काँठमा अव्यवस्थित बस्ती बढ्दै

शिल्पा कर्ण

काठमाडौँ — तारकेश्वर नगरपालिका वडा नं. १ को धेरै क्षेत्र शिवपुरी राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र (बफर जोन) भित्र पर्छ । यससँगै जोडिएको ग्रामीण भेग ढकालचौरको सबैभन्दा माथि अढाईतले घर छ । ‘त्यो जग्गा निकुञ्जको स्वामित्वमा पर्छ । ४ वर्षजति भइसक्यो यो घर बनाएको,’ स्थानीय एक युवाले भने ।

उक्त घर ठेक्कापट्टा गर्ने रमेश तामाङ नामक व्यक्तिको रहेको स्थानीय बताउँछन् । ‘त्यो घर जनप्रतिनिधि आउनुअगावैको हो,’ वडाध्यक्ष विदुर सापकोटाले भने, ‘यस क्षेत्रमा टहरा र अन्य संरचना पनि थुप्रै छन् । जसको लेखाजोखा स्थानीय तहसँग छैन ।’ ती अस्थायी संरचना पनि बिस्तारै स्थायी बन्ने क्रम जारी छ । उक्त नगरको विकट मानिने उक्त वडाको माथिल्लो इलाकामा नयाँनयाँ घर बनिरहेका छन् । तर, यसरी अव्यवस्थित बस्ती विकास भइरहँदा नगरपालिका भने त्यसलाई नियन्त्रण र कारबाही गर्न अक्षम देखिएको छ ।

वडाध्यक्ष सापकोटाका अनुसार ठूलो क्षेत्रफल ओगट्ने उक्त वडामा सार्वजनिक जग्गा निकै धेरै छ र अतिक्रमणमा परेको पनि उनी स्विकार्छन् । तर, नगरपालिकामा पटकपटक यो विषय उठाए पनि ठोस निर्णय हुन नसकेको वडाध्यक्ष तथा नगर कार्यपालिका प्रवक्ता सापकोटाको भनाइ छ । ‘सुकुम्बासी धेरै छन् । उनीहरू व्यवसाय दर्ता गराउन आएका छन् । तर, जग्गाधनी प्रमाणपुर्जा नहुँदा त्यो गर्न सकिएको छैन,’ सापकोटाले भने ।

उक्त नगरका वडा नं. १, २, ३ र ५ मा अहिले खासै बस्ती विकास भइसकेको छैन । कृषियोग्य जग्गा धेरै छन् । तर, पछिल्लो समय खेतमा जथाभावी घर बनाउने क्रम चलिरहँदा नगरपालिका त्यसलाई व्यवस्थित बस्तीका रूपमा विकास गर्न सकिरहेको छैन । कतै सडकको मापदण्ड मिचेर त कतै ढल, खानेपानीजस्ता सुविधा पुर्‍याउन नसक्ने ठाउँहरूमा समेत घर बनिरहेका छन् ।

उक्त नगरको वडा नं. ५ को स्थिति पनि उस्तैउस्तै छ । वडाध्यक्ष वासु गौतम दिनहुँ नक्सापासको सिफारिस लिने ८/१० जनासम्म पुग्ने गरेको बताउँछन् । ‘यो नगरपालिकामा सबैभन्दा बढी भूकम्पपीडित भएकाले घर बन्ने क्रम बढेको हो,’ गौतमले भने, ‘त्यसबाहेक पनि पक्की संरचना धेरै नै बढिरहेका छन् । बस्ती विकास निकै तीव्र छ ।’ उनले स्थानीयका साथसाथै नेपालका विभिन्न भागबाट जग्गा किनी घर बनाउनेहरू बढिरहेको बताए ।

गौतमका अनुसार पहिले नै जग्गा किनिसकेका व्यक्तिको हकमा नगरपालिकाले तोकेभन्दा कम सडक भए पनि नक्सापासका लागि सिफारिस गर्ने गरिएको छ । १३ फिटभन्दा कम सडक छोडेका घडेरीलाई नक्सापास नगर्ने नगरपालिकाको नीति भए पनि त्यहाँ पहिले जग्गा किनेकालाई ८/९ फिट बाटो भए पनि नक्सापास गर्ने गरिएको उनले जानकारी दिए ।

उक्त नगरको वडा नं. ३ मा ३३ सय रोपनी र वडा नं. ५ मा १७ सय रोपनीभन्दा बढी सार्वजनिक जग्गा छ । ५ नं. वडाका सार्वजनिक जग्गा स्थानीयले नै संरचना बनाउँदै च्याप्दै गइरहेका छन् । अतिक्रमित जग्गा फिर्ता लिने योजना बनाइरहेको र केहीलाई पार्क बनाई संरक्षणसमेत गरिरहेको गौतमले जानकारी दिए । उनले भने, ‘४ ठाउँमा गरी १७ रोपनी जग्गा फिर्ता गराइसक्यौं । एक ठाउँमा पार्क बनिसक्यो, अर्को बन्ने क्रम जारी छ ।’

