२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

बाँझो बन्यो खेतीयोग्य जमिन

खगेन्द्र अवस्थी

बैतडी — बँदेलले खेती नोक्सान पार्न थालेपछि जिल्लाका लेकाली क्षेत्रको जमिन बाँझो बन्न थालेका छन् । बँदेलले खाएर आलुको बीउसमेत जोगाउन नसकिने अवस्था भएपछि अहिले खेतीयोग्य जमिन चरन क्षेत्र बनेको छ ।

बाँझो बन्यो खेतीयोग्य जमिन

आलु, मकै, कोदो खेतीबाट आम्दानी गर्दै आएका कृषकहरू बाली उत्पादन नहुँदा मर्कामा परेका हुन् । बँदेल, दुम्सीले लेकाली भेकको आलु उत्पादन घटेको छ । श्रीभावर, बाजपानी, मोतिनगर आलु खेतीका लागि उर्वर मानिन्थ्यो । जंगलछेउको जमिनमा उत्पादन हुने आलु बँदेलले नोक्सान गर्न थालेपछि ५/७ वर्षयता खेती गर्नै छाडेको स्थानीय बताउँछन् ।

फागुनदेखि असोजसम्म २ पटक आलु खेतीबाट आम्दानी गर्दै आएका यहाँका कृषकको आम्दानीको स्रोत पनि घटेको छ । खोड्पे–बझाङ सडक आसपासका बासिन्दाले आलु खेतीबाट राम्रो आम्दानी गर्दै आएका थिए । जयपृथ्वी राजमार्गको जंगल आसपास आलु खेती गरिने फाँटहरू अहिले बाँझो बनेका छन् । काँडाको बार, खाल्डो खनेर र पासो थापेर बँदेल आतंक रोक्ने प्रयास असफल भएपछि किसानले खेती छाडेका हुन् । ‘८/१० वर्ष अघिसम्म आलुबाट राम्रै आम्दानी हुन्थ्यो, अहिले लगाउनै छाडेको ४/५ वर्ष भयो,’ सुर्नया गाउँपालिका ६ का जयराज अवस्थीले भने, ‘एकैदिन आएर बँदेलले सखाप पार्छ, बीउसमेत बचाउन सकिँदैन, लगाएर मात्र के गर्नु ?’ सुर्नया ६ मा मात्रै आलु खेती हुने करिब ३ हजार रोपनीभन्दा बढी जमिन बाँझै रहेको अवस्थी बआउँछन् ।

बेंसीतिर बसोबास भएका कृषकहरू बर्खामा आलु र मकै खेती गर्न लेक आउने चलन थियो । उत्पादन राम्रो हुने भएपछि किसानले आफ्ना बारीसँगै आलुखेतीकै लागि सामुदायिक वन र सरकारी जमिन पनि प्रयोगमा ल्याएका थिए । पछिल्ला वर्ष केही परिवारले राति पहरा दिएर खेतीको प्रयास गरे पनि जोगाउन नसक्दा जमिन बाँझो छाडन बाध्य भएको सुर्नयाकै महादेव अवस्थी बताउँछन् । ‘एकै परिवारले २० क्विन्टलसम्म आलु बेच्थे । घरखर्च २ सिजन आलु खेतीले धानिएको थियो,’ उनले भने, ‘खेती छाडेर सबैको आम्दानी मात्रै घटेन, उल्टै किन्नुपर्ने

अवस्था आयो ।’

जंगलमा झुन्ड बनाएर हिँड्ने बँदेलहरू हिउँदमा आहारा खोजीमा बेंसी झर्छन् । बर्खामा लेकतिर उक्लिने गरे पनि पछिल्ला वर्ष लेकबेंसी दुवै ठाउँमा बाह्रैमहिना बँदेलले बालीमा क्षति पुर्‍याउँदै आएको कृषकहरू बताउँछन् । घना बस्ती र बेंसीकै जमिनमा लगाइएको तरकारी र खाद्यान्न बालीसमेत जोगाउन मुस्किल भएको सिगास गाउँपालिका १ का करनसिंह धामी बताउँछन् ।

बँदेलकै कारण खेती नगरी बाझै रहेका जमिन प्रयोगमा आउन सकेको छैन । चरन क्षेत्र बनाए पनि पशुपालनबाट आम्दानी बढेको छैन । थोरै परिवार मात्रै लेकतिर भैंसी पाल्ने गरेका छन् । उक्त क्षेत्रमा स्याउ, ओखरलगायत हिउँदे फलफूल खेतीको विकल्प भए पनि स्थानीयको चासो कम छ । जंगली जनावरको क्षति र कृषकले मिहिनेत कम हुँदा बाँझो जमिन बढेको धामीको भनाइ छ । १/२ वर्ष बारीको पहरा दिन सके मात्रै फलफूलका बोट जोगाउन सकिने भएकाले कृषकले चासो नदिएको सुर्नया ७ का धनबहादुर कुँवरले बताए ।

प्रकाशित : पुस २३, २०७४ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?