कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

ललितपुरमा पनि बिचौलियाको उस्तै बिगबिगी

प्रशान्त माली

ललितपुर — चापागाउँ बोहराटारका राधाकृष्ण बोहराले आफ्नो बारीबाट हरियो लसुन र प्याज प्रतिकिलो ४० रुपैयाँमा बिक्री गर्छन् । 

ललितपुरमा पनि बिचौलियाको उस्तै बिगबिगी

त्यही लसुन र प्याजलाई लगनखेलस्थित तरकारी बजारमा उपभोक्ताले प्रतिकिलो १ सय रुपैयाँ तिर्नुपर्छ । बोहराले किलोको ५० रुपैयाँमा बेच्ने धनिया बजारमा डेढ सयदेखि दुई सय, ३० रुपैयाँको साग १ सय र २५ रुपैयाँ पर्ने बन्दा ८५ रुपैयाँमा उपभोक्ताले किन्ने गरेका छन् ।


बोहराका अनुसार उनले फलाएका तरकारी बजारसम्म पुर्‍याउन प्रतिकिलो ३ रुपैयाँ लागतले पुग्छ । ‘उपभोक्तासम्म पुर्‍याउँदा १० रुपैयाँ मात्र नाफा खाए पुग्छ,’ उनले भने, ‘बिचौलियाले ५० प्रतिशतभन्दा बढी नाफा खाइरहेका छन् ।’ बारीसम्मै आउने व्यवसायीले जति रकम दिए, किसान त्यतिमै सन्तुष्ट हुनुपर्ने बाध्यता रहेको उनी सुनाउँछन् ।


बिचौलिया हाबी हुँदा उपभोक्ता मात्र नभई किसान पनि मर्कामा छन् । किसानले उब्जनी गरेको तरकारी तीन तह पार भएर मात्र उपभोक्तासम्म आइपुग्ने गर्छ । दक्षिण ललितपुरका किसान चापागाउँस्थित तरकारी संकलन केन्द्रमार्फत आफ्नो उत्पादन बिक्री गर्छन् ।


संकलन केन्द्रबाट राजधानी तरकारी पठाउने व्यापारीले प्रतिकिलोमा कम्तीमा १० रुपैयाँसम्म नाफा लिने गरेको कृषकहरू बताउँछन् । उनीहरूका अनुसार तरकारीमा सबभन्दा बढी नाफा थोक बिक्रेताले लिने गरेका छन् ।


तत्कालीन जिल्ला कृषि कार्यालयका प्रमुख भरतप्रसाद देवकोटा भन्छन्, ‘सरकारले कृषि कार्यालय खारेज गरी नयाँ कार्यालयको व्यवस्थापन गर्न नसक्दा किसानलाई बजार व्यवस्थापन गरिदिनेलगायत योजना अलपत्र परेको छ ।’ ललितपुरबाट लेले–चन्दनपुर सडक भएर गोटीखेल, शंखु, बुखेल, नल्लु, भारदेउ, चौघर, ठुर्लादुर्लङ, कालेश्वरीबाट सिजनमा दैनिक ३० हजार किलोको हाराहारीमा तरकारी बजारमा आउँछ ।


अफसिजनमा भने ९ हजार किलो आउँछ । भट्टेडाँडा, गिम्दी, आश्राङ, प्युटार, माल्टा, घुसेलबाट सिजनमा दैनिक १० देखि १५ हजार किलो र अफसिजनमा ९ हजार किलोसम्म आउँछ । ललितपुरको दक्षिणी भेगमा करिब ६० प्रतिशत कृषक दूध र तरकारी व्यवसायमा आबद्ध छन् ।

यो पनि पढ्नुहोसः

भान्सासम्मै सिन्डिकेट : बिचौलियाले ५ पटकसम्म मूल्य थप्छन्

कालीमाटी तरकारी बजार अनुगमनमा गएकाे टोली र व्यापारीबीच विवाद

प्रकाशित : भाद्र ४, २०७५ २०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?