१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

साँखु–दक्षिणकाली एउटै बसमा

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौंको साँखुदेखि दक्षिणकालीसम्म अब एउटै गाडीमा पुग्न सकिने भएको छ । बाबा गोकर्णेश्वर यातायात प्रालिले साँखु–दक्षिणकाली रुटमा मंगलबारदेखि २४ गाडी सञ्चालनमा ल्याएपछि यात्रुलाई सहज भएको हो ।

साँखु–दक्षिणकाली एउटै बसमा

गाडी सञ्चालनमा आएसँगै साँखुबाट दक्षिणकाली जाने यात्रुले रत्नपार्क पुगी गाडी फेर्नु नपर्ने भएको हो । उक्त रुटको करिब ५० किलोमिटर दूरीको यात्रा गर्न ३ देखि ४ घण्टा लाग्नेछ । तत्कालका लागि भाडादर भने ९८ रुपैयाँ कायम गरिएको छ ।


जीर्ण सडक र बीचबीचमा हुने ट्राफिक जामका कारण उक्त रुटमा गाडी सञ्चालनमा व्यवसायीले खासै चासो देखाएका थिएनन् । तर बिस्तारै सडक मर्मत र स्तरोन्नति हुने अपेक्षाका साथ दुई धार्मिक स्थल जोड्ने प्रयास गरेको गोकर्णेश्वर यातायात प्रालिका सचिव रोशनबाबु श्रेष्ठले बताए । ‘बाह्रै महिना दक्षिणकालीमा पूजा चल्छ ।


यसले धार्मिक आस्था राख्नेलाई सहज हुने अपेक्षा गरेका छौं,’ श्रेष्ठ भन्छन् ।


साँखुको बसपार्कभन्दा केही पर बस पार्क गर्ने गरेको उक्त यातायात प्रालिले अहिले दक्षिणकालीमा बसपार्क कहाँ राख्ने भन्नेबारे त्यहाँका अन्य यातायात व्यवसायीसँग वार्ताको क्रममा रहेको बताएको छ । सचिव श्रेष्ठले गाडीको ‘क्यु’ राख्ने विषयमा केही विवाद रहेको बताए ।


उनले साँखु–दक्षिणकाली रुटमा ४१ गाडी सञ्चालन गर्ने लक्ष्य भए पनि हाल २४ वटा सञ्चालनमा ल्याएको बताए ।

प्रकाशित : आश्विन १७, २०७५ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?