विद्यालय पहुँचमा बालबालिका

जिल्लाका २ सय ६२ विद्यालयले आफ्नो सेवा क्षेत्रका सबै बालबालिकालाई भर्ना गराएका छन्
तुलाराम पाण्डे

कालिकोट — यहाँका विभिन्न गाउँ तथा नगरपालिकाका २ सय ६२ विद्यालयले आफ्नो क्षेत्रका सबै बालबालिकालाई भर्ना गराएका छन् । सरकारले आह्वान गरेको विद्यालय भर्ना अभियानअन्तर्गत आधारभूत तह उमेर समूह (कक्षा १ देखि ५) का सबै बालबालिका भर्ना भएका हुन् ।

हिउँदे बिदा हुने यहाँको तिलागुफा नगरपालिका र महाबै गाउँपालिकाका ३५ विद्यालयमा फागुन र अन्यमा वैशाख २ गतेदेखि भर्ना अभियान सञ्चालन गरिएको शिक्षा विकास तथा समन्वय इकाईका विद्यालय निरीक्षक जसीप्रसाद चौलागार्इंले बताए ।

खाडाचक्र, रास्कोट र तिलागुफा नगरपालिका, कालिका, महाबै, सान्नीत्रिवेणी, पचालभरना र पलाता गाउँपालिकाभित्रका २ सय ९४ विद्यालयमध्ये २ सय ६२ वटाले आफ्नो सेवा क्षेत्रभित्रका सबै बालबालिका समेट्न सफल भएका हुन् । केही विद्यालयमा अपांगता भएका र अतिविपन्न परिवारका बालबालिका नसमेटिएको पाइएकाले घरदैलो तथा शैक्षिक सहयोगमार्फत उनीहरूलाई विद्यालय ल्याउने योजना बनाइएको विद्यालय निरीक्षक चौलागाईंले सुनाए ।

नरहरिनाथ गाउँपालिकाअन्तर्गतका लालु, माल्कोट, रुप्सा, कोटवाडा, कुमालगाउँ, शान्नि त्रिवेणीका रकु, मेहेलमुडी, मुम्रा, महाबैका गेला, ओदानकु, तिलागुफा नगरपालिकाका चिल्खाया, राचुली, फोइमहादेव, जुबिथा, छाप्रे, खाडाचक्र नगरपालिकाका मान्म, दाहा, पाखा, कालिका गाउँपालिकाका भर्ता, सुकाटिया, मुग्राहा, रास्कोट नगरपालिकाका सिप्खाना, स्युना र फुकोट, पचालझरनामा पर्ने बदालकोट, राम्नाकोट र नानीकोटका २ सय २३ विद्यालयले सबै बालबालिकाको तथ्यांक लिएर भर्ना सुनिश्चित गरेका हुन् ।

आधारभूत तहमा पहँुच भएका विद्यालयमा कालिका गाउँपालिकाका २४, खाडाचक्र नगरपालिका ३८, नरहरिनाथ गाउँपालिकाका ४२, महाबैका १६, शान्नि त्रिवेणीका ३४, तिलागुफा नगरपालिका ४१, रास्कोट नगरपालिकाका २३, पचालझरनाका २५, पलाताका १८ वटा छन् । घरधुरी, जनसंख्या, विद्यालय जाने उमेर पुगेकाको जनसंख्या र भर्ना भएका बालबालिकाको तथ्यांक संकलन र अद्यावधिकपछि विद्यालयले आफ्नो सेवा क्षेत्रका सबै बालबालिकाको शिक्षामा पहुँच पुगेको उल्लेख गरेका छन् ।

विद्यालयले सेवा क्षेत्रका सबै घरधुरी हिसाब गरी विद्यालय भर्ना भएका, जिल्ला बाहिर गएका र निजी विद्यालयमा पढिरहेका बालबालिकाको संख्या घटाएर तथ्यांक निकालेको स्रोत व्यक्ति रामप्रसाद भुसालले जानकारी दिए । केही विद्यालयले त शतप्रतिशत विद्यार्थी भर्ना भएको औपचारिक घोषणाको तयारी पनि गरिरहेको सहयात्रा परियोजनाका शिक्षा अधिकृत नहकुल न्यौपानेले बताए ।

