नगरपालिकाले जीर्णोद्धार गर्ने

भैरवनाथ मन्दिर
कान्तिपुर संवाददाता

काठमाडौँ — भूकम्पका कारण क्षतिग्रस्त भैरवनाथ मन्दिर जीर्णोद्धार गरिने भएको छ । भक्तपुर नगरपालिका–५ तौमढीमा रहेको मन्दिरको जीर्णोद्धार नगरपालिकाले गर्ने भएको हो ।

भूकम्पले तीनतले मन्दिरको माथिल्लो फुंचा (गाह्रो) भत्किएको छ भने मन्दिरको टुँडाल तथा खम्बा निस्किएका छन् ‘मन्दिरको छाना, गजुरलाई साविक स्थानमा राख्न जीर्णोद्धार आवश्यक छ,’ भक्तपुर नगरपालिका सम्पदा शाखा प्रमुख रामगोविन्द श्रेष्ठले भने, ‘भंगी (गजुर रहने भाग), नागोल, तामाको पाता, कुमुसी (दलिन), टुँडाल, झलरलगायत निकालेर जीर्णोद्धार गर्ने लक्ष्य छ ।’

भैरवनाथ मन्दिर जीर्णोद्धारका लागि नगरपालिकाले बहुवार्षिक योजनाअन्तर्गत अघिल्लो आर्थिक वर्ष ०७४/७५ मा १ करोड २७ लाख ५० हजार रुपैयाँ विनियोजन गरिसकेको जनाएको छ । न्हुछेराम भेलेको अध्यक्षतामा उपभोक्ता समिति गठन गरी मन्दिर जीर्णोद्धार थालेको समेत उनले बताए ।

इतिहासविद् डा.पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार मध्यकालको १५ औं शताब्दीतिर भक्तपुरका मूल्यपति थरका भैरवका भक्तजनले भैरवनाथको एकतले मूर्ति बनाएका हुन् । त्यसको निसानका रूपमा हाल मन्दिरको पहिलो तलामा गजुर देख्न सकिन्छ । ‘हाम्रो संस्कृतिमा मन्दिरभन्दा अग्लो घर बनाउनु हुँदैन भन्ने लोक मान्यता छ,’ उनले भने, ‘सोही मान्यताअनुरूप १८ औं शताब्दीतिर आइपुग्दा मन्दिरभन्दा अग्ला घर बन्न थाले ।’

भूपतीन्द्र मल्ल र उनका छोरा रणजित मन्लले घरभन्दा होंचो मन्दिरलाई दुईतला थपेर तीन तला बनाई जीर्णोद्धार गरेको उनले बताए । भैरवनाथको शक्ति त्रिपुरसुन्दरी भएको उनी बताउँछन् । यसअघि १९९० को भूकम्पले पूर्ण क्षति भएको भैरवनाथ मन्दिर जुद्धशमशेरले तत्कालै पुनर्निर्माण गर्न लगाएको उनले बताए । श्रेष्ठका अनुसार भक्तपुरको उच्चतम देवता भैरवनाथ र उच्चतम देवी त्रिपुरासुन्दरी हुन् । तान्त्रिक परम्परामा ‘त्रिपुरसुन्दरी र भैरवनाथलाई ललित महेश्वर’ को मान्यता दिइन्छ । भैरवनाथ मन्दिरको प्राङ्गणमा सातौं शताब्दीको ढुङ्गेजल पत्र छ ।

अलपत्र अवस्थामा रहेको जलपत्रमा उल्लेख भएअनुसार भैरवनाथलाई लडित महेश्वर भनिएको उनी बताउँछन् । ‘जलपत्रअनुसार यसस्थलमा लिच्छविकालदेखि नै शक्तिसहितको शिवको दर्शन, पूजन गर्ने संस्कृति र शैवस्थलको रूपमा प्रसिद्ध रहेको बुझिन्छ,’ इतिहासविद् श्रेष्ठले भने, ‘यसैको अमूर्त पक्ष बिस्केट जात्रालाई मान्न सकिन्छ ।’

