मुगाको कारोबार गर्ने विदेशीसहित तीन पक्राउ

रासस

काठमाडौँ — महानगरीय प्रहरी परिसर काठमाडौँले मुगाको अवैध कारोबार गर्ने विदेशी नागरिकसहित तीन जनालाई पक्राउ गरेको छ । 

परिसरको टोलीले काठमाडौँ महानगरपालिका–२६ होटल काठमाडौँ इकोमा बसेर मुगाको कारोबार गर्ने यमनका ४३ वर्षीय अल अस्री मोहामे याहा याहा, मुगुका ५१ वर्षीय ग्याल्पु तामाङ र जुम्लाका ३० वर्षीय नवीन चौलागाईँलाई शनिबार पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

प्रहरीले अभियुक्तसँग आठ किलोग्राम मुगा, पाँच हजार २०३ अमेरिकन डलर, एक हजार ४०० यमन मुद्रा, ७५० इजिप्ट मुद्रा, ४९३ चिनियाँ मुद्रा, २६० यमन मुद्रा, २६० थाइल्याण्ड मुद्रा, २७ ओमन मुद्रा र २० सुडानको मुद्रा बरामद गरेको छ ।

परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनकुमार थापाले ठमेलमा बसेर विभिन्न देशका व्यक्तिलाई अवैधरुपमा मुगाको व्यापार गर्दै आइरहेको अनुसन्धानमा खुलेको जानकारी दिए । पक्राउ परेका तीनैजनाको थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।

प्रकाशित : श्रावण २७, २०७५ २०:४३
प्रतिक्रिया
पठाउनुहोस्

पाल्पामा २८ घर पहिरोको जोखिममा 

माधव अर्याल

पाल्पा — जिल्लाको रम्भा गाउँपालिका-१ हुँगी सुवेदीटोलका २८ घरपरिवार पहिरोको जोखिममा परेका छन् । साउन २० गते आएको अविरल वर्षापछि यहाँका सिंगो सुवेदी गाउँ र त्यस वरपरका वस्ती माथिबाट बगेको पहिरोको जोखिममा परेको हुन । 

झण्डै १२ घण्टासम्म निरन्तर पहिरो बगेको थियो। माथिल्लो भागमा खनेको सडकका कारण डाँडाबाट बग्दै आएको रुख र ढुंगामाटो लेदोका कारण गाउँ नै जोखिममा परेको वडा सचिव तथा स्थानीय बासिन्दा रामकृष्ण सुवेदीले बताए। उनका अनुसार बस्तीमाथिको भीर र जंगल रहेको स्थानमा मोटरबाटो खन्दा तल्लो भेगका बासिन्दालाई जोखिममा पारेको हो। अहिले पानी बग्ने नाली बनाएर बस्तीलाई तत्काल जोगाउने प्रयास गरेको उनले बताए।

जंगल र ठाडो भीरमा धेरै घुम्ती बनाएर खनेको मोटरबाटोले सिंगो बस्तीलाई जोखिम निम्त्याएको छ। माथिल्लो भागबाट जंगलका रुख, लेदो माटो र डोजर प्रयोग गरी खनेको ढुंगामाटो बगाएर ल्याएपछि सिंगो बस्ती जोखिममा छ। मोटरबाटो खन्दा ग्रेड नमिलाएपछि दुई खोल्साबाट रुखसहित बगेर आउँदा दुई तिर भंगालो परेको स्थानीय दामोदर प्रसाद सुवेदीले बताए। पहिरोको पीरले रातभर सुत्न नसकिएको उनीहरुले बताए। ठाडै भीरमा जंगल छ। त्यही जंगलमा धेरै घुम्ती निकालेर सडक खनेकाले अहिले विपद् निम्तिएको हो।

पहिरोले स्थानीयको खेत, बारी पुरेको छ। केही घरमासमेत लेदो माटो गएको छ। कतिपयको घर र गोठमा क्षति पुगेको छ। अधिकांश घरलाई क्षति पुग्नेगरी जोखिम झन बढेको छ। स्थानीय दुर्गा सुवेदीका अनुसार यस्तो आपत भूकम्प आउँदा पनि भएको थिएन। त्रासैत्रासले भएको भैसी बिक्री गरेका छन। स्थानीयले घरमा सामान राख्नसमेत डराएका छन। पहिरो गएपछि बालबालिका, ज्येष्ठ नागरिक बढी त्रासमा छन। अहिले पनि रातीमा सुत्नसमेत सकेका छैनन्। उनीहरुले अझै पनि त्रासबाट मुक्त छैनन्।

रम्भा गाउँपालिका, १ र २ जोड्ने सेतीपोखरी–सानोचौपारी–ठूलोथुम्की हुँदै फोक्सिङ्गडाँडा जाने मोटरबाटो खन्दा विपत्ति निम्तिएको हो। यहाँको एक मोड बाहेक सबै स्टिमेट अनुसार नै खनिएको मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष लक्ष्मणबहादुर पछाईले दाबी गरे। सुवेदी टोलका रामकृष्ण, शिवप्रसाद, तारानाथ, सरोज, दामोदर सुवेदीको घर बढी जोखिममा छ। तल्लो भागका जनार्दन सुवेदी, प्रेमबहादुर, नेत्रबहादुर, डम्बरबहादुर, रामबहादुर, रामचन्द्र, भरतबहादुर, अर्जुनबहादुर, जयबहादुर, कृष्णबहादुर, निरबहादुर, धनबहादुर, लक्ष्मणबहादुर पछाई घरपनि जोखिममा छ।

लिलाम्बर विक, सुनिता विक, इमानसिंह जर्घा, मोतीलाल न्यौपाने, कला कार्की, रन्जु कामी, सन्तबहादुर विक, तोलबहादुर राना, ओमबहादुर मश्राङ्गी, कुलबहादुर रानाको घरसमेत पहिरोको जोखिममा छ।

रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले सिंगो गाउँमा विपद् आइलागेकाले प्रभावित क्षेत्रमा तत्काल निरीक्षण गरेको बताए। गाउँपालिकाबाट इन्जिनियर र ओभरसियरको निर्देशन अनुसार नै बाटो खनेको उनले बताए। यहाँ १७ लाखले बाटो खनिएको हो। आगामी दिनमा ठूला मेशिन प्रयोग नगर्ने र साना मेशीनरी औजार प्रयोग गर्दै नाली बनाएर काम अघि बढाउने उनले बताए। हुँगी प्रहरी चौकी प्रमुख रामानन्द यादवले प्रहरी, प्रशासनमा यस विषयमा जानकारी गराइसकेको बताए। स्थानीय नारायण भट्टराईले विपद्मा सहयोग गर्न ४० जना युवाले श्रमदान गरेर सघाएको बताए।

प्रकाशित : श्रावण २७, २०७५ २०:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्