१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

सिंहध्वाका पुनर्निर्माण मल्लकालीन शैलीमा

भक्तपुर — भूकम्पले क्षतिग्रस्त भक्तपुर दरबारक्षेत्रस्थित ऐतिहासिक सिंहध्वाका दरबार मल्लकालीन शैलीमा पुनर्निर्माण गरिने भएको छ ।

सिंहध्वाका पुनर्निर्माण मल्लकालीन शैलीमा

विश्वसम्पदामा सूचीकृत भक्तपुर दरबार क्षेत्रको यो दरबार (हाल राष्ट्रिय कला संग्रहालय) रहेको लाल बैठक सहितको भवन पुराना प्रमाणका आधारमा मल्लकालीन शैलीमा पुनर्निर्माण गर्ने निर्णय भएको नगरप्रमुख सुनील प्रजापतिले बताए ।

सिंहध्वाका पुनर्निर्माणका लागि पुरातत्त्व विभागले २०७५ भदौ मसान्तभित्र सक्ने गरी ठेक्कासमेत दिइसकेको थियो । नगरपालिकाले विश्वसम्पदा क्षेत्रमा रहेको ऐतिहासिक दरबारलाई मल्लकालीन शैलीमा नै निर्माण गर्नुपर्ने अडान राखेर ठेक्का रद्दको अनुरोध गरेपछि विभागले ठेक्का रद्द गरेको थियो ।

ठेक्का रद्दपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाको नेतृत्वमा, नगरप्रमुख प्रजापति, पुरातत्त्व विभागका महानिर्देशक भेषनारायण दाहाल, स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय प्रमुख मोहन सिं लामा, इन्जिनियर मोहनकृष्ण श्रेष्ठ, राष्ट्रियकला संग्रहालय प्रमुख सरस्वती सिंह, संग्रहालय अधिकृत प्रतिमा रञ्जित, भक्तपुर नगरपालिकाका सम्पदा शाखा प्रमुख रामगोविन्द श्रेष्ठलगायतको बैठकले विभागको समन्वयमा नगरपालिकाले मल्लकालीन शैलीमा पुनर्निर्माण गर्ने निर्णय गरेको जनाएको छ ।

गत साउनमा बसेको बैठकले मल्लकालीन शैलीमा सिंहध्वाका पुनर्निर्माण गर्न युनेस्कोको प्रधान कार्यालय पेरिसमा अनुमतिका लागि पुरातत्त्व विभागमार्फत अनुरोध पठाउने निर्णय भएको नगरप्रमुख प्रजापतिले बताए । बैठकले २०७२ वैशाखको भूकम्पबाट क्षतिग्रस्त मालती चोकको पश्चिम तर्फको भवन पुरातत्त्व विभागद्वारा पुनर्निर्माणका लागि ठेक्का भएको भाग निर्माण गर्ने र बाँकी अगाडिपट्टिको भाग युनेस्कोको स्वीकृति प्राप्त भएपछि नगरपालिकामार्फत पुनर्निर्माण गर्ने निर्णय भएको उनको भनाइ छ ।

नगरपालिकाले सिंहध्वाकाका ऐतिहासिक प्रमाण तथा चित्रहरू संकलन गरी सम्पदाकै रूपमा संरक्षण गर्न विस्तृत नक्सा डिजाइनसहित विज्ञबीच छलफल गरेको जनाएको छ । छलफल र अध्ययनको निचोडअनुसार दरबारको सम्पूर्ण भाग मल्लकालीन शैलीमा पुनर्निर्माण गर्न मन्त्रालय र विभाग सहमत भएको समेत नगरप्रमुख प्रजापतिले बताए ।

सिंहध्वाका पुनर्निर्माणको विनियोजित बजेट नगरपालिकाको बैंक खातामा जम्मा गरी नगरपालिका र पुरातत्त्व विभागको संयुक्त पहलमा उपभोक्ता समितिमार्फत पुनर्निर्माण गरिने नगरपालिकाले जनाएको छ । सिंहध्वाका पुनर्निर्माणका लागि भ्याटसहित ६ करोड ९३ लाख ६९ हजार २ सय ४९ रुपैयाँ विनियोजित भएको जनाइएको छ ।

सिंहध्वाका दरबार नेपाल संवत् ८१८ मा राजा भूपतीन्द्र मल्लले निर्माण गराएका हुन् । विभिन्न कालखण्डमा पुनर्निर्माण जीर्णोद्धार गरिएको दरबार, मालती चोक प्रवेशद्वार दरबारको रूपमा हाल राष्ट्रिय कला संग्रहालय छ ।

सिंहध्वाकालाई ‘न्हयकं झ्या:’ दरबारको नामले पनि चिन्ने गरिन्छ । यसको प्रवेशद्वारमा जोडा सिंहबाट पश्चिमतर्फ मल्लकालीन शैली र पूर्व अर्थात् स्वर्णद्वारतर्फ चुनले पोतेको राणाकालीन शैलीको दरबार छ ।

प्रकाशित : भाद्र १४, २०७५ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?