कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

जिल्ला अस्पतालमै छैन औषधि

राजबहादुर शाही

मुगु — गर्मीयामको सुरुवातसँगै झाडापखालाका बिरामी बढे पनि जिल्ला अस्पतालमा औषधि अभाव छ । चिकित्सकले ‘प्रेस्किप्सन’ लेखेर बिरामीलाई क्लिनिकमा पठाउन थालेका छन् ।

जिल्ला अस्पतालमै छैन औषधि

छायानाथ रारा नगरपालिकाले खरिद गरिदिएको तीन लाख मूल्यको औषधि सकिएपछि बिरामीलाई क्लिनिकमा पठाउन थालिएको हो ।

‘स्टोरमा औषधिको स्टक सकिँदै गएको छ,’ जिल्ला अस्पतालका डा. ज्ञानेश्वर श्रेष्ठले भने, ‘क्षेत्रीय मेडिकल स्टोरबाट आएको औषधिले जेनतेन काम चलाइरहेका छौं ।’ उनले स्थानीय तहबाट पर्याप्त रकम विनियोजन नहुँदा औषधि अभाव भएको बताए ।

सोरु, खत्याड र मुगमकार्मारोङ गाउँपालिकाका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा समेत औषधि अभाव छ । खत्याड गाउँपालिकाको रातापानीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा औषधि नहुँदा उपचारमा समस्या भएको स्वास्थ्यकर्मीले बताए । मौसम परिवर्तनसँगै झाडापखाला र ज्वरोका बिरामी बढे पनि औषधि पुर्‍याउन कठिनाइ भएको सिनियर अहेब गोविन्द भण्डारीले जनाए । खत्याड गाउँपालिकामा गत पुस/माघमा भाइरल रुघाखोकी फैलिएर १८ जनाको ज्यान गएको थियो । महामारी फैलिन सक्ने जोखिम भए पनि सतर्कता नअपनाइएको स्थानीयको गुनासो छ ।

छायानाथ रारा नगरपालिका–६ कोटिलाका काजी कुमालले छोरा झाडाले थलिएपछि बोकेर जिल्ला अस्पताल पुर्‍याए । ‘अहिले गाउँमा बिरामीको संख्या बढदै गएको छ,’ उनले भने, ‘सामान्य अवस्थाका बिरामीले घरेलु उपचार गर्ने र नजिकका मेडिकलमा उपचार गराउने गरेका छन् ।’ उनले गम्भीर समस्या भएका बिरामीमात्र जिल्ला अस्पताल जाने गरेको बताए ।

स्वास्थ्यकर्मीका अनुसार पाँच वर्षमुनिका बालबालिका र वृद्धलाई झाडापखालाको समस्या देखिएको छ । वाकवाकी लाग्ने, बान्ता हुने, छिनछिनमा पखाला लाग्ने र ज्वरो आउने जस्ता लक्षणले बिरामी थलिएको स्थानीयको भनाइ छ । मौसम परिवर्तन, फोहोर खानेकुरा र दूषित पानीका कारण झाडापखाला देखिएको डा. श्रेष्ठले जनाए । ‘जिल्ला अस्पतालमा एक दिनमा ६० देखि ७० जना झाडापखालाका बिरामी उपचारका लागि आउने गरेका छन्,’ उनले भने ।

रुगा, रोवा, पिना र कोटिला मन्दुलगायत गाउँका बिरामी बढी आउने गरेका छन् । डा. श्रेष्ठका अनुसार सोरु, खत्याड र मुगमकार्मारोङका स्वास्थ्यकर्मीलाई रोग नियन्त्रणका लागि सतर्क रहन आग्रह गरिएको छ । विगत वर्षको तुलनामा यस वर्ष अत्यधिक गर्मी बढेको छ । गमगढी हावापानी मापन केन्द्रका अनुसार गमगढीको तापक्रम ३२ डिग्री सेन्टिग्रेड छ । गर्मीका कारण दिउँसो हिंड्डुल गर्न समस्या भएको स्थानीयले बताएका छन् ।

रेबिजविरुद्धको सुई अभाव
जिल्ला अस्पतालमा रेबिजविरुद्ध लगाइने सुई नहुँदा बौलाहा कुकुरले टोकेका बिरामीलाई उपचारमा समस्या भएको छ । जिल्लामा १५ दिनयता करिब १२ जनालाई बौलाहा कुकुरले टोकेको जिल्ला अस्पतालले जनाएको छ । भ्याक्सिन अभावमा उनीहरू सुई लगाउनबाट वञ्चित भएका छन् । जिल्ला पशु सेवा कार्यालयमा पनि रेबिजविरुद्धको सुई नभएपछि बौलाहा कुकुरलाई लगाउन सकिएको छैन । बिरामीहरू रेबिजविरुद्धको सुई लगाउन सुर्खेत, नेपालगन्ज र जुम्ला जान बाध्य छन् । क्षेत्रीय मेडिकल स्टोरमा भ्याक्सिनको माग गरिए पनि आइनसकेको डा. श्रेष्ठले बताए ।

प्रकाशित : जेष्ठ १५, २०७५ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?