कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पहिरो पन्छाउँदै यात्रा

आनन्द गौतम

ताप्लेजुङ — जेठ पहिलो साता जिल्ला सभामा सहभागी हुन सदरमुकाम फुङलिङ हिंडेका सिदिङवा गाउँपालिका अध्यक्ष नरबहादुर कडरिया पहिरोले सडक अवरुद्ध भएपछि साब्लाखु भन्ज्याङमा डेढ घण्टा रोकिए ।

पहिरो पन्छाउँदै यात्रा

सिदिङवाबाट ताप्लेजुङ र झापाको बिर्तामोड हिंडेका दुइटा ट्याक्सीका यात्रुले पहिरो पन्छाएर सडक खुलाए । एउटै वडाका चार ठाउँमा झरेको पहिरो पन्छाउन यात्रुले झम्पल, मार्तोल र कोदालो प्रयोग गर्नुपरेको थियो । ‘साना ढुंगा झरेकाले सहज भयो, नत्र गाह्रै हुनेरहेछ,’ कडरिया भन्दै थिए, ‘नियमित सञ्चालनका लागि मेसिन नै चाहिने भयो ।’

पहिरो पन्छाउन उपाध्यक्ष जीवन ताम्लिङ पनि पुगेका थिए । मोटरसाइकलमा गएका उनले पनि झम्पल, मार्तल हाने र सडक खुलेपछि आफैंले गाडी चलाएर पहिरो पार गराए । पहिरो पन्छाइरहेका स्थानीय सरकार सञ्चालकसँगै काम गरेका यात्रुले उनीहरूको आलोचना गरेका थिए । त्यसको साक्षी स्वयं अध्यक्ष र उपाध्यक्ष थिए ।

सिदिङवा मात्र होइन जिल्लाका अधिकांश गाउँपालिकालाई बर्खामा नियमित यातायात सञ्चालन चुनौती बनेको छ । एक नगरपालिका र आठ गाउँपालिका रहेको ताप्लेजुङमा कालोपत्रे सडक ३१ किलोमिटर मात्रै छ । ताप्लेजुङ र पाँचथरको सिमाना कावेलीदेखि सुकेटारसम्मको मेची राजमार्गबाहेकको सडक कालोपत्रे छैन ।

कालोपत्रे भएकोमा पनि पहिरो झर्ने, सडक पुर्ने, बगाउने जस्ता समस्या हुने गरेको छ । धुसेनीमा झरेको पहिरोले गतवर्ष एकसाता मेचीराजमार्ग अवरुद्ध भएको थियो । कच्ची सडकमा पनि खाल्टाखुल्टी पार्ने, खोलेसो पार्ने, खहरेखोलाले सडक बगाउने जस्ता समस्या हुन्छ । सिरिजंघा गाउँपालिका अध्यक्ष टीका गुरुङ नियमित सडक सञ्चालन आफ्ना लागि पनि चुनौती रहेको बताउँछन् ।

‘केन्द्र भएको तेल्लोकसम्म त बाहै्र महिना चल्दैन नै, खाम्दिङगे बजारसम्म पनि चलाउने चुनौती छ,’ उनले भने, ‘गाउँपालिका स्वयंले मेसिन खरिद गरेर तैनाथ अवस्थामा राख्ने कि भनेर छलफल गरिरहेका छौं ।’ मेसिन भए अवरुद्ध सडक खुलाउने र यातायात नियमित गराउन सकिने गाउँपालिकाको बुझाइ छ ।

निर्वाचन क्षेत्र ‘क’ मा रहेका सिदिङवा, सिरिजंघा, याङवरक, फक्तालुङ कुनै पनि गाउँपालिका बर्खाभरि यातायात चलाउन सक्ने अवस्थामा छैनन् । यसले सदरमुकाममा बैंकिङ कारोबार गर्न आउनेलाई सबैभन्दा बढी समस्या हुने गरेको छ ।अरू काम गाउँमा भए पनि गाउँपालिकाका उपभोक्ताले बैंकिङ कारोबारका लागि भने सदरमुकाम नै धाउनुपर्छ । तुलनात्मक रूपमा पाथीभरा याङवरक गाउँपालिका अरूको तुलनामा सुरक्षित रहेको छ । गाउँपालिकादेखि खोक्सेखोलासम्मको सात किलोमिटर मात्रै कच्ची सडक छ । त्यो पनि कालोपत्रेका लागि ग्राभेलिङ गर्ने, नाली काट्ने जस्ता तयारी सकिएको छ । पुल नभएको र ठूला खहरेखोला भएकाले फक्तालुङ गाउँपालिका जाने सडक पनि जोखिमपूर्ण छ । तर उत्तर र दक्षिण लोकमार्ग आयोजनाअन्तर्गतको सडक निर्माणको काम भइरहेकाले यो वर्ष यसलाई नियमित गराउन सकिने बुझाइ स्थानीयको छ ।

दोभानमा तमोर नदीमाथिको पुल नबनेकाले निर्वाचन क्षेत्र ‘ख’ का गाउँपालिकालाई भने ढुक्क छ । जनप्रतिनिधिले जनताको आलोचना खेप्नुपर्दैन । सडक नभएका कारण बैंकले भने जान मानिरहेका छैनन । मिक्वाखोला गाउँपालिकामा सडक पुगेकै छैन । दोभानबाट मेरिङदेन, मैवाखोला र आठराई त्रिवेणी गाउँपालिका जोडिए पनि पुलकै कारण यातायात सदरमुकामसम्म जोडिंदैन ।

जिल्लाका अधिकांश सडक साँघुरा छन् । माथिबाट सामान्य पहिरो खसे पुरिहाल्छ भने तलबाट बगाए गाडी चल्नै नसक्ने हुन्छ । जिल्लामा अधिक खहरेखोला भएकाले सडक बगाउने गरेका छन् । सिरिजंघा र सिदिङवा गाउँपालिका केन्द्र जान पाँचथरको सडक प्रयोग गर्नुपर्ने भएकाले पाँचथरसँग पनि समन्वय गर्नु अनिवार्य रहेको छ । पाँचथरको मध्यपहाडी राजमार्ग गणेश चोक, थर्पु भएर इवा र कावेली खोला तर्दै यी केन्द्रमा जानुपर्छ ।

प्रकाशित : जेष्ठ २७, २०७५ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?