कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बुद्धकृष्णले छैटौंपल्ट जिब्रो छेडाए

लीला श्रेष्ठ

भक्तपुर — मध्यपुर थिमि–८ बोडेका बुद्धकृष्ण बाग श्रेष्ठले छैटौंपल्ट जिब्रो छेडाएका छन् । जिल्लाको प्रसिद्ध बिस्केट जात्राअन्तर्गत प्रत्येक वैशाख २ गते मध्यपुर थिमि–८ बोडेमा जिब्रो छेड्ने जात्रा मनाइन्छ ।

बुद्धकृष्णले छैटौंपल्ट जिब्रो छेडाए

बोडे निवासी ४६ वर्षीय श्रेष्ठले यसअघि ०६२ देखि ०६५ र ०७४ गरेर पाँचौंपल्ट जिब्रो छेडाएका छन् । उनले आइतबार छ्रैटौंपल्ट जिब्रो छेडाएर संस्कृति बचाएका छन् । जिब्रो छेड्ने जात्रालाई जोगाउन बोडेवासीमध्येबाट पनि नेवार श्रेष्ठ थरकै व्यक्ति चाहिने परम्परा छ ।

जिब्रो छेडाउने व्यक्तिले तीन दिन भोकै बसी एक महिनादेखि तेलमा डुबाइराखेको करिब १ फिट लामो सियोले जिब्रो छेडिन्छ । जिब्रो छेड्नुअघि कर्मी नाइकेले सम्पूर्ण देवीदेवताको प्रार्थना गर्ने परम्परा छ । जिब्रो छेड्दा रगत आउनुहुँदैन । रगत आए अनिष्ट हुने जनविश्वास छ । विशेष पहिरन र खुट्टामा तान्त्रिक घन्टी (घुङ्ग्रो) लगाई जिब्रो छेड्नुअघि शक्तिपीठहरूको दर्शन गर्ने र जिब्रो छेडिसकेपछि पनि चन्द्राकार बत्ती (भ्य) बोकी बोडे नगर परिक्रमा गर्ने प्रचलन छ ।


वैशाख २ गते बिहानैदेखि जिब्रो छेड्ने नाइकेले विभिन्न देवगणको पूजा गरी जिब्रो छेड्न पाँचो गणेशको प्रांगण रहेको पाटीमा मञ्च बनाई नायखिँ बाजाका साथ जिब्रो छेड्ने परम्परा छ । नकर्मीले एक महिनादेखि लामो सुइरो बनाई तेलमा डुबाएर राखेका हुन्छन् र त्यही सुइरो ल्याएर सबै देवगणको पूजा गरी जिब्रो छेड्ने व्यक्तिलाई नायखिँ बाजा बजाउँदै ल्याएपछि मञ्चमा राखी सबैको अगाडि जिब्रो छेडिन्छ । जिब्रो छेडाएर नगर परिक्रमा गराए देशमा दु:ख नहुने, रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि, महाभूकम्प हुन नदिने जनविश्वास छ ।


नगर परिक्रमा गरिसकेपछि महालक्ष्मी मन्दिर अगाडिको गणेशको रथसामु राखी जिब्रोको सियो झिकिन्छ । सियो निकालेर जिब्रोको घाउमा महालक्ष्मीको मन्दिरबाट एक चिम्टी माटो राखिदिने चलन छ । उक्त सियोलाई जिब्रो छेडिने व्यक्तिले आफ्नो घर लगी नित्यनाथको पूजा गरेपछि महालक्ष्मी मन्दिरको दायाँपट्टि रहेको गणेश मन्दिरमा ठोक्ने प्रचलन छ ।


हालसम्म क–कसले जिब्रो छेडाए भन्ने तथ्यांक नभए पनि पछिल्लो तथ्यांकअनुसार हर्कनरसिंहले २२, बेखानारायण हाय श्रेष्ठले ३२, हरिदेव किला श्रेष्ठले १, हरिभासिक श्रेष्ठले ३, इन्द्र बाटा श्रेष्ठले २, हर्केश्वर ब्याँ श्रेष्ठले ३, चन्द्रसेन घो श्रेष्ठले ७, दिलकुमार खपे श्रेष्ठले ७, मुनि घो श्रेष्ठले १, धर्मराज बलाम श्रेष्ठले १, बुद्धकृष्णकै दाजु कृष्णचन्द्र बाग श्रेष्ठले १२, बुद्धचन्द्र बाग श्रेष्ठले ६ र जुजुभाइ बास श्रेष्ठले ८ पल्ट जिब्रो छेडेका छन् ।


मनाइयो ३२ खटसहितको सिन्दुर जात्रा
मध्यपुर थिमि नगरमा मनाइने प्रसिद्ध ऐतिहासिक एवं सांस्कृतिक ३२ खटसहितको सिन्दुर जात्रा अर्थात सुथ: सिया जात्रा मनाइएको छ । वैशाख २ गते बिस्केट जात्राको अवसरमा मध्यपुर थिमिमा मात्र मनाइने विभिन्न जात्रामध्ये ३२ वटा खटसहितको सिन्दुर जात्रा प्रसिद्ध जात्रा हो । केही वर्षअघिसम्म ३२ खट नगर परिक्रमा गराउने भने पनि यस वर्ष २६ वटामात्र रहेको स्थानीयको भनाइ छ ।


सिन्दुर जात्रामा बालकुमारी, कालिका अर्थात बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालिएको छ । सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरूसहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु हुन्छ । जात्रा सुरु भएपछि पमाहरू हातहातमा चिराग अर्थात बत्ती लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोलस्थित देवता घर परिक्रमा गराइन्छ ।


जात्रामा थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर जात्रा गरी टोलटोलमा सिन्दुर खेल्दै बाजागाजासहित सिन्दुर जात्रा मनाइएको छ । मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराक बाली सिन्दुर जात्रा मनाइने परम्परा छ ।


जात्रा प्रत्येक चोक, चौबाटो र नगर परिक्रमा गर्दा घरको झ्याल, कौसी र छतबाट अबिर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन छ ।


जात्रामा कायाबाजा, भुस्याबाजा, धिमेबाजा, नायखिँ बाजा बजाएर देवताका खटलाई हर्षोल्लासका साथ एकआपसमा सिन्दुर दलेर नगर परिक्रमा गर्ने परम्परा छ । परम्पराअनुसार नै देवता लायु दरबारभित्र पस्न नपाऊन् भनेर लायकु प्रवेशद्वारमा बाटो छेकेर पेंखा मुस्या, बालकुमारी, बालखुचा द्यो, सिद्धिकाली र अरू देवताका गणहरू बाटो छेकेर बस्ने परम्परा रहेको छ ।

प्रकाशित : वैशाख ३, २०७५ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?