गरेको जनाएको छ । ठेक्का लागेको करिब २ वर्षमा सिद्धिलक्ष्मीको पुनर्निर्माण भएको र अन्तिम लागत रकम आउन बाँकी भएको इन्जिनियर श्रेष्ठले बताए ।


६ सम्पदा निर्माणाधीन विभागले यसअघि क्षतिग्रस्त मुख्य ७ सम्पदा पुनर्निर्माणको जिम्मा लिएको थियो । जसमध्ये विश्वसम्पदा सूचीकृत चाँगुनारायण मन्दिरको जीर्णोद्धार सम्पन्न गरेको छ भने, भक्तपुर दरबार स्क्वायर परिसरको सिलु महादेव (फसिदेवल) मन्दिर, राष्ट्रिय कला संग्रहालय (लाल बैठकबाहेक) सिंह ढोकाको पछाडिको भाग, सूर्यविनायक नगरपालिकास्थित अनन्तलिंगेश्वर मन्दिर, दक्षिण बाराही मन्दिरको पुनर्निर्माण जारी छ ।


चालु आर्थिक वर्ष ०७५/७६ भित्र पुनर्निर्माण थाल्ने गरी काभ्रे र भक्तपुरका २२ सम्पदा पुनर्निर्माणको लागि बजेट विनियोजन भएको समेत पुरातत्त्व विभाग भक्तपुरले जनाएको छ । जसमध्ये भूकम्पपछिको पुनर्निर्माण (पीडीएनए) अन्तर्गत मध्यपुर थिमिस्थित निर्माणाधीन बप्पा महादेव मन्दिरका लागि २० लाख रुपैयाँ, मध्यपुर थिमिकै नीलबराही मन्दिरको सत्तल पुनर्निर्माणका लागि ५० लाख रुपैयाँ, भक्तपुर राम मन्दिर परिसरको सत्तल पुनर्निर्माणका लागि १ करोड ५० रुपैयाँ, भक्तपुर दरबार स्क्वायरस्थित भण्डार पोखरी सत्तल पुनर्निर्माणका लागि १ करोड रुपैयाँ, चाँगुनारायण मन्दिर परिसरको सत्तल पुनर्निर्माणका लागि ३ करोड रुपैयाँ विनियोजन भएको विभागको भनाइ छ ।


त्यसैगरी, तालाक्वस्थित जेठा गणेश द्यो छें पुनर्निर्माणका लागि ८० लाख रुपैयाँ, सूर्यविनायक गणेश मन्दिर परिसर सत्तल पुनर्निर्माणका लागि ३५ लाख रुपैयाँ, नासमना भजन सत्तल पुनर्निर्माणका लागि १ करोड रुपैयाँ, बालाखु गणेश द्यो छें पुनर्निर्माणका लागि ५० लाख रुपैयाँ, चाँगुनारायणस्थित बलम्बुपाटी संरक्षणका लागि १५ लाख रुपैयाँ, महामञ्जुश्री मन्दिर क्षेत्र संरक्षणका लागि २० लाख रुपैयाँ, ज्योर्तिलिंगेश्वर मन्दिर झौखेलस्थित अधुरो पाटी निर्माणका लागि २० लाख रुपैयाँ विनियोजन भएको छ । भूकम्पपछिको पुनर्निर्माणअन्तर्गत जंगम मठ भारत सरकारको सहयोगमा ५० करोडमा पुनर्निर्माण गरिने विभागले जनाएको छ ।


त्यस्तै, पुरातात्त्विक स्थल संरक्षण आयोजनाअन्तर्गत चालु आर्थिक वर्षमा भकारेश्वर मन्दिरको लागि ५ लाख रुपैयाँ विनियोजन भएको छ । विश्वसम्पदा स्थल संरक्षण आयोजनाअन्तर्गत शंखचक्र गणेश मन्दिर गामढोका चाँगुनारायण संरक्षणका लागि २२ लाख रुपैयाँ, भीमसेन पाटी संरक्षणका लागि ४० लाख रुपैयाँ, भक्तपुर दरबार स्क्वायर परिसरको गोपीनाथ मन्दिरका लागि १४ लाख रुपैयाँ छुट्याएको इन्जिनियर श्रेष्ठले बताए ।


पीडीएनएअन्तर्गत हनुमानघाट संरक्षणका लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ । काभ्रेको बनेपास्थित चण्डेश्वरी मन्दिर परिसरको महादेव मन्दिर पुनर्निर्माणका लागि १ करोड ९ लाख रुपैयाँ, बनेपाकै भगवान् बहिबहाल मन्दिर पुनर्निर्माणका लागि ४० लाख रुपैयाँ, बनेपा बकुटोलस्थित द्योद्य पुखु: संरक्षण तथा पर्खाल निर्माणका लागि ५० लाख रुपैयाँ, उग्रचण्डी नालास्थित निर्माणाधीन महादेव मन्दिर संरक्षणका लागि २५ लाख रुपैयाँ विनियोजन भएको र निर्माण प्रक्रिया सुरु भएको विभागले जनाएको छ ।

प्रकाशित : आश्विन ३०, २०७५ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?