घडियाल गोहीको पाँचवर्षे कार्ययोजना

कान्तिपुर संवाददाता

काठमाडौँ — प्राकृतिक बासस्थानमा विश्वमै दुर्लभ घडियाल गोहीको संख्या बढाउन सरकारले पाँचवर्षे कार्ययोजना तयार गरेको छ । 

कृत्रिम प्रजनन् केन्द्रमा हुर्काएर नदीमा छाडिएका घडियाल गोहीको संरक्षण प्रभावकारी बन्न नसकेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ‘लगातार पाँच वर्ष संरक्षण लक्षित कार्यक्रम’ समेटेर कार्ययोजना तयार गरेको हो । आहारको कमी, घडियालको अन्डा चोरी, नदीको बढो प्रदुर्षण, उच्च बाँध, महाजालको प्रयोग र नहर निर्माणलगायत कारण विश्वमै घडियाल गोही संकटमा परेका छन् । विभागका इकोलोजिस्ट लक्ष्मण पौडेलका अनुसार ५ वर्ष (सन् २०१८–२०२२) चल्ने कार्ययोजनामा संरक्षणमा सहयोगी साझेदार संस्था र सरकारको लगानीमा गोही संरक्षणका लागि विशेष कार्यक्रम अघि बढाउने उल्लेख छ ।

‘बाघ, गैंडा र हात्तीलगायत ठूला वन्यजन्तुको संरक्षण/व्यवस्थापन कार्ययोजनाअनुसारै भएको छ र त्यसअनुसार उपलव्धी पनि हासिल भइरहेको छ,’ इकोलोजिस्ट पौडेलले कान्तिपुरलाई भने, ‘गोहीका लागि पनि फोकस कार्यक्रम समेटियोस् भनेर कार्ययोजना बनाइएको हो ।’ सन् १९७८ देखि करोडौं रुपैयाँ खर्चिएर गोही संरक्षण तथा प्रजननका कार्यक्रम सञ्चालन गरिए पनि प्राकृतिक वासस्थानमा तीनको संख्या दिनानुदिन घटदो छ ।

चितवन निकुञ्जको मुख्यालय कसारास्थित गोही प्रजनन केन्द्रको व्यवस्थापन/अनुगमनमा लामो समयदेखि कार्यरत सहायक वार्डेन वेदकुमार खडाका अनुसार सन् २०१६ को गणना अनुसार देशैभर जम्मा एक सय ९८ घडियाल गोही छन् । चितवनको राप्ती, नारायणी, बर्दियाको बबई र कर्णालीमा मात्र गोही छन् । गोहीको मुख्य वासस्थान बगेको सफा पानी र आहार माछा हो । चितवन निकुञ्ज र बर्दिया निकुञ्जमा गोही प्रजनन केन्द्रमा हुर्काइएका गोहीका बच्चालाई वर्षेनी प्राकृतिक वासस्थानमा छाड्ने गरिएको छ । सयौंको संख्यामा गोहीका बच्चा नदीमा छाड्ने गरिए पनि प्रदूषण, आहार र विकास निर्माणका लागि बनाइएका संरचना जलप्राणीमैत्री नहुँदा गोहीलाई बाँच्न मुस्किल हुने गरेको छ । धेरैजसो गोही तल्लोतटीय क्षेत्रमा बगेर जाने गरेका छन् ।

पाँच वर्षे कार्ययोजनामा प्राकृतिक वासस्थानलाई जलप्राणीमैत्री बनाउनसमेत ध्यान दिइने उल्लेख छ । प्राकृतिक वासस्थानमा भएका गोहीको दिगो संरक्षण गर्दै तीनबाट सन्तान विस्तारका लागि आवश्यक वातावरण सिर्जना गरिनेछ । प्राकृतिक वासस्थानमा संख्या नबढ्नुमा भालेको संख्या कमी हुनु पनि एउटा कारण ठम्याउँदै विभागले चितवनको खोरियामुहान/राप्ती दोभानमा बर्दियाबाट ल्याइएको

भाले गोही छोडेको छ । जन्मजातै पोथीको तुलनामा भालेको संख्या कम हुने भएकाले सन्तान वृद्धि अरु प्रजातिमा भन्दा गोहीमा कम हुन्छ ।

मन्त्रालयका सहसचिव महेश्वर ढकाल, वन विभागका महानिर्देशक कृष्णप्रसाद आचार्य, निकुञ्ज विभागका महानिर्देशक मनबहादुर खडका, विज्ञहरू कञ्चन थापा, नरेश सुवेदी, करनबहादुर शाह, हेमसागर बराल, भगवान दाहाललगायतको प्राविधिक सहयोगमा कार्ययोजना तयार गरिएको हो । कार्ययोजना शुक्रबार सिमसार दिवसका अवसरमा सार्वजनिक गरिनेछ ।

