हिउँ खेल्न लगिएका विद्यार्थी ४ दिनदेखि बेपत्ता

विद्यालयको लापरबाही
कान्तिपुर संवाददाता

ललितपुर — आफू पढ्ने विद्यालयबाटै फुल्चोकीमा हिउँ खेल्न लगिएका कक्षा ६ मा अध्ययनरत १७ वर्षीय जोन तामाङ ४ दिनदेखि बेपत्ता छन् । थसिखेलस्थित अजय शिक्षा सदनमा अध्ययनरत उनी फुल्चोकी चुचुरोबाट फर्कने क्रममा बेपत्ता भएका हुन् ।

विद्यालयका प्रिन्सिपलसहित बिहीबार कक्षा ५ र ६ का ११ विद्यार्थी फुल्चोकीमा हिउँ हेर्न गएका थिए । ६ कक्षाबाट फुल्चोकी जानेमा तामाङ एक्ला थिए । तामाङका अभिभावकले प्रिन्सिपलको लापरबाहीले यस्तो घटना

भएको आरोप लगाएका छन् । आमा रिमाले ‘छोरालाई फुल्चोकी हाइकिङ लैजानेबारे विद्यालयले अभिभावकलाई कुनै जानकारी नगराएको’ बताइन् ।

उनका अनुसार विद्यालयले यसअघि विद्यार्थीहरूलाई कतै लैजानुपर्दा पूर्वजानकारी दिने तथा तयारी गर्ने गरेको थियो । ‘योपटक विद्यालयको सवारी साधनसमेत प्रयोग नगरी भाडाका गाडी प्रयोग गरिएको छ,’ उनले भनिन्, ‘यो लापरबाहीमा प्रिन्सिपलले जिम्मेवारी लिनुपर्छ ।’ प्रिन्सिपल दुर्गाबहादुर ओलीले विद्यार्थी हराएको बारेमा परिवारलाई एकदमै ढिला खबर दिएको रिमाले बताइन् । ‘छोरा साढे ३ बजे नै सम्पर्कविहीन भइसकेको रहेछ,’ उनले भनिन्, ‘हामीलाई रातको साढे ८ बजे मात्रै खबर गरियो ।’

प्रिन्सिपल ओलीले भने विद्यार्थीहरू छोटो बाटो भएर अगाडि बढेको हुँदा कतै हराएको भन्ने कुरा नसोचिएको बताउँछन् । उनले भने, ‘मोबाइलमा नेटवर्क नभएकाले तत्कालै अभिभावकलाई सम्पर्क गर्न सकिएन ।’ धादिङ मूलघर भएका तामाङको अत्तोपत्तो नभएपछि उनका आफन्तजन विरोधमा उत्रिएका छन् । अभिभावक, शिक्षक संगठन, निजी विद्यालयहरूको छाता संगठन (प्याब्सन) ले बिहीबार महानगरीय प्रहरी वृत्त सातदोबाटोमा प्रदर्शनी गरेका छन् ।

अभिभावक संघ नेपालका पूर्वअध्यक्ष सुप्रभात भण्डारीले विद्यार्थी हराउनुमा विद्यालय प्रिन्सिपलको लापरबाही देखिएको बताए । ‘विद्यार्थीले साथी हराएको भनी जानकारी गराइसकेपछि प्रिन्सिपलले गम्भीर रूपमा लिनुपथ्र्याे,’ उनले भने ।

प्रहरीले प्रिन्सिपललाई नियन्त्रण लिई थप अनुसन्धान थालेको छ । हराएको विद्यार्थी तामाङको श्रवणशक्ति कमजोर (कान कम सुन्ने) रहेको छ । शनिबारदेखि सेना, प्रहरी र सशस्त्र प्रहरीले ३ कुकुरको प्रयोग गरी खोजी गरिरहेको छ । महानगरीय प्रहरी परिसर जावलाखेलका प्रवक्ता नरेन्द्र चन्दले हराएका विद्यार्थीको तीव्र गतिमा खोजी भइरहेको बताए । ‘प्रहरी, आर्मी, सशस्त्र गरी डेढ सयले खोजी गरिरहेका छन्,’ उनले भने, ‘प्रिन्सिपल तथा फुल्चोकी भ्रमणमा जाने अन्य विद्यार्थीसँग बयान लिई थप अनुसन्धान गरिरहेका छौं ।’

फुल्चोकी घुम्न जाने क्रममा बेपत्ता भएको यो घटना पहिलो होइन । ०७२ पुसमा पनि काठमाडौं विशालनगरका २० वर्षीय श्रीयान्स खत्री बाटो बिराउँदा बेपत्ता भएका थिए । प्रहरीले खोजी गर्ने क्रममा भीरबाट लडेर मृत्यु भएको अवस्थामा उनको शव भेटिएको थियो । २०७१ मा ललितपुर प्रहरीले बाटो बिराएर हराएका ११ युवायुवतीलाई मध्यरातमा फुल्चोकीबाटै उद्धार गरेको थियो ।

नयाँ वर्ष, जन्मदिन वा क्याम्प फायरका लागि निस्कने धेरै जमात पनि फुल्चोकी घुमफिरका क्रममा हराउने गरेका छन् । पदयात्रा गर्न आउने कतिपयको मृत्युसमेत भएको घटना मध्यनजर गरी महानगरीय प्रहरी प्रभाग, बाडेगाउँले ‘डेन्जरजोन’ भनी ठाउँठाउँमा होडिङबोर्ड राखेको छ ।

