कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

बागदरबार जोगाउन गुहार

काठमाडौँ — ऐतिहासिक बागदबार काठमाडौं महानगरले मास्न लागेको भन्दै त्यसलाई जोगाउन प्रधानमन्त्री केपी ओलीलगायत निकायमा सम्पदाप्रेमीले गुहारेका छन् । बागदरबार मास्न पुरातत्त्व विभागले काठमाडौं महानगरपालिकालाई दिएको अनुमतिपत्रलाई विज्ञहरूले दुराशयपूर्ण भनेका छन् ।

बागदरबार जोगाउन गुहार

कुनै कालखण्डको महत्त्व दर्साउने सम्पदालाई जोगाउनुपर्ने निकायले भत्काउने अनुमति दिएकामा उनीहरूले आपत्ति जनाएका हुन् ।

‘बागदरबार भत्काउन रोक्न पुरातत्त्व विभाग आफैंले पत्र पठाएको छ,’ पुरातत्त्वविद् भीम नेपाल भन्छन्, ‘फेरि किन भत्काउने अनुमति दियो ? यो पत्रमा विभागको दुराशय देखिन्छ । बागदरबार भत्काउन हुँदैन ।’ बागदरबार नभत्काउन विभाग आफैंले दिएको निर्देशनलाई काट्ने गरी काठमाडौं महानगरपालिकालाई भत्काउन अनुमति दिएको थियो ।

महानगरले बागदरबार भत्काउन २०७४ भदौ २२ मा बोलपत्र आह्वान गरिसेको थियो । पहिलाको बोलपत्र रद्द गरी पुन: अर्काे आह्वान गर्ने तयारी गरेको महानगरपालिकाले जनाएको छ । महानगरले तोकेको समयभित्र कम्पनीका बोलपत्र आह्वान भएका थिए । यससम्बन्धी समाचार सार्वजनिक भएपछि चौतर्फी विरोध भएको थियो । विरोध भएपछि यसलाई भत्काउन पुरातत्त्व विभाग, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रोक लगाएका थिए ।

रोकिएको झन्डै १० महिनापछि विभागले फेरि भत्काउन अनुमति दिएपछि विज्ञहरूले चासो राखेका हुन् । ‘पहिला किन रोक्यो ?’ सम्पदा अभियन्ता सञ्जय अधिकारी भन्छन्, ‘अहिले फेरि किन दियो ? सम्पदा जोगाउने निकायले यसरी आफूखुसी गर्न पाइन्छ ?’ पहिला रोकेको विभागले अहिले प्राचीन स्वरूप नमासिने गरी, प्राचीन निर्माण सामग्री प्रयोग गर्ने गरी निर्माण गर्न अनुमति दिएको छ ।

‘भवनको मौलिक स्वरूपमा परिवर्तन नगरी परम्परागत निर्माण सामग्री प्रयोग गरी, प्राचीन स्मारक संरक्षण ऐन २०१३, प्राचीन स्मारक संरक्षण नियमावली, कार्यविधि, निर्देशिकाअनुसार भत्काउँदा प्राप्त भएका पुन: प्रयोगमा आउन सक्ने सामग्रीहरूको विस्तृत डकुमेन्टेसन तयार पारी उपयुक्त सामग्री प्रयोग गर्ने गरी बागदरबार पुनर्निर्माण गर्ने सहमति प्रदान गर्नेसम्बन्धी विभागीय निर्णयअनुसार कार्य गर्न गराउनु हुन अनुरोध गर्दछु,’ विभागका संग्रहालय अधिकृत पुरुषोत्तम आचार्यले चलानी नं. २६०१ मा लेखेको पत्रमा उल्लेख छ ।

प्रकाशित : असार २९, २०७५ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?