बानेश्वर क्षेत्रका होस्टलमा प्रहरी अनुगमन

रासस

काठमाडौँ — वानेश्वर क्षेत्रमा सञ्चालित होस्टल (छात्रावास) लाई मर्यादित र व्यवस्थित बनाउन सचेतनात्मक अभियान सुरु गरिएको छ । 

बानेश्वर क्षेत्रका होस्टलमा प्रहरी अनुगमन

महानगरीय प्रहरी वृत बानेश्वरको अगुवाइ तथा स्थानीय जनप्रतिनिधि, होस्टल एशोसिएशनका प्रतिनिधि, सामुदायिक सेवा केन्द्र र टोल सुधार समितिको संयुक्त टोलीले अनुगमन गरिएको हो । बानेश्वर तथा आसपास क्षेत्रमा सञ्चालित होस्टलमा विकृति देखिएको, अमर्यादित गतिविधि, होहल्ला, झैझगडा, दुव्र्यसनी सेवन आदिको जनगुनासो र उजुरीका आधारमा होस्टलको विकृति नियन्त्रण गर्न अभियान चलाएको बानेश्वर प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) गोविन्दराज काफ्लेले जानकारी दिए ।


‘बानेश्वरको टोल–टोलमा प्रहरी अभियान’ अन्तर्गत होस्टलको संयुक्त अनुगमन गरिएको र त्यहाँ विकृतिजन्य क्रियाकलाप पाइएको उनले उल्लेख गरे । विभिन्न ३९ वटा कार्यक्रम लक्षित गरी तीन महिने अभियान गत साउन १ गतेदेखि शुरु भएको थियो । हालसम्म १० वटा कार्यक्रम सम्पन्न भएको वृत्तले जनाएको छ ।


अनुगमनअन्तर्गत शुक्रबार बानेश्वरका केही होस्टलका श्ययामा गाँजा, तास, परिवार नियोजनका अस्थायी साधनलगायत विकृतिजन्य सामग्री फेला परेको प्रहरीले जनाएको छ । धेरै होस्टल दर्ता नगरी सञ्चालनमा रहेको र कतिपय होस्टलले दर्ता भए पनि नवीकरण नगरेको पाइएकाले तीनलाई ताकेता गर्न सम्बन्धित वडा कार्यालयले जिम्मेवारी लिनेछन् ।


अनुगमनमा अमर्यादित गतिविधिमा संलग्न व्यक्ति र सञ्चालकलाई एक पटकका लागि सचेत गराएर छाडिएको प्रहरी नायब उपरीक्षक काफ्लेले बताए । होस्टललगायत अन्य क्षेत्रमा भएको विकृति हटाई मर्यादित समाज निर्माणको अभियानलाई निरन्तरता दिइने उनको भनाइ छ ।


होस्टल एशोसिएशनको तथ्याङ्कअनुसार बानेश्वर क्षेत्रमा ३०० वटा होस्टल सञ्चालनमा छन् । विगतमा पनि ती क्षेत्रमा सञ्चालित होस्टलमा झैँझगडालगायत अमर्यादित गतिविधि भएको आधारमा प्रहरीले छापा मारेको थियो ।

प्रकाशित : श्रावण २५, २०७५ २१:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?