फुल्चोकी उपत्यकालाई घेरेर बसेको पहाडमध्ये सबैभन्दा अग्लो चुचुरो हो । यो डाँडाबाट प्रकृतिका साथै पहाडी र हिमाली शृंखला अवलोकन गर्न सकिने भएकाले फुल्चोकी धाउनेको जमात ठूलो छ । फुल्चोकी यात्रा गोदावरी नौधाराबाट सुरु हुन्छ । प्रहरीका अनुसार जंगलभित्र डरलाग्दा भीरहरू छन् ।

प्रकाशित : माघ १५, २०७४ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्

घडियाल गोहीको पाँचवर्षे कार्ययोजना

कान्तिपुर संवाददाता

काठमाडौँ — प्राकृतिक बासस्थानमा विश्वमै दुर्लभ घडियाल गोहीको संख्या बढाउन सरकारले पाँचवर्षे कार्ययोजना तयार गरेको छ । 

कृत्रिम प्रजनन् केन्द्रमा हुर्काएर नदीमा छाडिएका घडियाल गोहीको संरक्षण प्रभावकारी बन्न नसकेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ‘लगातार पाँच वर्ष संरक्षण लक्षित कार्यक्रम’ समेटेर कार्ययोजना तयार गरेको हो । आहारको कमी, घडियालको अन्डा चोरी, नदीको बढो प्रदुर्षण, उच्च बाँध, महाजालको प्रयोग र नहर निर्माणलगायत कारण विश्वमै घडियाल गोही संकटमा परेका छन् । विभागका इकोलोजिस्ट लक्ष्मण पौडेलका अनुसार ५ वर्ष (सन् २०१८–२०२२) चल्ने कार्ययोजनामा संरक्षणमा सहयोगी साझेदार संस्था र सरकारको लगानीमा गोही संरक्षणका लागि विशेष कार्यक्रम अघि बढाउने उल्लेख छ ।
‘बाघ, गैंडा र हात्तीलगायत ठूला वन्यजन्तुको संरक्षण/व्यवस्थापन कार्ययोजनाअनुसारै भएको छ र त्यसअनुसार उपलव्धी पनि हासिल भइरहेको छ,’ इकोलोजिस्ट पौडेलले कान्तिपुरलाई भने, ‘गोहीका लागि पनि फोकस कार्यक्रम समेटियोस् भनेर कार्ययोजना बनाइएको हो ।’ सन् १९७८ देखि करोडौं रुपैयाँ खर्चिएर गोही संरक्षण तथा प्रजननका कार्यक्रम सञ्चालन गरिए पनि प्राकृतिक वासस्थानमा तीनको संख्या दिनानुदिन घटदो छ ।
चितवन निकुञ्जको मुख्यालय कसारास्थित गोही प्रजनन केन्द्रको व्यवस्थापन/अनुगमनमा लामो समयदेखि कार्यरत सहायक वार्डेन वेदकुमार खडाका अनुसार सन् २०१६ को गणना अनुसार देशैभर जम्मा एक सय ९८ घडियाल गोही छन् । चितवनको राप्ती, नारायणी, बर्दियाको बबई र कर्णालीमा मात्र गोही छन् । गोहीको मुख्य वासस्थान बगेको सफा पानी र आहार माछा हो । चितवन निकुञ्ज र बर्दिया निकुञ्जमा गोही प्रजनन केन्द्रमा हुर्काइएका गोहीका बच्चालाई वर्षेनी प्राकृतिक वासस्थानमा छाड्ने गरिएको छ । सयौंको संख्यामा गोहीका बच्चा नदीमा छाड्ने गरिए पनि प्रदूषण, आहार र विकास निर्माणका लागि बनाइएका संरचना जलप्राणीमैत्री नहुँदा गोहीलाई बाँच्न मुस्किल हुने गरेको छ । धेरैजसो गोही तल्लोतटीय क्षेत्रमा बगेर जाने गरेका छन् ।
पाँच वर्षे कार्ययोजनामा प्राकृतिक वासस्थानलाई जलप्राणीमैत्री बनाउनसमेत ध्यान दिइने उल्लेख छ । प्राकृतिक वासस्थानमा भएका गोहीको दिगो संरक्षण गर्दै तीनबाट सन्तान विस्तारका लागि आवश्यक वातावरण सिर्जना गरिनेछ । प्राकृतिक वासस्थानमा संख्या नबढ्नुमा भालेको संख्या कमी हुनु पनि एउटा कारण ठम्याउँदै विभागले चितवनको खोरियामुहान/राप्ती दोभानमा बर्दियाबाट ल्याइएको
भाले गोही छोडेको छ । जन्मजातै पोथीको तुलनामा भालेको संख्या कम हुने भएकाले सन्तान वृद्धि अरु प्रजातिमा भन्दा गोहीमा कम हुन्छ ।
मन्त्रालयका सहसचिव महेश्वर ढकाल, वन विभागका महानिर्देशक कृष्णप्रसाद आचार्य, निकुञ्ज विभागका महानिर्देशक मनबहादुर खडका, विज्ञहरू कञ्चन थापा, नरेश सुवेदी, करनबहादुर शाह, हेमसागर बराल, भगवान दाहाललगायतको प्राविधिक सहयोगमा कार्ययोजना तयार गरिएको हो । कार्ययोजना शुक्रबार सिमसार दिवसका अवसरमा सार्वजनिक गरिनेछ ।

प्रकाशित : माघ १५, २०७४ ०७:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×