१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

बल्ल अन्डरपास

कोटेश्वर, मित्रपार्क र नयाँबानेश्वरमा पनि बनाइने
दीपेन्द्र विष्ट

काठमाडौँ — कलंकी चोकमा शुक्रबार भेटिएका ट्याक्सीचालक वसन्त लामा अन्डरपास (भूमिगत बाटो) ले ट्राफिक जाममा कमी आउनेमा ढुक्क देखिन्थे । ५ वर्षदेखि ट्याक्सी चलाउँदै आएका उनी कलंकीदेखि कालीमाटीसम्म दैनिक हुने ट्राफिक जामले आजित भइसकेका थिए ।

बल्ल अन्डरपास

‘अब त ट्राफिक जाम कम होला,’ १० मिनेटको बाटो पनि नभए पनि कालीमाटीदेखि कलंकी पुग्न करिब १ घण्टा लाग्ने गरेको उनको अनुभव छ । सडक पूर्वाधार निर्माणमा मुलुककै पहिलो ‘अन्डरपास’ निर्माण सम्पन्न भएपछि लामाजस्ता धेरै चालक तथा यात्रुलाई सुबिस्ता हुने अनुमान छ । अत्यधिक जाम हुने कलंकी–नागढुंगा, कलंकी–सीतापाइला, कंलकी–कालीमाटी र कंलकी–बल्खु क्षेत्रमा अब अन्डरपासका कारण जाम नहुने लामाको पनि विश्वास छ । अन्डरपास शुक्रबारदेखि सञ्चालनमा ल्याइएको सडक विभागका प्रवक्ता मुक्ति गौतमले जानकारी दिए ।

‘अरू ठाउँमा समेत अन्डरपास निर्माण गर्दै छौं,’ उनले भने, ‘उपत्यकामा जाम कम गर्न अन्डरपास निकै आवश्यक छ ।’ चक्रपथको मित्रपार्क र कोटेश्वर तथा नयाँबानेश्वरमा अन्डरपास आवश्यक भएको गौतमले बताए । कोटेश्वरमा अन्डरपास निर्माण गर्न अर्थमन्त्रालयमार्फत् जापान सरकारलाई अनुरोध गर्न लागिएको उनले बताए । ‘नयाँबानेश्वरमा खानेपानीको पाइप तथा ढलका कारण केही समस्या हुन सक्छ,’ उनले भने, ‘तर कोटेश्वरमा चाँडै निर्माण हुन्छ ।’


उपत्यका ट्राफिक महाशाखाले कंलकी क्षेत्रलाई उपत्यकाको सबभन्दा बढी ट्राफिक जाम हुने स्थानमा राखेको थियो । ‘अब त जाम घट्ला,’ उपत्यका ट्राफिक महाशाखाका प्रमुख वसन्त पन्तले भने, ‘यस क्षेत्रमा ट्राफिक प्रहरीले केही राहत पाउँछन्, ।’ मुलुककै लाइफ लाइन मानिएको कंलकी–नागढुंगा क्षेत्रको ट्राफिक जाममा कमी आउने उनले बताए ।

चीन सरकारको अनुदान सहयोगमा निर्माण भइरहेको कोटेश्वर–बल्खु–कलंकी चक्रपथ सुधार आयोजनाअन्तर्गत अन्डरपास निर्माण भएको हो । कलंकी चोकमा निर्माण सम्पन्न भएको ४ लेनको अन्डरपास ८ सय मिटर लामो छ । योसँगै कोटेश्वर–बल्खुपुल–कलंकी कम्तीमा १० किलोमिटर लामो सडकलाई ८ लेनमा विस्तार गर्ने काम पनि अन्तिम चरणमा पुगेको छ ।

५ अर्ब रुपैयाँ अनुदान सहयोगमा चक्रपथको पहिलो खण्ड विस्तारको काम भएको हो । चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सनले अन्डरपास निर्माण गरेको हो । सन् २०१७ जनवरीमा सम्पन्न हुने सम्झौता गरे पनि भूकम्प र भारतको नाकाबन्दीका कारण निर्माण एक वर्षपछि धकेलिएको हो ।

हाल थानकोटबाट आउने सवारीसाधन कालीमाटीतर्फ जान र बल्खुबाट आएका साधन सीतापाइलातर्फ मोडिँदा ट्राफिक जाम हुने गर्छ । अब अन्डरपास चक्रपथतिर जाने सवारीसाधनले प्रयोग गर्नेछन् । चार लेनमा निर्माण भएको अन्डरपासको २ लेन बल्खुबाट सीतापाइलातिर जान र २ लेन सीतापाइलाबाट बल्खुतिर जान प्रयोग गरिएको छ । चक्रपथ परिक्रमा गर्दा अब कलंकी चोकमा रोकिनु पर्दैन । कालीमाटीतिरबाट थानकोट जान र आउन अन्डरपासमाथि निर्माण भएको सडक प्रयोग गरिएको आयोजनाले जनाएको छ ।

अन्डरपासको दायाँ र बायाँ सहायक दुई/दुई लेनको सडक निर्माण गरिएको छ । त्यसैगरी कोटेश्वर–कलंकी १० दशमलव ४ किलोमिटर सडकखण्ड विस्तारको कार्य अन्तिम चरणमा पुगेको प्रवक्ता गौतमले बताए ।


बल्खु–कोटेश्वर खण्डमा आठ लेनमै कालोपत्रे भइसकेको उनले बताए । बल्खु–कलंकी क्षेत्रमा धमाधम काम भइरहेको उनले बताए । ‘दुई महिनाभित्र सबै काम सम्पन्न हुन्छ,’ उनले भने, ‘अब चक्रपथको कलंकी–महाराज खण्डको विस्तारको काम पनि सुरु हुन्छ ।’ आगामी असोजदेखि कलंकी–महाराजगन्ज ८ दशमलव २ किलोमिटर खण्डको काम अघि बढाउन चीन र नेपाल सरकारकाबीच द्विपक्षीय सम्झौता भइसकेको छ ।

अहिले उक्त खण्डको सडक सीमाभित्र पर्ने संरचना, घर, टहरा, खानेपानी, विद्युत्, टेलिफोनलगायत पोल हटाउने काम भइरहेको छ । चीन सरकारको ६ अर्ब रुपैयाँ अनुदानमा सडक विस्तार गर्न लागिएको गौतमले बताए ।

प्रकाशित : भाद्र २, २०७५ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?