तौमढीमा अवस्थित कासी विश्वनाथ भैरवको शिर भएको र शरीर भारतको काँसीमा रहेको समेत इतिहासविद् श्रेष्ठ बताउँछन् । ‘नेपाल भारतको पनि सांस्कृतिक शिर हो भन्ने उदाहरण भैरवनाथ हो,’ उनले भने । त्यस्तै, भक्तपुर नगरपालिकाले भूकम्पका कारण क्षतिग्रस्त भक्तपुर दरबार प्रवेशद्वार, दरबार क्षेत्रको शेष (शंकर), त्रिविक्रम, हरिहर नारायण मन्दिर, दत्तात्रयस्थित लक्ष्मीनारायण मन्दिर, भीमसेन मन्दिर, इनाचोंस्थित नित्यनाथ मन्दिर, क्वाछेंस्थित नित्यनाथ मन्दिर, जेलांस्थित फल्चा (पाटी), ब्यासीस्थित ४ वटा फल्चा, छुंमा गणेशस्थित ढुंगे मन्दिरलगायतको पुनर्निर्माण सम्पन्न गरेको सम्पदा शाखाले जनाएको छ ।

त्यसैगरी, नगरपालिकाले पुनर्निर्माण थालेको भक्तपुर दरबार स्क्वायर परिसरको क्षतिग्रस्त केदारनाथ मन्दिर पुनर्निर्माण अन्तिम चरणमा पुगेको सम्पदा शाखा प्रमुख श्रेष्ठले बताए । दरबार परिसरकै बत्सला मन्दिर ४० प्रतिशत पुनर्निर्माण भएको र नासमनामा अवस्थित बत्सला मन्दिर, सरस्वतीस्थानको लामुगाल पाटी, चोकलस्थित नारायण मन्दिर, सूर्यमढीमा अवस्थित ३ वटा फल्चा, तलातुथी, भुलाछें पाटीलगायतको पुनर्निर्माण भइरहेको उनले बताए ।

प्रकाशित : आश्विन ३, २०७५ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्

‘पितृसत्ताले पुरुष अमानव बन्दै’

सजना बराल

काठमाडौँ — ‘हामी आज जे बोलिरहेका छौं, त्यो कुनै नयाँ कुरा होइन,’ कमलाले भनिन्, ‘कवीरजस्ता चार/पाँच सय वर्षअघिका मान्छेले नै लैंगिक समानताको मूल्य/मान्यताबारे बताइसकेका थिए ।’ सबनम भिर्मानीले कवीरका पाँचवटा सन्देशमूलक कविता प्रस्तुत गरेपछि कमला भासिनले आफ्नो भनाइ सुरु गरिन् ।

भासिनकै संस्था ‘संगत– अ फेमिनिस्ट नेटवर्क’ र नेपाल नागरिक समाजले आयोजना गरेको कार्यक्रममा भासिनले लैंगिक समानता र पितृसत्ताको बोझमाथि आधा घण्टा लामो अभिव्यक्ति दिएकी थिइन् ।

नेपालको महिला आन्दोलनले समग्र दक्षिण एसियालाई प्रेरणा दिएको उनको भनाइ थियो । महिलाका लागि संसद्मा ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्न सक्नु, समलिंगी सम्बन्धलाई वैवाहिक मान्यता प्रदान गर्नु र श्रीमान्बाट हुने बलात्कारलाई अपराध मान्ने कानुन निर्माण गरेकामा उनले नेपालको प्रशंसा गरिन् । ‘हामी त तपाईंका हरेक कामबाट प्रेरित छौं,’ उनले भनिन्, ‘आशा छ, हाम्रा सानातिना पहलबाट तपार्इंहरूले पनि प्रेरणा लिनुहुनेछ ।’

गुफा र छाउपडीविरुद्ध कानुन बनाउने देशमा निर्मला पन्तजस्ता बालिकाको बलात्कार र हत्या हुनुलाई उनले ‘घृणित’ काम भनिन् । भारतमा यस्ता अपराधको ‘भायलन्ट’ रूप देखिने बताइन् । उनले हलिउडबाट प्रारम्भ भएको ‘हयासटयाग मी टु मुभमेन्ट’ को समर्थन गरिन् । ‘धार्मिक रूढिवाद र पुँजीवादी पितृसत्ताले विश्वभरका महिलालाई पछाडि धकेलिरहेको छ,’ उनले भनिन्, ‘हामी शारीरिक र मानसिक हिंसा मात्र झेलिरहेका छैनौं । आर्थिक, सांस्कृतिक, सामाजिक, वैचारिक हिंसा पनि भोग्दै आएका छौं ।’

