माछाबाटै १० लाखभन्दा बढी आम्दानी

मनोज पौडेल

कपिलवस्तु — उनी बुर्का लगाएर बस्थिन् । निरक्षर उनको दैनिकी कष्टकर थियो । पति घरमै बस्थे, केही गर्थेनन् । परिवार धान्न गाह्रो भएका बेला कपिलवस्तु ४, महुवाकी अकालवुन निशा समूहमा आबद्ध भइन् । आबद्ध भएपछि धेरै सिकिन् । आर्यआजर्नका विभिन्न सीप जानिन् । सीपलाई व्यवहारमा उतारिन् । 

मुस्लिम समुदायमा महिलाहरू घरबाट निस्कनु राम्रो मानिँदैन । तर, केही गर्न घरबाहिर निस्कनैपर्छ भनेर बुर्का उघारेर काममा जुटिन् । ‘धेरैले कुरा काटे,’ उनले भनिन्, ‘तर धर्मलाई सम्मान गर्दै अघि बढें ।’ बल्ल ३७ वर्ष पुगेकी उनी मुस्किलले नाम मात्र लेख्छिन् । तर, समूहमा छलफल भइरहँदा उनको ध्यान माछापालनतिर तानियो । ‘माछापालन गर्छु भनेर अठोट गरें,’ उनले भनिन्, ‘अल्लाहले जुराइदिएपछि अहिले कामबाट सन्तुष्ट छु ।’ ३ वर्षअघि समूहबाट १५ हजार ऋण लिएर उनले नपुग रकम सरसापट गरी १ लाखमा नगरपालिकाको सार्वजनिक पोखरी ठेक्कामा लिएर माछा पालिन् । २ वर्षको ठेक्कामा ५ लाखभन्दा बढी फाइदा भयो । फाइदाले व्यवसायमा लाग्न अझ उत्प्रेरित गर्‍यो । दोस्रोपटक उक्त पोखरी फेरि ठेक्कामा लिँदा बोलकबोल रकम लेख्दा आफ्नै त्रुटि भएर पाउन सकिनन् । अशिक्षाकै कारण ठेक्का नपाउँदा समस्या भयो । तर, उनले हरेस् खाइनन् । ‘फेरि आफैं केही गर्छु भनेर लागें । आफ्नै धान उब्जनी गर्ने खेतमा पोखरी खनाएँ,’ उनले भनिन् ।

१० कठ्ठामा सानाठूला ३ पोखरी खनेकी छन् । आम्दानीले पोखरी खनिन् । विभिन्न जातका १३ हजार ५ सय माछा पालेकी छन् । उनको लगन र उत्साह देखेर कृषि कार्यालयले माछा पोखरी खन्न सहयोग गरेको छ । माछाका बारेमा जानकारी छ । भुरा दाना लिन आफंै बजार जान्छिन् । माछामै भविष्य बनाउँछु भन्दै दिनरात लागेकी छन् । माछाबाट डेढ वर्षमा उनले १० लाखभन्दा बढी आम्दानी गरिन् ।

आम्दानीले पतिलाई वैदेशिक रोजगारका लागि कतार पठाइन् । सिक्दै जाँदा माछाबारे उनमा राम्रो ज्ञान भएको छ । कुन माछाबाट बढी फाइदा र पाल्न सजिलो हुन्छ उनलाई कण्ठै छ । रोगव्याधी लागे आफैं औषधि छर्छिन् । १ चौकीदार र उनी दिनभरि माछा स्याहारसुसार गरी बस्छन् । माछा बेच्नु परे मजदुर खोज्छिन् । राम्रो र स्वस्थ माछा दिने हँुदा माछा लिन व्यापारीहरू उनको घरै पुग्छन् ।

