१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

त्रिवि पुस्तकालय पुनर्निर्माण हुने

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतले भूकम्पबाट क्षतिग्रस्त भएको त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय भवन निर्माण गर्न अनुदान सहयोग गर्ने भएको छ ।

त्रिवि पुस्तकालय पुनर्निर्माण हुने

आउँदो वर्ष २०१९ देखि निर्माण सुरु हुने पुस्तकालय दुई वर्षभित्र निर्माण सम्पन्न हुनेछ । त्यसनिम्ति नेपालस्थित भारतीय दूतावासले प्राविधिक नापजाँच गराइसकेको छ भने नेपाली वास्तुकलाअनुसारको नक्सा पाससमेत गराइसकिएको छ ।


नेपाल र भारतीय सहयोग मिसनले २०२४ सालमा निर्माण गरेको पुस्तकालय भवन ०७२ को भूकम्पले जीर्ण तुल्याएको छ । उक्त जीर्ण भवनलाई पुनर्निर्माण गरिनेछ । साथै, बीच भागमा रहेको विद्यमान ठूलो भवनलाई यथावत् राखेर त्यसको पश्चिम–दक्षिणको खुला मैदानमा नयाँ भवन निर्माण गरिने भएको छ ।


‘भारतीय सरकारका प्रतिनिधि तथा प्राविधिक टोलीले नापजाँच गरिसकेका छन्,’ पुस्कालयका उपप्रमुख पूर्णलाल श्रेष्ठले कान्तिपुरसित भने, ‘१६ करोड रुपैयाँ लागत लाग्ने अनुमान छ ।’ पश्चिमी मोहडामा बन्ने भवनको लम्बाइ १ सय १४ फिट र चौडाइ ८० फिट रहनेछ । उक्त बजेटले भवन निर्माणसँगै फर्निचर, पुस्तकालयका निम्ति आधुनिक प्रविधि जडानसमेत गरिनेछ ।


पुस्तकालयको पुरानो भवनको माथिल्लो तलाको पूर्वतर्फको कक्ष पूरा खाली छ । पश्चिमतर्फ केही पुस्तक र जीर्ण फर्निचर तथा स्टिल दराजहरू थुपारिएका छन् । भुइँतलाको पश्चिमतर्फ आधा फिट धसिएको पूरै कक्ष खाली छ । भूकम्पबाट भाँचिएका तीन सयभन्दा बढी पुस्तकालय र्‍याकका पुस्तक अन्यत्र सारेर सुरक्षित राखिएका छन् । बीच भागको ठूलो भवनमा पाठकले पढ्ने स्थल कायम छ । त्यसका अलावा भूकम्पपछि सात कोठे प्रिफ्याब टहरामा पुस्तक पढ्ने व्यवस्था गरिएको छ ।

प्रकाशित : आश्विन १२, २०७५ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?