कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

मन्दिर पुनर्निर्माणमा जुटे पाटनवासीसमिति

प्रशान्त माली

ललितपुर — पाटनढोकाका ४९ वर्षीय गोविन्द डंगोलको आर्ट ग्यालरी दरबार क्षेत्रस्थित भीमसेन मन्दिरसँगै छ । घरबाट पसल जाने क्रममा उक्त मन्दिरबाट खसेको इँटाले उनलाई झन्डै लागेको थियो । भूकम्पले चर्केको उक्त मन्दिरबाट इँटा झरेको यो पहिलो पटक होइन ।

मन्दिर पुनर्निर्माणमा जुटे पाटनवासीसमिति

मन्दिरको उत्तरपट्टिको चर्केको गारोबाट पटकपटक इँटा झरिसकेको छ । पाटनमा भेटिएका उनले
सुनाए, ‘मन्दिर यस्तै धराप अवस्थामा छोड्ने हो भने एक दिन भत्केर दुर्घटना हुनेछ ।’


मन्दिरको माथिल्ला तलामा गारो थाम्ने थामहरू नराम्रोसँग सरेका छन् । भित्ताहरू चिराचिरा परेका छन् । मन्दिर उत्तरपट्टि ढल्केको छ । युनेस्कोबाट आएका इटालियन विशेषज्ञसमेतले मन्दिर अत्यन्त जोखिमपूर्ण रहेको भन्दै तत्काल पुनर्निर्माण गर्न पुरात्तत्व विभागलाई सुझाव दिएको थियो ।


मन्दिरको चारै दिशाका भित्तामा टोलीले प्राविधिक जाँच गर्ने क्रममा खतराको सूची चिह्न लगाइएको छ । भित्तामा लगाइएको ‘क्रस (बेठीक)’ चिह्नले मन्दिर जति बेला पनि ढल्न सक्ने संकेत गर्ने मन्दिरका पुजारीको भनाइ छ । अहिले सर्वसाधारणलाई मन्दिर प्रवेशमा रोक लगाइएको छ । भूकम्पपछि मन्दिरमा हुने दैनिक नित्य र बेलुकाको आरती पूजा ठप्प छ । अहिले पाटनवासीले मन्दिर जुनसुकै बेला पनि भत्कन सक्ने भन्दै फलामका टेको राखेका छन् । मन्दिरको उत्तरपट्टि सर्वसाधारण हिँड्ने बाटो बन्द गरिएको छ ।


दरबार क्षेत्रका भूकम्पले धराप बनेको कृष्ण मन्दिर, तलेजु, सुन्दरी चोकको पूर्वी भाग पुनर्निर्माण भइसकेका छन् । चार नारायण, विश्वेश्वर, हरिशंकर मन्दिर पुनर्निर्माणको क्रममा छन् ।
भीमसेन मन्दिर पुनर्निर्माणमा भने कसैले चासो दिएको छैन । मन्दिर भारत सरकारको आर्थिक सहयोगमा पुरात्तत्व विभागले पुनर्निर्माण गर्ने भनेको थियो । तीन वर्ष बितिसक्दा पनि पहल नगरेको भन्दै स्थानीयवासीले पुनर्निर्माण गर्न अग्रसर भएका छन् । मन्दिर पुनर्निर्माण गर्न मंगलबार क्षमा पूजा गरिएको छ ।


पाटनभरि भीमसेनका मुख्य ४ मन्दिर छन् । अन्य साना २७ मूर्ति छन् । भीमसेन मन्दिर पुनर्निर्माण गर्न ३ वर्षको अवधिमा राज्यबाट कुनै पहल नभएपछि स्थानीय आफैं अग्रसर हुनुपरेको ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जन बताउँछन् ।


संघका अध्यक्ष महर्जनकै संयोजकत्वमा मन्दिर पुनर्निर्माण गर्न समितिसमेत गठन गरिएको छ । भन्छन्, ‘मन्दिर स्थानीय मिलेर पुननिर्माण गर्नेबारेमा पुरातत्त्व विभागलाई लगत इस्टिमेटसहित लिखित जानकारी गराइसकेका छौं । भारतीय राजदूतावाससँग पनि समन्वय भइसकेको छ ।’ भीमसेन नेवार व्यापारीहरूको अराध्य देवता हुन् । पाटन परम्परादेखि चीनको खासा, ल्हासा, भुटानको थिम्पुसम्म हस्तकलाको व्यापार गर्ने पुरानो थलो हो ।


यसैले पनि मन्दिर पुनर्निर्माणमा ललितपुर उद्योग वाणिज्य संघले पहल गरेको संघका अध्यक्ष महर्जनको भनाइ छ । उक्त मन्दिर सिद्धिनरसिंह मल्लको पालामा बनेको हो । तीनतले मन्दिरको माथिल्लो तलामा मल्लकालीन राजा सिद्धिनरसिंह मल्लको पालामा बनाइएको भीमसेनको मूर्ति संग्रह गरेर राखिएको छ । भीमसेन मन्दिरका पुजारी राजु कपालीले भने, ‘मन्दिर जुनसुकै निकायले बनाए पनि मौलिक शैलीमा बन्नुपर्छ ।’ ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले मन्दिर पुननिर्माण गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।


स्थानीयवासीकै अग्रसरमा छाबहालस्थित दुईतले गुप्तवास भिन्द्यो: मन्दिर भने मर्मत भइसकेको छ । उक्त मन्दिर भूकम्पले चर्केको थियो । सुनधारास्थित पु: (चित्रकार) भिन्द्यो: (भीमसेन) मन्दिर बाहिरबाट झट्ट हेर्दा समान्य देखिन्छ । तर, पहिलो र दोस्रो तला भित्रभित्रै चर्केको छ । यो पनि मिलेर बनाउने स्थानीयवासी बताउँछन् ।

प्रकाशित : भाद्र २८, २०७५ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?