कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सीपले बढायो आत्मविश्वास

वैदशिक रोजगारीबाट फर्किएकाहरू शिक्षा मन्त्रालयको सहयोगमा सञ्चालित बिल्डिङ इलेक्ट्रोनिक्स तालिम लिँदै
शंकर आचार्य

पर्सा — वीरगन्ज महानगर–२३ प्रसौनीका २७ वर्षीय गलेन्द्रप्रसाद यादवले घरायसी कारणले ८ कक्षाभन्दा बढी पढ्न पाएनन् । शैक्षिक योग्यता नहुँदा प्रतिस्पर्धाको युगमा जागिर पाउन नसकिने कुरा उनले राम्रोसँग बुझेका छन् ।

सीपले बढायो आत्मविश्वास

त्यसैले शैक्षिक योग्यताभन्दा बढी प्राथमिकता दिइने सीपमूलक रोजगारीतर्फ उनको आकर्षण बढ्यो । तर यसका लागि हातमा सीप थिएन । अहिले भने उनको योजना सफल हुन लागेको छ ।

शिक्षा मन्त्रालयद्वारा इभेन्ट परियोजनाको आर्थिक सहयोगमा साना व्यवसाय परामर्श तथा तालिम केन्द्र प्रालिद्वारा सञ्चालित ३ सय ९० घण्टाको विल्डिङ इलेक्ट्रि्रसियनको तालिममा उनी रमाइरहेका छन् । ९० दिने तालिममा उनी एक दिन गयल नभई उत्साहका साथ सहभागी हुँदै छन् । ‘यस्तो रोजगारमूलक तालिम, त्यो पनि नि:शुल्क । अवसर गुमाउने कुरै भएन,’ उनले भने, ‘अलिअलि इलेक्ट्रिसियनको काम जानेको थिएँ, तर यहाँ सैद्धान्तिकसँगै व्यावहारिक ज्ञान पनि विस्तृत रूपमा पाएपछि पर्याप्त जानकारी भयो, अब आत्मविश्वासका साथ यो क्षेत्रमा काम गर्ने छु ।’ वीरगन्ज रानिघाटका २५ वर्षीय युवा गोपालप्रसाद रौनियार पनि २० जना प्रशिक्षार्थीमध्येका एक हुन् । पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले उनले पनि १० कक्षाभन्दा माथि पढ्न सकेनन् । पढ्ने रहर भए पनि काम नगरी परिवार पाल्न नसक्ने स्थिति थियो । उनले पढ्ने रहरलाई दबाए । अनि अरुको पसलमा बस्ने र सिसिटिभी क्यामेरा जडान गर्ने काम गर्न थाले ।

तर हातमा सीप भए कामको खोजी गर्न नपर्ने बरु अवसर आफूलाई खोज्दै आउने बुझेपछि उनले पनि यो तालिम लिने मनशाय बनाए । विद्युतीय उपकरणसम्बन्धी काम गर्दा यससम्बन्धी बृहत् ज्ञान र सीप आवश्यक देखेर पनि उनले यो अवसरको सदुपयोग गरे । ‘सिसिटिभी क्यामेरा जडान गर्दा पनि विद्युत्सम्बन्धी ज्ञानको अभाव निक्कै महसुस हुन्थ्यो, त्यसमाथि दैनिकजसो घर, औद्योगिक प्रतिष्ठानहरू बन्ने क्रम जारी रहेकाले बिल्डिङ इलेक्ट्रिसियनको माग कहिल्यै नघट्ने देखेर यो तालिम लिदै छु,’ उनले भने, ‘यो सीप जानेपछि खाली हात कहिल्यै बस्नु पर्दैन ।’

प्रशिक्षार्थीमा मधेसी, दलित, गरिब, वैदेशिक रोजगारीबाट फर्केका युवाहरूलाई प्राथमिकताका साथ सहभागी गराइएको साना व्यवसाय परामर्श तथा तालिम केन्द्रका कार्यकारी निर्देशक विजय श्रीवास्तव बताउँछन् । ‘हामीले तालिमको आवश्यकता बुझेर मिहिनेत र लगनसाथ तालिममा सहभागी हुने युवाहरूलाई विशेष प्राथमिता दिएका छौं,’ उनले भने, ‘प्रशिक्षार्थीहरूले पनि जोस र उत्साहका साथ तालिम लिँदै छन् ।’

प्रशिक्षक दयाराम चौरसिया तालिम नसक्दै प्रशिक्षार्थीहरूलाई रोजगारीको अवसर आएको बताउँछन् । ‘कतिपय आवश्यकता भएकाहरू तालिमस्थलमै आएर आआफ्नो घरमा इलेक्ट्रिसियनको रूपमा प्रशिक्षार्थीहरूलाई लग्दै छन्,’ उनले भने, ‘यसले प्रमाणित गर्छ हातमा सीप भएका मानिसलाई रोजगारीको अवसर आफैं आउँछ ।’

प्रकाशित : जेष्ठ ७, २०७५ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?