कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नहरमा ठेकेदारको लापरबाही

सिक्टा सिँचाइ
२८ महिनामा २३ किमि शाखा नहर बनाउने जिम्मा लिए पनि पप्पु जेभीद्वारा १९ महिनामा जम्मा २ प्रतिशत काम

नेपालगन्ज — बहुप्रतीक्षित सिक्टा सिँचाइ आयोजनाको मूल नहरमा पानी छाड्न सुरु गरिए पनि शाखा नहरको काम ठेकेदारको लापरबाहीले अलपत्र छ । डुडुवा शाखा नहर निर्माण निर्धारित समयभित्र नसकिने सम्भावना बढेपछि किसान चिन्तित छन् । 

नहरमा ठेकेदारको लापरबाही

कोस्टल/पप्पु जेभीले २० जुन २०१६ मा २८ महिनाभित्र निर्माण पूरा गर्ने गरी नहरको ठेक्का लिएको थियो । तर, १९ महिना बितिसक्दा जम्मा २ प्रतिशत काम सकिएको छ । ‘अर्को हिउँदसम्म खेतमा पानी पुर्‍याउने लक्ष्य हो तर समयमा काम नहुँदा लक्ष्य पूरा गर्न धेरै कठिन भइसकेको छ,’ आयोजनाका सिनियर डिभिजन इन्जिनियर प्रकाश कार्कीले भने, ‘ठेकेदारले विभिन्न निहुँ बनाएर काम सार्दै आएका छन् ।’ भएको कामसमेत मापदण्डविपरीत रहेको उनले बताए । कामको गति तीव्र बनाउन पटकपटक आग्रह गरिए पनि ठेकेदार पक्षले बेवास्ता गरेको आयोजनाले जनाएको छ । ‘शाखा नहरको काम ढिलाइले मूल नहरमा पूरा पानी छाड्नसमेत सकिएन,’ कार्कीले भने, ‘यो अवधिमा ६० प्रतिशत काम पूरा हुनुपर्ने हो तर अहिलेसम्म जम्मा २ प्रतिशत प्रगति छ । २३ दशमलव २ किमि लामो नहर कहिले पूरा हुने हो निश्चित छैन ।’ निर्माण कम्पनी कोस्टल/पप्पु जेभीले ढुंगागिट्टी, रूख कटान, इन्धन अभाव, विद्युतका पोल हटाउन समस्या भएकाले निर्माण सोचेजसरी अघि बढाउन नसकिएको दाबी गरेको छ । कम्पनीले समयमै कठिनाइबारे जानकारी नगराउने तर आयोजनाले ताकेता गर्दा विभिन्न निहुँ देखाउने गरेको आयोजनाका प्राविधिक बताउँछन् । अहिलेसम्म नहरको डेढ किलोमिटरमा मात्र माटोको काम भएको छ । नहर १५ किलोमिटर खनिए पनि ‘सेफ साइड’ को मापदण्ड पूरा गरिएको छैन । ठेकेदारलाई डिजाइन स्टिमेटअनुसार काम गर्न भनिए पनि सुधार गर्न चासो नदेखाएको आयोजनाले जनायो । ‘एक त कामै कम भएको छ । भएको पनि डिजाइनअनुसार नहुँदा थप अन्योल भएको छ,’ सिनियर इन्जिनियर कार्कीले भने ।

डुडुवा शाखा बाँकेको १६ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउने गरी निर्माण गर्न लागिएको हो । आयोजनाका अनुसार यो सबैभन्दा ठूलो शाखा नहर हो । डुडुवा शाखाबाट कोहलपुर नगरपालिका, नेपालगन्ज उपमहानगरपालिकाका मनिकापुर, हिरमिनिया, राँझा, डुडुवा गाउँपालिकाको कम्दी, बैजनाथ गाउँपालिकाको वनकट्टी, खजुरा गाउँपालिकाको मानपुर, इन्द्रपुरलगायत क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउने योजना छ । नहर निर्माणका लागि ९८ करोड रुपैयाँमा सम्झौता गरिएको छ ।