उक्त नगरपालिकाका एक कर्मचारीले भने, ‘वडाध्यक्षहरूमार्फत सार्वजनिक जग्गामा बस्नेलाई स्ववासी बनाउन दबाब दिइने गरेको छ । अतिक्रमण हटाउनुको साटो उल्टै तिनलाई वैधानिकता दिइने गरिएको छ ।’ ती कर्मचारीले जनप्रतिनिधिले राजनीतिक फाइदाका कारण अनधिकृत संरचना भत्काउन आनाकानी गर्ने, कानुनविपरीतका काम भए पनि चुप लागेर बस्ने गरेको आरोप लगाए । यसैकारण सार्वजनिक जग्गा अतिक्रमण हटाउन समेत नसकिरहेको ती कर्मचारीले बताए ।

बुढानीलकण्ठ नगरपालिकाका भित्री र ग्रामीण इलाकामा पनि जथाभावी संरचना बन्ने क्रम जारी छ । वडा नं. ५ मा केही दिनअघि पहिरो गयो । पहाडको ठूलो हिस्सा खस्न लाग्दा तलतिरका दर्जनभन्दा बढी घर पुरिने जोखिममा छन् । वडाको उक्त स्थानमा बलौटे माटोमाथि वृक्षरोपण गर्नुपर्नेमा प्लटिङ गरी बस्ती विकास गरिएकाले पानीको व्यवस्थापन हुन नसकेर पहिरो गएको भूगर्भविद् बताउँछन् । त्यहाँ न वैज्ञानिक ढंगले निर्मित सडक छ न त ढलको उचित व्यवस्थापन ।

त्यहाँ पुरानो बस्ती भए पनि कच्ची घर थिए । अहिले पक्की संरचना बनिरहेका छन् । उक्त वडाका अध्यक्ष विजय तामाङ भन्छन्, ‘पहिले बनेका घर नक्सापास छैनन् । त्यतिखेर चलन थिएन । भूकम्पपछि बनेका ७५ प्रतिशत जति घर नक्सापास गराइएका छन् ।’ कीर्तिपुर, दक्षिणकाली, चन्द्रागिरी, कागेश्वरी मनोहरा, गोकर्णेश्वर नगरपालिकाका भित्री इलाकामा अझै घर बनाउनुअघि माटो परीक्षण र नक्सापास गराउने चलन छैन । जग्गाको प्रकृति नहेरी गरिएको निर्माणमा प्राकृतिक प्रकोपको असर बढी पर्न सक्छ । यद्यपि अहिले चेतनाको स्तरमा वृद्धिसँगै नक्सापास गराउने पनि बढैछन् ।

सहरी पूर्वाधारविद् यसरी अव्यवस्थित रूपमा बढ्दै गएको बस्तीले भविष्यमा विपद् निम्त्याउने बताउँछन् । आगलागी हुँदा दमकल जाने, एम्बुलेन्स जाने पर्याप्त चौडाइ नछुट्याई बनाइएको सडकले भविष्यमा नराम्रो असर गर्ने उनीहरूको भनाइ छ । बढ्दो बस्ती र जनसंख्यालाई ध्यानमा राख्दै निर्माण कार्य गर्नुपर्ने विकासविद् सुझाव दिन्छन् । ढल निकाससमेत नभएका क्षेत्रमा घर बनिरहेका छन् । यसले पानीको व्यवस्थापन हुन नसक्दा र जथाभावी घर थपिँदै जाँदा नगरपालिकालाई नै गाह्रो हुने निश्चित छ ।

प्रकाशित : आश्विन ३, २०७५ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्

नगरपालिकाले जीर्णोद्धार गर्ने

भैरवनाथ मन्दिर
कान्तिपुर संवाददाता

काठमाडौँ — भूकम्पका कारण क्षतिग्रस्त भैरवनाथ मन्दिर जीर्णोद्धार गरिने भएको छ । भक्तपुर नगरपालिका–५ तौमढीमा रहेको मन्दिरको जीर्णोद्धार नगरपालिकाले गर्ने भएको हो ।

भूकम्पले तीनतले मन्दिरको माथिल्लो फुंचा (गाह्रो) भत्किएको छ भने मन्दिरको टुँडाल तथा खम्बा निस्किएका छन् ‘मन्दिरको छाना, गजुरलाई साविक स्थानमा राख्न जीर्णोद्धार आवश्यक छ,’ भक्तपुर नगरपालिका सम्पदा शाखा प्रमुख रामगोविन्द श्रेष्ठले भने, ‘भंगी (गजुर रहने भाग), नागोल, तामाको पाता, कुमुसी (दलिन), टुँडाल, झलरलगायत निकालेर जीर्णोद्धार गर्ने लक्ष्य छ ।’

