१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

३३ हजार घर बिजुलीविहीन

खगेन्द्र अवस्थी

काठमाडौँ — बैतडी– जिल्लाका ३३ हजार घरका बासिन्दा अहिले पनि झरो र टुकीको उज्यालोमा बस्नुपरेको छ। यीमध्ये केहीले सोलार बत्तीको प्रयोग गर्दै आए पनि आर्थिक अवस्था कमजोर भएका अँध्यारोमै बस्न बाध्य छन्।

सदरमुकाममा बिजुली पुगेको ३२ वर्षमा ३० प्रतिशत घरले मात्रै बिजुली प्रयोग गर्न पाएका छन्। स्थानीय उत्पादित, भारतबाट आयात गरेको, अपी हाइड्रोपावर, चमेलिया जलविद्युत् र राष्ट्रिय प्रसारण लाइन पुग्दा पनि गाउँमा विद्युत् लाइन विस्तार नहुँदा स्थानीय अँध्यारोमै बस्नुपरेको हो।


०४२ सालमा झुलाघाट हुँदै भारतबाट ११ केभी प्रसारण लाइन बैतडी सदरमुकाम जोडिएको थियो। ०४७ मा पाटनमा सुर्नयागाड साना जलविद्युतबाट २ सय किलोवाट उत्पादन गरियो। ०५६ सालमा ३३ केभी राष्ट्रिय प्रसारण लाइन जोडिए पनि ३३ हजार घरधुरीमा विद्युत् पुग्न सकेको छैन।


जिल्लाका ४५ हजार घरधुरीमध्ये १२ हजारमा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको छ। ३ हजार घर लघु जलविद्युतबाट उत्पादित बिजुलीको आंशिक पहुँचमा छन्। राष्ट्रिय प्रसारण लाइन तथा भारतबाट आयात गरिएको बिजुली र पछिल्लो समय चमेलिया आयोजना सम्पन्न भएर बत्ती बले पनि ग्रामीण बस्तीसम्म पुग्न सकेको छैन। ४ नगर र ६ गाउँपालिका रहेको बैतडीमा नगरपालिकामा समेत बिजुली पुग्न नसक्दा स्थानीय अन्धकारमा बस्न बाध्य छन्। ८ मेगावाटको अपी हाइड्रोपावर र ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाको उत्पादनस्थल आसपासकै बासिन्दाले समेत बिजुली बाल्न नपाएको स्थानीयले बताए।


पुर्चौडी, मेलौली नगरपालिकामा राष्ट्रिय प्रसारण लाइन पुग्न सकेको छैन। पाटन र दशरथचन्द नगरपालिकाकै सबै गाउँमा विद्युत् पुगेको छैन। पोल गाडिएको वर्षौं बित्दासमेत बत्ती बल्न नसकेको पाटन नगरपालिका ४ का चक्रबहादुर चन्दले बताए।


जिल्लामा थोरै बजेट आउने भएकाले सीमित ठाउँमा मात्र विद्युत् विस्तार गरिँदै आएको वितरण केन्द्र बैतडीले जनाएको छ। केन्द्रका प्राविधिक महानन्द जोशीले जिल्लाका सबै घरमा विद्युत् पुर्‍याउन ५ अर्ब बजेट र ३ वर्ष समय लाग्ने बताए। विद्युत् सुविधा नहुँदा गाउँपालिका र बडा कार्यालयको काम प्रभावित हुने गरेको छ। ग्रामीण क्षेत्रमा स्थानीय खोलाबाट उत्पादन गरिएको लघु जलविद्युत् योजना मर्मतसम्भार र आर्थिक अभावमा बन्द छन्। ती योजना बन्द हुँदा बिजुली प्रयोग गर्दै आएकाले सोलार, मट्टितेलको भर पर्नुपर्छ।


लघु जलविद्युत् आयोजना बन्द भएसँगै गाउँमा बिजुलीबाट सञ्चालनमा आएका साना उद्योग, कुटानी पिसानी मेसिन बन्द भएको पुर्चौडी नगरपालिका ७ का गणेशदत्त जोशीले बताए। सिगास, डिलाशैनी, पञ्चेश्वर, शिवनाथ गाउँपालिका र मेलौली नगरपालिकामा बिजुली पुग्न सकेको छैन। सोलार जडान गरेर कामकाज गर्दै आए पनि हिउँदमा घाम लाग्न दिनुपर्ने कर्मचारी बताउँछन्। विद्युत् असुविधाका कारण गाउँपालिकामा बैंकिङ सेवा सुरु हुन सकेको छैन।


यो वर्ष सम्पन्न निर्वाचनका हरेक उम्मेदवारले गाउँमा सडक, बिजुली, खानेपानी, स्वास्थ्यलगायत आधारभूत सुविधा पुर्‍याउने बाचा गरेका थिए। सर्वसाधारण मतदाता भने उक्त बाचा पूरा हुने पर्खाइमा छन्। ‘गाउँमा सबै सुविधा ल्याउँछौं भनेका थिए, गाडी चढ्न र बिजुली बाल्न पाए सिंहदरबार नै पुगेको सम्झन्थ्यौं,’ सिगास ३ का वीरसिंह धामीले भने, ‘चुनाव जितेर जनप्रतिधिले भर्खर काम सुरु गरेका छन्, १/२ वर्ष हेरौं।’

प्रकाशित : माघ १३, २०७४ ११:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?