मूल नहरमा पानी छाडेपछि राहत

सिक्टाको मूल नहरबाट अहिले करिब तीन क्युमेक्स पानी सिँचाइका लागि छाडिएको आयोजनाले जनाएको छ । त्यसबाट पूर्वमा करिब पाँच सय र पश्चिममा पाँच सयदेखि एक हजार हेक्टरमा सिँचाइ पुगेको छ । सिक्टाले केही पानी छोडेपछि किसानलाई राहत मिलेको नेपालगन्ज उपमहानगरपालिका–२० मनिकापुरका बन्धुराम खटिकले बताए । ‘खडेरीले गहुँ सुक्ने चिन्ता भएका बेला सिक्टाले पानी छाडेपछि आसपासका किसानलाई राहत मिलेको छ,’ उनले भने । तर, केही किसानले भने जथाभावी पानी छाडिँदा गहुँबाली डुबानमा परेको जनाएका छन् ।

मानपुर, बेलहरी, कोहलपुर नगरपालिकाको गनापुरलगायत क्षेत्रमा पानी छाडिएको डिभिजन इन्जिनियर कार्कीको भनाइ छ । ‘यसले सुक्खा मौसममा किसानलाई राहत मिलेको छ,’ उनले भने, ‘जथाभावी बगेको पानीलाई व्यवस्थित गरिनेछ ।’

आयोजनाले मूल नहरबाट करिब २४ किमि दूरीमा पानी छोडेको छ । तर, डुडुवा शाखा नहर व्यवस्थित नभएकाले किसानलाई पर्याप्त पानी वितरण गर्न नसकिएको कार्कीले बताए । आयोजनाका अनुसार अगैया–कोहलपुर–एचगाउँ–जेठीनालासम्मको ४५ किलोमिटर पश्चिम मूल नहरको काम सकिएको छ । बाँधको सबै काम पनि पूरा भइसकेको छ ।

अगैया–बैजापुर–नरैनापुर–कटकुइयासम्मको साढे ५३ किलोमिटर नहरको काम भर्खरै सुरु गरिएको छ । करिब ४५ किलोमिटर नहर क्षेत्रमा रूखैरूख पर्छन् । तिनमा टाँचा लगाई वन मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा प्रस्ताव लगिँदैछ । आयोजना सम्पन्न भएपछि २८ सय हेक्टरमा सिँचाइ सुविधा पुग्ने उल्लेख गर्दै सिनियर डिभिजन इन्जिनियर अनुभव चौधरीले भने, ‘डिभिजनले निर्माण गरेको नहरलाई बॉध छेकेर सिक्टाको पानी ती क्षेत्रमा लैजाने योजना हो ।’

पश्चिमतर्फको सिंधिनिया शाखाको १९ दशमलव ६ किलोमिटर नहर निर्माणको काम करिब ८० प्रतिशत सकिएको छ । उक्त नहर निर्माणपछि २ हजार १ सय हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा हुनेछ । यो शाखाको काम यसै आर्थिक वर्षभित्र सकिने चौधरीले बताए । ‘असारसम्ममा सिंधिनियाको २ हजार र डुडुवाको ५ हजार हेक्टरमा सिँचाइ सुविधा पुग्नेछ,’ उनले भने ।

कोहलपुर पश्चिम क्षेत्रका लागि अकलघरवा शाखाको ७ किलोमिटर नहर निर्माणका लागि टेन्डर प्रक्रिया सुरु भएको छ । त्यस्तै पेडारी शाखा, प्रसेनीपुर, गुरुवागाउँ, टिटिहिरिया र थपुवा शाखाको डिजाइन निर्माण र टेन्डर प्रक्रिया भइरहेको आयोजना कार्यालयले जनाएको छ ।

प्रकाशित : माघ २, २०७४ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?