भैरवनाथ मन्दिर जीर्णोद्धारका लागि नगरपालिकाले बहुवार्षिक योजनाअन्तर्गत अघिल्लो आर्थिक वर्ष ०७४/७५ मा १ करोड २७ लाख ५० हजार रुपैयाँ विनियोजन गरिसकेको जनाएको छ । न्हुछेराम भेलेको अध्यक्षतामा उपभोक्ता समिति गठन गरी मन्दिर जीर्णोद्धार थालेको समेत उनले बताए ।

इतिहासविद् डा.पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार मध्यकालको १५ औं शताब्दीतिर भक्तपुरका मूल्यपति थरका भैरवका भक्तजनले भैरवनाथको एकतले मूर्ति बनाएका हुन् । त्यसको निसानका रूपमा हाल मन्दिरको पहिलो तलामा गजुर देख्न सकिन्छ । ‘हाम्रो संस्कृतिमा मन्दिरभन्दा अग्लो घर बनाउनु हुँदैन भन्ने लोक मान्यता छ,’ उनले भने, ‘सोही मान्यताअनुरूप १८ औं शताब्दीतिर आइपुग्दा मन्दिरभन्दा अग्ला घर बन्न थाले ।’

भूपतीन्द्र मल्ल र उनका छोरा रणजित मन्लले घरभन्दा होंचो मन्दिरलाई दुईतला थपेर तीन तला बनाई जीर्णोद्धार गरेको उनले बताए । भैरवनाथको शक्ति त्रिपुरसुन्दरी भएको उनी बताउँछन् । यसअघि १९९० को भूकम्पले पूर्ण क्षति भएको भैरवनाथ मन्दिर जुद्धशमशेरले तत्कालै पुनर्निर्माण गर्न लगाएको उनले बताए । श्रेष्ठका अनुसार भक्तपुरको उच्चतम देवता भैरवनाथ र उच्चतम देवी त्रिपुरासुन्दरी हुन् । तान्त्रिक परम्परामा ‘त्रिपुरसुन्दरी र भैरवनाथलाई ललित महेश्वर’ को मान्यता दिइन्छ । भैरवनाथ मन्दिरको प्राङ्गणमा सातौं शताब्दीको ढुङ्गेजल पत्र छ ।

अलपत्र अवस्थामा रहेको जलपत्रमा उल्लेख भएअनुसार भैरवनाथलाई लडित महेश्वर भनिएको उनी बताउँछन् । ‘जलपत्रअनुसार यसस्थलमा लिच्छविकालदेखि नै शक्तिसहितको शिवको दर्शन, पूजन गर्ने संस्कृति र शैवस्थलको रूपमा प्रसिद्ध रहेको बुझिन्छ,’ इतिहासविद् श्रेष्ठले भने, ‘यसैको अमूर्त पक्ष बिस्केट जात्रालाई मान्न सकिन्छ ।’

तौमढीमा अवस्थित कासी विश्वनाथ भैरवको शिर भएको र शरीर भारतको काँसीमा रहेको समेत इतिहासविद् श्रेष्ठ बताउँछन् । ‘नेपाल भारतको पनि सांस्कृतिक शिर हो भन्ने उदाहरण भैरवनाथ हो,’ उनले भने । त्यस्तै, भक्तपुर नगरपालिकाले भूकम्पका कारण क्षतिग्रस्त भक्तपुर दरबार प्रवेशद्वार, दरबार क्षेत्रको शेष (शंकर), त्रिविक्रम, हरिहर नारायण मन्दिर, दत्तात्रयस्थित लक्ष्मीनारायण मन्दिर, भीमसेन मन्दिर, इनाचोंस्थित नित्यनाथ मन्दिर, क्वाछेंस्थित नित्यनाथ मन्दिर, जेलांस्थित फल्चा (पाटी), ब्यासीस्थित ४ वटा फल्चा, छुंमा गणेशस्थित ढुंगे मन्दिरलगायतको पुनर्निर्माण सम्पन्न गरेको सम्पदा शाखाले जनाएको छ ।

त्यसैगरी, नगरपालिकाले पुनर्निर्माण थालेको भक्तपुर दरबार स्क्वायर परिसरको क्षतिग्रस्त केदारनाथ मन्दिर पुनर्निर्माण अन्तिम चरणमा पुगेको सम्पदा शाखा प्रमुख श्रेष्ठले बताए । दरबार परिसरकै बत्सला मन्दिर ४० प्रतिशत पुनर्निर्माण भएको र नासमनामा अवस्थित बत्सला मन्दिर, सरस्वतीस्थानको लामुगाल पाटी, चोकलस्थित नारायण मन्दिर, सूर्यमढीमा अवस्थित ३ वटा फल्चा, तलातुथी, भुलाछें पाटीलगायतको पुनर्निर्माण भइरहेको उनले बताए ।

प्रकाशित : आश्विन ३, २०७५ ०८:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्