कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

माटो थुपार्नाले बस्तीमा धोबीखोला

लीला श्रेष्ठ

काठमाडौँ — व्यवस्थित सहरीकरणका लागि बस्ती बीचको खोला किनारमा सडक, फुटपाथसहित करिडोर निर्माण गरियो । करिडोर निर्माणको सही सदुपयोग हुन भने हुन सकेन ।

माटो थुपार्नाले बस्तीमा धोबीखोला

करिडोर निर्माणपछि खोलाको प्राकृतिक बाटो साँघुरिनुको साथै कंक्रिट थुपारिएपछि पानी निर्बाध बग्न नपाउँदा धोबीखोला डुबानमा परेको स्थानीय बासिन्दा बताउँछन् ।

‘करिडोर निर्माण गर्दा थुप्रिएको माटो पन्छाएको छैन, माथिदेखि बग्दै आएको माटो त्यसैमा थुप्रिएको छ,’ काठमाडौं महानगरपालिका–२९ अनामनगरका तुल्सीबहादुर डंगोलले भने, ‘खोलामै फोहोर थुपारिएको छ ।’ खोलाको प्राकृतिक बहाव क्षेत्र मिचेर करिडोर निर्माण गरेको समेत उनले बताए ।

वाग्मती–धोबीखोला दोभानबाट राममन्दिरसम्मको करिब १२ किलोमिटर करिडोर निर्माणको कार्य अन्तिम चरणमा पुगेको धोबीखोला करिडोर निर्माण आयोजनाले जनाएको छ । आयोजना प्रमुख श्रेष्ठका अनुसार धोबीखोला करिडोर निर्माण दुई वर्षभित्र सक्ने लक्ष्य छ । वर्षभरि थुप्रिएको माटो, बालुवा वर्षामा एकैपल्ट माथिदेखि बग्दै आउँदा खोलाको सतह बढ्दै आएकाले पनि डुबानको समस्या बढ्दै आएको उनको भनाइ छ । फोहोर र माटोका कारण खोलाको सतह पाँच फिटभन्दा माथि बढेको स्थानीय बताउँछन् ।

आयोजना प्रमुख श्रेष्ठका अनुसार धोबीखोलामा निर्माणाधीन आर्कब्रिज निर्माणले पानी थुनिँदा त्यसको असर अनामनगर, थापागाउँलगायतको बस्तीमा परेको हो । मंगलबार राति परेको वर्षापछि धोबीखोलामा पानीको बहाव बढेसँगै बस्तीहरू डुबानमा परेका छन् । ‘आर्कब्रिज ढलान गर्न खोलामा राखेको फलामका खम्बाहरू निकालेको छैन,’ उनले भने, ‘आर्कब्रिजलगायत पुल निर्माण गर्न खोलामा माटो थुपारिएको छ ।’ खोलाको बीचमा माटो थुप्रिएर पानीले प्राकृतिक बाटो नपाउँदा बस्ती जोखिममा परेको उनी बताउँछन् ।

डुबानले सास्ती
अनामनगरका माधव गौतमलाई मंलबार राति ओछ्यानसम्म छिरेको पानीले ब्युँझायो । उनी मात्र ब्युँझिएनन् ‘युवा ब्वाइज होस्टल’ को भुइँतलामा सुतेका विद्यार्थीहरू ब्युँझिए । ‘आफ्नो भन्दा होस्टेलमा बस्ने विद्यार्थीहरूको बढी चिन्ता लाग्यो,’ उनले भने, ‘भुइँतलामा बस्नेहरूलाई माथिल्लो तलामा सार्‍र्यौं, केही सामान निकाल्न पाइएन ।’ ओड्ने/ओछ्याउनेलगायत सामानहरूमा काम नलाग्ने गरी क्षति पुगेको उनी बताउँछन् । माधवले सञ्चालन गरेको होस्टेल, होटल, जिम सेन्टरलगायतमा पसेको बाढीको फोहोर सफा गर्न ३२ हजार रुपैयाँ पारिश्रमिक नै तिर्नुपरेको र डुबानमा करिब ४ लाख रुपैयाँ बराबरको सामानमा क्षति पुगेको उनले बताए ।

त्यस्तै, बिहीबार दिउँसो बाढीसँगै बगेर आएको फोहोर सफा गर्नमा व्यस्त अनामनगरकै तुलसीबहादुर डंगोल हताशमा देखिन्थे । ‘नयाँ घर बनाउन ल्याएको २ सय ५० बोरा सिमेन्ट भिजेर एक ढिक्का भयो,’ उनले भने, ‘रुद्रमती/धोबी खोला किनारमा अवस्थित घरको भुइँतलामा स्टोर गरेको सबै सामान डुबानमा परेर क्षति भयो ।’

अविरल वर्षासँगै रुद्रमती/धोबी खोलामा आएको बाढीले बानेश्वर, अनामनगरलगायत खोला किनाराको बस्ती डुबानमा पर्‍यो । खोला किनारको घर, पसल, कलेज, स्कुल, प्रेस, कार्यालयहरूमा दुई/तीन फिटसम्म बालुवा, माटोलगायत फोहोर जमेको छ । बाढीसँगै आएको माटो, बालुवा, हिलो दुई दिन सफा गर्दा पनि नसकिएको स्थानीय बासिन्दा बताउँछन् ।

बिहीबार खोला किनारका स्थानीय पम्पसेट, मोटरबाट पानी फाल्न र हिलो माटो पन्छाउन व्यस्त देखिन्थे । डुबानले अनामनगर, देवीनगर, बिजुली बजार, रुद्रमती क्षेत्र प्रभावित भएको छ । धोबी खोला किनारका सुकुम्बासी बस्तीमा बसोबास गर्नेको बिचल्ली भएको छ ।

प्रकाशित : भाद्र १, २०७५ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?