सरकारी सहयोगमा ठूला बस

गाडी सञ्चालन हुने रुट: पहिलो चरणमा बालाजु–नयाँ बसपार्क–सामाखुसी–लैनचौर–मैतीदेवी हुँदै सिनामंगल
दोस्रो चरणमा महाराजगन्ज–कीर्तिपुर रुट
६१ टेम्पो तथा माइक्रोबस विस्थापित
दीपेन्द्र विष्ट

काठमाडौँ — सिन्डिकेट अन्त्यसँगै सरकारले काठमाडौंमा अत्याधुनिक बस सञ्चालनमा ल्याएको छ । नगर विकास कोषको ऋण तथा अनुदानमा झिकाइएका १७ ठूला एवं अत्याधुनिक बस मंगलबारबाट सञ्चालनमा ल्याइएको हो ।

सरकारी सहयोगमा ठूला बस

पहिलो चरणमा बालाजु–नयाँ बसपार्क–सामाखुसी–लैनचौर–मैतीदेवी हुँदै सिनामंगल रुटमा बस सञ्चालन गर्ने नगर विकास कोषअन्तर्गतको दीगो सार्वजनिक यातायात कार्यक्रम प्रमुख सुमनमेहर श्रेष्ठले जानकारी दिए । बस सेवाका लागि कोषले नमुनाका रूपमा २ रुटमा अध्ययन गरेको थियो ।


पहिलो चरणमा बालाजु–सिनामंगलमा यी बस सञ्चालन गर्ने र यी रुटका ६१ टेम्पो तथा माइक्रोबस भने विस्थापित हुनेछन् । माइक्रो र टेम्पो सञ्चालकलाई विशेष राहत प्रदान गर्दै उनीहरूकै संलग्नतामै कम्पनी खोली बस चलाउ थालिएको हो । कम्पनीको नाम ‘दिगो सार्वजनिक यातायात प्रालि’ राखिएको छ । विस्थापित टेम्पो तथा माइक्रोले सार्वजनिक यातायातका रूपमा चल्न पाउने छैनन् ।


सार्वजनिक यातायातलाई दीर्घकालीन, प्रविधि र वातावरणमैत्री बनाउने जनाउँदै कोषले ५२ सिटे ठूला बसमा सहयोग गर्न लागेको हो । श्रेष्ठका अनुसार यस प्रयोजनका लागि कम्पनी स्थापना गरिएको छ । उक्त कम्पनीलाई कोषले ९५ प्रतिशत सहयोग उपलब्ध गराउनेछ, त्यसमध्ये ८० प्रतिशत ऋण र १५ प्रतिशत अनुदान हुनेछ ।


काठमाडौं दिगो सहरी यातायात आयोजना (केएसयूटीपी) अन्तर्गतको सार्वजनिक यातायात सुधार कार्यक्रमले उपत्यकाका २ रुटमा ठूला बस चलाउन १ वर्षअघि सम्भाव्यता अध्ययन गरेको उनले बताए । विभिन्न चरणमा यी रुटमा गाडी चलाउने तयारी भए पनि सिन्डिकेट हटाएको माहोलमा प्रक्रियालाई तीव्रता दिइएको हो ।


‘बाँकी ५ प्रतिशत गाडीधनीले सम्पत्ति देखाउनुपर्छ,’ उनले भने, ‘८ वर्षका लागि ५ प्रतिशत सहुलियत ऋणमा लगानी गरिदिन्छौं, कुनै गाडीधनी विस्थापित हुनु पर्दैन ।’ त्यसपछि गाडीधनीले नै यी सवारीको स्वामित्व पाउनेछन् । ‘जति पैसा उठ्छ, पहिले बैंकले नगर कोषको खातामा ट्रान्सफर गर्छन् अनि मात्र कम्पनीले बाँकी पैसा चलाउन पाउनेछन्,’ प्रमुख श्रेष्ठले भने ।


कोषमा आएको रकम पुन: दिगो सार्वजनिक यातायातकै क्षेत्रमा खर्च गरिने उनले बताए । ‘प्रदूषण न्यूनीकरणका लागि ठूला युरो फोर मापदण्डका बस सञ्चालनमा ल्याउन लागेका छौं,’ उनले भने, ‘नमुनाका रूपमा सफल भए अन्य नगरपालिकामा पनि लागू गर्छौं । अपांगमैत्री, प्रविधिमैत्री यी बसमा वाईफाई, जीपीएस पद्धति तथा ई–टिकेटिङको व्यवस्था गरिनेछ । विभिन्न स्थानमा बस स्टेसनसमेत बनाइने कोषका कार्यक्रम प्रमुख श्रेष्ठ बताउँछन् ।


यस प्रालिले यातायात व्यवस्था विभागसँग पहिलोपल्ट सञ्चालनको लिखित सम्झौता गरेको छ । ‘निश्चित स्टपमा पुग्ने समय यसले पालना गर्नैपर्छ,’ श्रेष्ठले भने, ‘तोकिएको क्षमताभन्दा बढी यात्रु बोक्नसमेत पाउने छैन । कन्ट्रोल रुमले बसको व्यवस्थापन गर्छ, जीपीएसले कता पुगेको छ भनेर यात्रुलाई एप्समार्फत मोबाइलमा देखाउँछ ।’


आधारभूत सामाजिक सेवा र आयमूलक आयोजनामा लगानी गर्दै आएको कोषले अब सार्वजनिक यातायातमा पनि साथ दिने उनले बताए । बाटो, सडक, बत्ती, पुल, खानेपानी, ढल निकास, फोहोरमैला संकलन, सार्वजनिक शौचालय, सार्वजनिक पुस्तकालय, विद्यालयलगायतमा सार्वजनिक उपयोग गर्ने गरेको उनले बताए । त्यसैगरी सार्वजनिक बजार, व्यापार केन्द्र, बसपार्क, पशु वधशाला, गोदाम घर तथा अन्य आयमूलक क्षेत्रमा पनि काम गर्दै आएको उनले बताए ।


‘पहिलोपटक सार्वजनिक यातायातमा लगानी गरेका छौं,’ उनले भने, ‘केही दिनभित्रै अर्को रुट महाराजगन्ज–कीर्तिपुरका लागि अध्ययन गर्दै छौं ।’ सार्वजनिक यातायात सुधारका लागि यसमा एसियाली विकास बैंक र विश्व वातावरण कोषले आर्थिक सहयोग गरेको उनले बताए । १७ बस किन्न कोषको ३८ करोड रुपैयाँ परेको छ ।

यो मोडल अन्य सहरमा पनि : मन्त्री
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बस सेवाको मंगलबार उद्घाटन गर्दै सार्वजनिक यातायातलाई विश्वसनीय र भरपर्दो बनाउने बताएका छन् । मुलुकभर अब ठूला बस सञ्चालनमा ल्याइने भन्दै मन्त्री महासेठले यिनीहरू नमुनाका रूपमा सञ्चालनमा ल्याएको बताए । ‘सार्वजनिक यातायातलाई भरपर्दो र विश्वनीय बनाउन जरुरी छ,’ उनले भने, ‘सरकारमा यसमा अघि बढिसेकेको छ ।’


साना सवारीसाधन विस्थापित गरी ठूला बस सञ्चालन ल्याउन जरुरी भएको उनले बताए । ‘वातावरणमैत्री बस सञ्चालनमा ल्याउनै पर्छ, त्यसका लागि सबै पक्षले ध्यान दिनैपर्छ,’ उनले भने, ‘अन्य सहरमा पनि यो मोडल लागू गर्नु आवश्यक छ ।’


प्रकाशित : श्रावण ३०, २०७५ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?