कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

मनकारी महरा

५० लाखमा ३ कोठा, १ हल, भान्सा र शौचालय तथा पर्खालसमेतको धर्मशाला निर्माण
चित्रांग थापा

काठमाडौँ — मेरले ८० वर्ष काट्न लागे उनी। समाज सेवामा खटिरहने जोस र जाँगरमा भने कुनै कमी आएको छैन। सुदूर तराईको जनजीवन यति बेला शीतलहरले कष्टकर भइरहेको छ। उनी भने निजी लगानीमा निर्माण पूरा हुँदै गरेको धर्मशालाको रेखदेखमा दिनहुँ ८ किलोमिटर टाढाको चुरेफेदीको भम्केनी धाम पुगिरहेका छन्। जहाँ उनको जीवनकै ठूलो सपनाको धर्मशाला बन्दैछ।

मनकारी महरा

‘बाल्यकालमा निकै दु:ख पाएँ, जवानीमा कमाए पनि जाने बेला मेरोतर्फबाट समाजका लागि केही गरौं भन्ने हेतुले धर्मशाला बनाउनमा लागे,ँ’ भम्केनी धाममा भेटिएका अशोकसिंह महराले भने, ‘उहिले ऐंलानी फाडेरै जग्गा जोडेको हुँ, बसाइँ सरेर अन्यत्र पुगे पनि जग्गा बेचेरै जोगाएको पैसाले धर्मशाला निर्माण गरेँ।’ ५० वर्षअघि उनी दार्चुलाको तत्कालीन पिपलचौरी गाविस ६ बसपाली गाउँबाट निकै हन्डर र दु:ख खेपेर कञ्चनपुर झरेका थिए।


सुरुमा उनले भम्केनी धामनजिकै घाडीघाँचको हल्दुखालमा ऐंलानी जग्गा बनाए। त्यसपछि उनको परिवार बनखेत बसाइँ सरेको हो। भीमदत्त नगरपालिका ५ बनखेतका यी वृद्धले १५ कठ्ठा जग्गा ३ वर्षअघि प्रतिकठ्ठा ३० लाखका दरले बेचेका थिए। त्यो रकमबाट ६० लाखमा धनगढी हसनपुरमा घर किने। ‘बाँकी रकमबाट धर्मशाला बनाएको हुँ,’ उनले भने, ‘३ कोठा, १ हल, भान्सा र शौचालय तथा पर्खालसमेतको धर्मशाला निर्माणमा ५० लाख खर्च भइसक्यो, अझै केही काम बाँकी नै छ।’ भीमदत्त नगरपालिका ८ तिलाचौर नजिकको भम्केनी धाम परापूर्वकालदेखि धार्मिकस्थलका रूपमा रहेको छ। यसको महत्त्व नेपालका प्रथम जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले २ वर्षअघि यहाँ महायज्ञ गरेपछि धार्मिक महत्त्व अरू बढेको हो। अशोक महरा भम्केनी धामबारे पहिल्यैदेखि जानकार थिए। जगतगुरुको आगमन र सानिध्यले उनमा यो क्षेत्रमा केही गर्न पाए हुन्थ्यो भन्ने चाहना जागेको उनी बताउँछन्।


‘मैले जगतगुरुसँग धर्मशाला बनाउने इच्छा जाहेर गरेँ,’ निर्माण थालनीबारे महरा भन्छन्, ‘जगतगुरु राजी हुनुभयो र धर्मशाला बनाउन १ कठ्ठा जग्गा उपलब्ध गराउनुभयो अनि शिलान्याससमेत आफंै गर्नुभयो।’ यसरी वर्षौंअघि देखि मनभित्र समाजका लागि केही गरौं भन्ने सपना बल्ल पूरा हुन लागेको उनले बताए। ‘५०/५५ लाख निजी खर्चमा धर्मशाला बनाएपछि यतिखेर मलाई के लाग्छ भने, ‘गाउँसमाजका लागि केही गरौं भन्ने अरूहरूमा पनि इच्छा जागोस् भन्ने मेरो कामना हो।’ यी मनकारी वृद्धको बाल्यकाल भने निकै कष्टकर रह्यो। बुवा उनी केटाकेटी हुँदै बितेका थिए। आमाले उनलाई मामाघरमा राखेर हुर्काइन्। ‘१०/१२ वर्षकै उमेरमा पारि धार्चुलाको नारायण आश्रम पुगे, त्यहाँबाट पिथौरागढमा नोकरी गरेँ, आफंैले चिया पसल चलाएँ,’ उनी सम्झन्छन्, ‘२४ सालतिर तराईमा बसोबास खुलेको थाहा पाएर जग्गा पाइने आसमा यता आइपुगेँ।’ उनका २ छोरा र ३ छोरी छन्। ‘मैले यति ठूलो रकम समाज सेवामा खर्च गर्दा छोराहरूले कतै अवरोध गरेनन्, बरु जेठो छोरा २ वर्षसम्म धर्मशाला निर्माणमा सँगै खट्यो।’ उनले यसअघि आत्मज्ञान प्रचार समितिलाई समेत घर नजिकैको ४५/५० लाख पर्ने १ कठ्ठा जग्गा भवनका लागि नि:शुल्क उपलब्ध गराए।

प्रकाशित : माघ १३, २०७४ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?