३१५ प्रहरी फिर्ता बोलाइँदै

काठमाडौँ — गृह मन्त्रालयले पूर्वसुरक्षा पदाधिकारीको सेवामा खटिएका ३ सय १५ प्रहरी फिर्ता बोलाउन निर्देशन दिएको छ । ती सुरक्षाकर्मीलाई घरेलु कामदार बनाएर राखिएको भन्दै फिर्ता बोलाउने निर्णय गृहले गरेको हो ।

३१५ प्रहरी फिर्ता बोलाइँदै

गृहले सुरक्षाबाहेक अन्य प्रयोजनमा खटाइएका सुरक्षाकर्मीलाई सात दिनभित्र फिर्ता बोलाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निर्देशन दिएको छ ।

सुरक्षाकर्मीलाई घरेलु कामदारका रूपमा राख्ने, सुरक्षा खतरा नभएकाहरूले पनि पहुँचको भरमा व्यक्तिगत सुरक्षा गार्डका रूपमा राख्ने गुनासो आएको भन्दै गृहले यस्तो निर्देशन दिएको हो । सुरक्षाकर्मी फिर्ता बोलाएर त्यसबारे जानकारी दिन दुवै सुरक्षा निकायलाई परिपत्रसमेत गरिएको छ । सुरक्षा जोखिम भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएर केही पूर्वप्रहरी अधिकारीहरूले सुरक्षागार्ड लिएको र सुरक्षा खतरा नहुँदा पनि तिनलाई फिर्ता नगरेको गृहको निष्कर्ष छ ।

गृहले यस्तो दुरुपयोग तत्काल रोक्न दुवै प्रहरी संगठनलाई निर्देशन दिएको छ । बहालवाला अति विशिष्ट एवम् पूर्वपदाधिकारीको सुरक्षार्थ निर्णय भएभन्दा बढी संख्यामा खटिएका ४५ नेपाल प्रहरीलाई समेत फिर्ता ल्याउन गृहले निर्देशन दिएको छ ।यसअघि बहालवाला तथा पूर्वपदाधिकारीको सुरक्षार्थ निर्णय नभइकनै खटिएका ४९ मध्ये ४२ जना नेपाल प्रहरी फिर्ता भइसकेका छन् । गृहका अनुसार सशस्त्र प्रहरी बलका पनि करिब पाँच सय सुरक्षाकर्मी बहालवाला विशिष्ट व्यक्ति तथा पूर्वपदाधिकारीको सुरक्षामा खटिएका छन् । जसमध्ये ठूलो संख्यामा सशस्त्र प्रहरीको दुरुपयोग हुने गरेको गृहको ठम्याइ छ ।

प्रकाशित : वैशाख १, २०७५ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?