माछासँगै पोखरीको डिलमा उनले वर्षयता कुखुरापालन पनि थालेकी छन् । ५ सय कुखुरा पाल्ने खोर बनाएकी छन् । ४ लटमा ५ लाखको कुखुरा बेचिसकेको उनी सुनाउँछिन् । २ लाखभन्दा बढी नै आम्दानी भयो । ‘माछाका लागि समय दिनैपर्छ,’ उनले भनिन् ,‘त्यही बेला कुखुरालाई पनि स्याहार गर्छु ।’ उनी अहिले पूरै व्यावसायिक भएकी छन् । ४ छोरीलाई गाउँमा खुद्रा पसल खोलिदिएकी छन् । छोरीले पालैपालो पसल हेर्छन् ।

उनले तौलिहवामा १२ लाखमा आधा कठ्ठा घडेरी पनि किनेकी छन् । कुखुराको आम्दानी र पतिले कमाएको रकमले गाउँमा ६ कठ्ठा खेत किनेकी छन् । ‘९ लाखमा किनेको ७ लाख दिइसकें,’ उनले भनिन्, ‘२ लाख यो वर्षको माछाको आम्दानीले बुझाउने योजना बनाएकी छु । समूहको १५ हजार ऋण तिरें ।’ राम्रो काम गरेकाले समूहले लघु उद्यम सञ्चालन गर्न २५ हजार अनुदान दिने निर्णय गरेको उनले सुनाइन् ।

प्रकाशित : माघ १, २०७४ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्

महोत्सवको आकर्षण फोटो प्रदर्शनी

कान्तिपुर संवाददाता

म्याग्दी — बेनीमा जारी फोटो प्रदर्शनीमा जिल्लाका विभिन्न पर्यटकीय स्थल, धार्मिकस्थल, सांस्कृतिक एवं सामाजिक रहनसहन झल्काउने तस्बिर राखिएका छन् । म्याग्दी महोत्सवको प्रमुख आकर्षण बनेको प्रदर्शनी हेर्न दर्शकको भीड लागेको छ ।

उद्घाटनका लागि आएका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पनि प्रदर्शनीको रुचिपूर्वक अवलोकन गरेका थिए । पत्रकार तथा अन्य व्यक्तिले खिचेका तस्बिरहरू संग्रह गरीे प्रर्दशनीमा राखिएका हुन् । प्रदर्शनीमा ५० वर्षअघि खिचिएका भूगोल र जनजीवन झल्काउने तस्बिरहरू पनि छन् ।
‘दैनिक करिब ३ हजार दर्शकले तस्बिर अवलोकन गरेका छन् । प्रदर्शनीमा युवा र बालबालिकाको आकर्षण धेरै छ,’ फोटो प्रदर्शनी तथा डकुमेन्ट्री संयोजक भोजबहादुर रिजाल भन्छन्, ‘नयाँ पुस्तालाई आधा शताब्दीअघिको बेनी सहर, जिल्लाका विभिन्न भूगोल, कला, संस्कृति र रहनसहन बुझ्न मद्दत पुर्‍याएको छ ।
त्यसैगरी अमृत श्रीपालीले बनाएका पर्यटकीय स्थल, धार्मिकस्थल, सांस्कृतिक एवं सामाजिक रहनसहन झल्काउने ५० चित्रकला पनि छुट्टै प्रदर्शनीमा राखिएका छन् । एउटा चित्रको १२ हजारसम्म मूल्य राखिएका उनको चित्रकला प्रदर्शनीमा पनि दैनिक ३ हजार बढी दर्शकले अवलोकन गरिरहेका छन् ।
‘धेरैले रुचिपूर्वक चित्रकला अवलोकन गर्नुभएको छ । घोडेपानी, रिखार, खयर, जगन्ननथसमेत केही चित्रलाई भने धेरैले मन पराउनुभएको छ,’ श्रीपालीले भने, ‘पानी चित्रहरू राखेर घर सजाउने सौखिनहरू पनि बढेका छन् । होटेल, रेस्टुरेन्ट क्षेत्रमा बढी बिक्री भएको छ ।’

प्रकाशित : माघ १, २०७४ ०७:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×