प्रकाशित : माघ १५, २०७४ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्

दमक सभागृह निर्माणमा तीव्रता

२ हजार अटाउने क्षमतायुक्त भवनको लागत २८ करोड
अर्जुन राजवंशी

दमक — प्रदेश १ कै ठूलो हुने दाबी गरिएको सभागृह धमाधम निर्माण भइरहेको छ । दमक नगरपालिका ९ मा ‘दमक सभागृह’ को कामले तीव्रता पाएको छ ।

करिब दुई हजार अटाउने क्षमताको सभागृह सहरी विकास मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामको सहयोगमा निर्माण काम अघि बढाएको नगरपालिकाका इन्जिनियर अनन्त सेनेहाङले बताए ।
उनले ०७७ सालमा निर्माण सक्ने गरी कामलाई तीव्रता दिएको जानकारी दिए । डाँफे एमए–प्रतिष्ठा कन्स्ट्रक्सन जेभीले निर्माणको ठेक्का लिएको छ । सभागृहका लागि २८ करोड ४४ लाखभन्दा बढी लागत अनुमान गरिएको छ । ठेकेदार कम्पनीले २८ करोड ४० लाख ५८ हजार ८ सय ८८ रुपैयाँमा ठेक्का लिएको कम्पनीबाट फिल्डमा खटिएका इन्जिनियर माहासेक चौधरीले जानकारी दिए । उनले मंसिर १७ देखि काम सुरु भएको बताए ।
उनका अनुसार अहिले सभागृहको फन्डिसनअघि गरिने सोयलिङको काम भइरहेको छ । उक्त काम ९० प्रतिशत सकिएको उनले बताए । निर्धारित मितिमै काम सक्न दैनिक ४० भन्दा बढी कामदारले लगाएको छ । ‘अहिले हामीलाई काम गर्न कुनै बाधाअवरोध छैन । निर्माण सामग्री पनि सबै पाइरहेका छौं,’ इन्जिनियर चौधरीले भने, ‘यही रफ्तारमा काम भए निर्धारित मितिमै पूरा हुनेछ ।’
सभागृहमा चार वटा ब्लक रहनेछन् । दुइटा सभाहल रहनेछ । मुख्य हलभित्र एक हजार ५ सय १६ जना अट्ने छन् । दोस्रो सभाहलमा दुई सय १४ जनाको क्षमता छ । सभागृह परिसदभित्रै रेस्टुरेन्ट, बैठक कक्ष, ६ वटा चेन्जिङ रुम, गार्डेन र व्यवस्थित पार्किङ रहनेछ । दुइटा ब्लक दुई तलाको हुनेछ भने मुख्य सभाहल साढे तीन तलाको हुने इन्जिनियर चौधरीले जनाए । सभागृह निर्माणका लागि स्थानीय १७ दाताले एक बिघा १२ कठ्ठा जग्गा दान गरेका थिए । उक्त जग्गामध्ये मुख्य सभाहल ८ कठ्ठामा बन्दै छ ।
जग्गा दाता एवं सभागृह निर्माण निगरानी समितिका मीना श्रेष्ठले निर्माणको कामले आफूहरू उत्साही बनेको बताइन् । ‘कामको रफ्तारले हामी खुसी छौं,’ उनले भनिन्, ‘सभागृह निर्माणले ठूलठूला सभा, सम्मेलन, विवाह, भोजका लागि सहज हुने छ । अब, टेन्ड टाँगेर पर्ती वा सडकमा कार्यक्रम गर्नुपर्ने छैन ।’ श्रेष्ठले परिवारको नाममा सभागृहलाई ३ कठ्ठा जमिन दिएकी थिइन् ।
यस क्षेत्रका सांसद एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले ०७३ जेठ २८ गते सभागृहको शिलान्यास गरेका थिए । यसअघि उक्त सभागृहको नाम फाल्गुनन्द सभागृह राख्ने प्रचार गरिएको थियो । यसका लागि किराँत धर्मगुरु आत्मनन्द लिङदेनले पनि आर्थिक सहयोग गर्ने भनिएको थियो । तर, गुरुबाट रकम प्राप्त नभएपछि सहरी विकास मन्त्रालयको लगानीमा ‘दमक सभागृह’ नामकरण गरी निर्माण थालिएको इन्जिनियर सेनेहाङले बताए । दमकमा अतिथि सदन तथा सार्वजनिक सभाहलको अभाव छ ।

प्रकाशित : माघ १५, २०७४ ०७:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×