साबिकका १३ गाविस पूर्ण साक्षर घोषणा भइसकेका छन् । जिल्लाको खुद विद्यार्थी भर्नादर ९८ प्रतिशत छ । यसपटक ९९ पुग्ने शिक्षाको दाबी छ । केही विद्यालयमा बालबालिकालाई प्रविधिसँग जोड्न कम्प्युटर, मल्टिमिडिया सहयोग गरिएको छ । प्रोजेक्टरबाट पढाइ गर्दा बालबालिकाको आकर्षण बढी हुने गरेको मस्टो सरस्वती मावि बुठिगेका प्रधानाध्यापक टेकबहादुर बटालाले बताए । श्रव्यदृश्य कक्षाले विद्यार्थीको नियमित उपस्थिति पनि बढेको छ । दुई वर्षअघि विद्यार्थीको नियमित उपस्थिति ५६ प्रतिशत रहेको जिल्लामा अहिले बढेर ७६ प्रतिशत पुगेको छ । दैनिक विद्यार्थीको उपस्थिति लेखाजोखा गरेर विद्यालयले नियमित नहुनेका घरमा ३ प्रकारका ‘फलोअप’ कार्ड पठाउने गरेको छ । लगातार ३ दिनभन्दा बढी कोही विद्यालय नआए प्रधानाध्यापक आफैं घर पुगेर खोजी गर्छन् ।

विद्यालयले आयोजना गर्ने घोषणामा जिल्लाका सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि, राजनैतिक दलका नेता कार्यकर्ता, सञ्चारकर्मी, शिक्षक, विद्यार्थी तथा अभिभावक सहभागी हुने गरेको बाल अधिकारकर्मी प्रकाश शाहीले बताए । उनले शिक्षा र बाल अधिकारका सवालमा नागरिक समाजका अगुवाले पनि नियमित अनुगमन गरिरहेको जानकारी दिए । नागरिक समाजको पहलमा गत वर्ष अनुगमन गर्दा कतिपय विद्यालयमा भदौसम्म पनि पाठ्यपुस्तक नपुगेको रिपोर्ट सार्वजनिक भएपछि शिक्षा कार्यालयको पहलमा पुस्तक किनेर विद्यार्थीलाई वितरण गरिएको थियो । कतिपयमा दिवा खाजा र छात्रवृत्तिको रकम पनि विद्यार्थीलाई नदिई निजी स्रोतका शिक्षकमा खर्च गर्ने गरिएको छ ।

निजीका शिक्षकलाई गाउँपालिकाको तलब पलाता गाउँपालिकाले निजी स्रोतमा पढाइरहेका शिक्षकलाई गाउँपालिकाकै बजेटबाट तलब दिने निर्णय गरेको छ । दरबन्दी कम भएको विकट पलाता क्षेत्रका बालबालिकालाई गुणस्तरीय शिक्षा दिन निजी स्रोतका शिक्षकलाई गाउँपालिकाले विद्यालयको तहअनुसार १० हजारदेखि २५ हजार रुपैयाँसम्म तलब दिने गरिएको जनाएको छ । यहाँका खिन, धौलागोह र थिर्पूमा २९ वटा आधारभूत र ६ वटा मावि गरी ३५ विद्यालयमा अध्यापन गराइरहेका ७८ जना शिक्षकलाई फागुनदेखि तलब दिइएको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए । ‘विद्यार्थीका नाममा जाने दिवा खाजा, पाठ्यपुस्तकलगायतको रकम दुरुपयोग रोक्न पनि निजी स्रोतका शिक्षकलाई तलब दिन थालिएको हो,’ उनले भने ।

७ हजार ३ सय ६२ जना विद्यार्थी रहेको पलाता गाउँपालिकामा राहत दरबन्दीका ४२ र दरबन्दीका ५३ जना शिक्षक छन् । अन्य निजी स्रोतबाट राखिएका ७८ शिक्षकका लागि असारसम्म ९० लाख रकम गाउँसभाले विनियोजन गरेको छ । कक्षा १ देखि ३ सम्मका शिक्षकलाई १० हजारका दरले, कक्षा ४ देखि ५ सम्म पढाउनेलाई १२ हजार, ६ देखि ८ सम्मकालाई १५ हजार, ९ र १० पढाउनेलाई २० हजार र कक्षा ११–१२ पढाउनेलाई २५ हजार रुपैयाँका दरले गाउँपालिकाले तलब दिने स्रोत व्यक्ति कलबहादुर भण्डारीले बताए । ‘साउनपछि गाउँसभाको निर्णयअनुसार दरबन्दी मिलान तथा विद्यार्थी संख्याका आधारमा शिक्षक व्यवस्थापन गर्ने तयारी भइरहेको छ,’ उनले भने ।