पितृसत्ताले पुरुषलाई अमानव बनाउँदै लग्ने कमलाको भनाइ छ । उनले पितृसत्ताको अन्तिम संस्कार गर्ने बेला आएको बताइन् । ‘हामी आज हात बढाइरहेका छौं,’ उनले भनिन्, ‘पुरुषहरूका लागि यो अवसर हो, हातेमालो गर्न । तपाईंलाई हानि गर्ने पितृसत्तालाई तपाईं नै किन समातेर बस्नुहुन्छ ?’ जाउलाखेलस्थित डीएभी स्कुलको सभाहलमा आयोजित कार्यक्रममा कमलाले ‘उर्लंदो सय करोड २०१९’ कार्यक्रमको उद्घाटन गरिन् । यो कार्यक्रम मासिक रूपमा आयोजना गर्ने अवगत पनि गराइन् ।

‘रक्षाबन्धन, तीज, श्रीपञ्चमी, तिहारजस्ता चाडमार्फत हामीलाई पुरुषभन्दा निचो छौं भन्ने सम्झाइरहिन्छ नि’, उनले उर्लदो सय करोडकै प्रसंगमा भनिन्, ‘हामी पनि महिनैपिच्छे महिला सम्मेलन गरेर लैंगिक समानताबारे सम्झाइरहन खोज्दै छौं । हामी संविधानको सम्मान गर्छौंं भन्ने प्रमाणित गर्नेछौं । सबै संविधानले महिला–पुरुष समान भन्छन्, हामी संविधानको इज्जत गर्नेछौं ।’

महिलाले पतिको दीर्घायुका लागि व्रत बस्नु पतिमाथिकै व्यंग्य भएको कमलाको बुझाइ छ । उनी थप्छिन्, ‘हाम्रा लागि कोही व्रत बस्दैन । हामी बाँचेकै छौं त ।’ कमलालाई बलात्कारभन्दा पनि हिंसक लाग्दा रहेछन् तीजजस्ता चाड । ‘यी चाडले महिलालाई ‘तिमी अपवित्र छौ, तिमीले नर्कको बाटोमा डोर्‍याउँछौं’ भन्ने सम्झाइरहन्छन्,’ उनले भनिन्, ‘मेरो देशमा सरकारले कन्यादान योजना कार्यक्रम बनाइरहेको छ । छोरालाई शिक्षादान, छोरीलाई कन्यादान † यस्ता रूढिवादविरुद्ध अझ जोर लगाएर लड्नु छ हामीले ।’

सियरालियोनबाट आएकी महिला अधिकारकर्मी जेन्नेहले आफ्नो देश र समग्र विश्वमै महिलाहरू पीडित रहेको बताइन् । लैंगिक समानताका पक्षमा नीतिहरू बने पनि कार्यान्वयन हुन नसकेको उनको भनाइ थियो । ‘कमलाको संगत सञ्जालले महिलाहरूलाई सशक्त बनाउन सघाउँछन्,’ उनले भनिन्, ‘हामी सबै फरक ठाउँका भए पनि आवाज एउटै छ ।’ संगतले आयोजना गरेको साउथ एसियन फेमिनिस्ट कोर्समा भाग लिएका ८ देशका ३६ महिलाले कार्यक्रममा नृत्य प्रस्तुत गरेका थिए ।
जनकपुरको ‘मालिका अधिकार मञ्च’ की मालती ठाकुर र पौरखी नेपालकी मञ्जु गुरुङलाई आयोजकले सम्मानस्वरूप क्रमश: १ लाख र ५० हजार रुपैयाँ प्रदान गरेका थिए । लैंगिक समानताका पक्षमा काम गरेबापत उनीहरूलाई सम्मान गरिएको कार्यक्रममा जनाइयो । यससँगै कमलाले दिवंगत छोरीको सम्झनामा स्थापित ‘मितो मेमोरियल अवार्ड’ विमेन फर ह्युमन राइट्सकी सुमिरा श्रेष्ठलाई प्रदान गरिन् । श्रेष्ठले एकल महिलाका पक्षमा काम गर्दै आएकी छन् ।

प्रकाशित : आश्विन ३, २०७५ ०८:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्