कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

एचआईभी संक्रमित तेस्रोलिंगी बढ्दै

फातिमा बानु

काठमाडौँ — तेस्रोलिंगी महिला तथा पुरुष र समलिंगीहरू एचआईभीलगायतका यौनजन्य सरुवा रोगको उच्च जोखिममा रहेको एक अध्ययनले देखाएको छ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले गत असारदेखि चैतसम्म एचआईभी जोखिममा परेका समूहको जैविक र व्यावहारिक अनुसन्धानमा यस्तो देखिएको हो ।

एचआईभी संक्रमित तेस्रोलिंगी बढ्दै

केन्द्रले तराईका २२ जिल्लामा गरेको सर्वेक्षणमा पुरुष समलिंगी र तेस्रोलिंगीमा एचआईभीको व्यापकता दर आठ प्रतिशतभन्दा बढी देखिएको छ । केन्द्रले भारतमा काम गरेर फर्केका आप्रवासी पुरुष, उनीहरूका श्रीमती र महिला यौनकर्मी जस्ता जोखिम समूहबीच यस्तो सर्वेक्षण गरेको थियो ।

अध्ययनअनुसार अरू समूहभन्दा तेस्रोलिंगीमा यौनजन्य संक्रमण भिरिंगीको व्यापकता दर पनि २ प्रतिशतभन्दा बढी देखिएको छ । अरू समूहमा यस्तो संक्रमण भने एक प्रतिशत मात्रै छ । यस्तो समहूमा कन्डमको प्रयोग, एचआईभीसम्बन्धी ज्ञान र परामर्श सेवा पनि कम देखिएको अध्ययनको निष्कर्ष छ । उनीहरूमा रोगको संक्रमण धेरै देखिनुका मुख्य कारण पनि यिनै हुन् । जोखिमका ३ समूहमध्ये तेस्रोलिंगीमा कन्डमको प्रयोग दर ५७ प्रतिशत छ भने महिला यौनकर्मीमा ६७ प्रतिशत देखिएको छ ।

त्यस्तै, सुईद्वारा लागूपदार्थ प्रयोगका कारण पनि कतिपय एचआईभीको जोखिममा परेको अध्ययनमा देखिएको छ । केन्द्रले गत वर्ष गरेको अध्ययनमा लागूपदार्थकर्तामध्ये ३८ प्रतिशतमा हेपाटाइटिस सी देखिएको थियो । हेपाटाइटिस सी संक्रमित सबैमा एचआईभीको जोखिम उच्च हुन्छ ।

विगतमा भन्दा तिनै समूहमा एचआईभीको व्यापकता दर घटे पनि अपेक्षित नतिजा आउन नसकेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. वासुदेव पाण्डेले बताए । उनले भने, ‘यस्ता समूहमा नि:शुल्क कन्डम वितरण प्रभावकारी हुन सकेको छैन, उनीहरूलाई आफ्ना समस्या लिएर सार्वजनिक हुने वातावरण अनुकूल छैन ।’ यस्ता समूहमाथि हुने सामाजिक विभेद हटेमा उनीहरू जोखिमबाट बाहिर निस्कन सक्ने उनको दाबी छ ।

संक्रमितप्रतिको विभेदका कारण उनीहरू आफ्नै थातथलोमा सम्मानका साथ बाँच्ने अधिकारबाट वञ्चित छन् । विभेद खप्न नसकेकै कारण उनीहरू आफ्नै गाउँठाउँबाट पलायन भइरहेका छन् । असुरक्षित यौन सम्पर्ककै कारण यो समूह जोखिममा परेको समलिंगी महिला अधिकारकर्मी सरिता केसी बताउँछिन् । उनी भन्छिन्, ‘रोजगारीको अवसर नपाउँदा उनीहरू यौन पेसामा लाग्न बाध्य छन्, ग्राहकले कन्डम प्रयोन गर्न नमान्दा शरीर जोखिममा पारेर काम गर्छन् ।’ सरकारले यस्ता समूह लक्षित गरी सुरक्षित यौन शिक्षा र जनचेतनाका कार्यक्रम ल्याउनुपर्ने उनको भनाइ छ ।

नेपालमा एचआईभी पत्ता लागेको ३० वर्ष भइसकेको छ । एचआईभी न्यूनीकरणका लागि राज्यले बर्सेनि ठूलो लगानी गर्दै आइरहेको छ । तीन दशक पहिले प्रतिहजारमा एक एचआईभी संक्रमित भेटिन्थ्यो ।

अहिले प्रति ५ हजारमा २ मात्रै संक्रमित भएको केन्द्रको तथ्यांक छ । रोगलाई ठूलो मान्ने सामाजिक मानसिकता, गोपनीयता सुनिश्चित नहुँदा उपचार गर्न हिचकिचाउने, उपचाररत बिरामी बीचैमा हराउने जस्ता विभिन्न कारणले एचआईभी संक्रमण अपेक्षित रूपमा घट्न सकेको छैन । विश्व स्वास्थ्य संगठनका अनुसार संसारभर ३ करोड ६७ लाख एचआईभी संक्रमित छन् । नेपालमा भने ३२ हजार ७ सय ३५ मा यसको संक्रमण छ । महिलाभन्दा पुरुष यो रोगबाट संक्रमित भएको केन्द्रको तथ्यांक छ । यसको ७० प्रतिशत कारण असुरक्षित यौन सम्पर्क नै हो ।

सरकारले संक्रमितलाई नि:शुल्क उपचार र औषधि सेवाको व्यवस्था गरेको छ । यसका लागि देशभर ६८ एआरभी केन्द्र छन् । उक्त केन्द्रबाट नि:शुल्क उपचार पाइन्छ । केन्द्रको तथ्यांकअनुसार संक्रमितमध्ये ४० प्रतशित मात्रै एआरभी उपचारमा संलग्न छन् । सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोला भन्छन्, ‘बिरामीमाथि समाजले त बहिष्कार गरेकै छ, उनीहरू स्वास्थ्यकर्मीबाटै पनि अपहेलित भइरहेका छन् ।’

प्रकाशित : श्रावण ६, २०७५ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?