प्रकाशित : जेष्ठ २०, २०७५ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्

भारतीयलाई नागरिकता

विनोद भण्डारी

रंगेली (मोरङ) — रंगेली नगरपालिकाका एक जनप्रतिनिधिले मानव तस्करीमा संलग्न भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाएको खुलासा भएको छ ।

भारत कुर्साकट्टा, डहुआबाडी १३ का मुज्जफर हुसैनलाई रंगेली नगरपालिका–८ का वडाध्यक्ष ढकप्रसाद आचार्यको सिफारिसमा नागरिकता दिइएको हो । उनी एक वर्षदेखि सोही नगरपालिकाको दर्बेसास्थित ठूलोबुबाको घरमा बस्दै आएका थिए । हुसेनलाई इलाका प्रहरी कार्यालय रंगेलीले पक्राउ गरेपछि रहस्य खुलेको हो ।

हुसैनले ठूलोबुबा अवहुल सकर मियाँका छोरा आनाबारुल मियाँलाई बाबु बनाएर नागरिकता बनाएको पाइएको प्रहरीले जनाएको छ । हुसैनलाई नागरिकता दिलाउन वडाध्यक्ष आचार्यले आफूलाई पनि झुक्याएर हस्ताक्षर गराउन लगाएको वडा सदस्य भक्त थापाले दाबी गरेका छन् ।

आचार्यले ३० वर्षीय हुसेनको उमेरसमेत २० वर्ष उल्लेख गरी जन्मदर्ता गराएको पाइएको छ । सर्जमिन मुचुल्कामा वडाध्यक्ष र वडासचिवको मिलेमतोमा गाउँमै नभएका व्यक्तिको फर्जी हस्ताक्षर राखी जन्मदर्ता दिइएको छ । मुचुल्कामा रंगेली ८ बस्ने मरदिन चुरौटे, इमाम चुरौटे, मो. राजाक, बलराम पौद्दार र कृष्णमोहन पौद्दारको हस्ताक्षर छ । उनीहरूमध्ये पोद्दारको हस्ताक्षर फर्जी छ । त्यसैगरी इमामलाई ट्याक्टरको कारोबारको कागज भनी हस्ताक्षर गराइएको स्रोतको दाबी छ ।

भारतको विधानसभा र लोकसभा निर्वाचनको मतदातासमेत रहेका हुसैनले नेपालमा राजा मियाँको नामबाट नागरिकता बनाएका हुन् । बिहारको गत जनवरी १० मा प्रकाशित निर्वाचक नामावलीमा हुसेनको मतदाता परिचयपत्र नम्बर यू.एक्स.बी.१३८०५१८ छ । उक्त परिचयपत्रमा बाबुको नाम मो. हासिम उल्लेख छ ।

घटना सार्वजनिक भएपछि वडाध्यक्ष आचार्य भने कार्यालय बिदा लिएर बसेका छन् । हुसैनलाई इलाका प्रशासन कार्यालय रंगेलीबाट दिइएको नागरिकताको नम्बर ०५०२७४/०४७६२ छ । २०७४ माघ १७ गते जारी नागरिकतामा जन्ममिति २०५४ साल भदौ २३ गते उल्लेख छ । रंगेली–८ मा हुसैनको ससुराली घर छ । करिब १० महिनादेखि ससुराली बस्दै आएका उनी पहिले दिल्ली र मुम्बईमा मजदुरी गर्थे ।

हुसैनले वैशाख २६ गते स्थानीय एक १३ वर्षीय बालिकालाई भारतको गाजियाबाद लगेर बेचेका थिए । पीडित परिवारले आफन्त, प्रहरी र माइती नेपालको सहयोगमा ती बालिकाको उद्धार गरेपछि हुसेन फरार भएका थिए । प्रहरीले उनलाई वैशाख ३० गते पक्राउ गरेपछि नेपाली नागरिकता लिएको खुलासा भएको हो । प्रहरीले उनीविरुद्ध अपहरण तथा शरीर बन्धक अभियोगमा मुद्दा चलाएको छ ।

हुसैन पक्राउ परेलगत्तै वडाध्यक्ष आचार्यले उनको सक्कल नागरिकता लिएर जिल्ला प्रशासन कार्यालयमा बुझाएको बताएका छन् । ‘गल्ती भएछ,’ उनले भने, ‘त्यसैले आफ्नो सिफारिसमा दिइएको नेपाली नागरिकता थुतेर जिल्ला प्रशासनमा बुझाएको हुँ ।’ थुनामा रहेका हुसैनमाथि प्रहरीले नागरिकता विषयमा पनि थप अनुसन्धान थालेको छ ।

प्रकाशित : जेष्ठ २०, २०७५ ०७:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×