१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

१४ हजार ऋणबाट मासिक १५ हजार कमाइ

खगेन्द्र अवस्थी

बैतडी — मजदुरी गर्न सीमापारिका भारतीय गाउँ धाउने बैतडी पञ्चेश्वर गाउँपालिका ४ का प्रकाश सार्की अहिले घरमै डोकोडालो बुनेर मनग्य आम्दानी गर्ने भएका छन् ।

१४ हजार ऋणबाट मासिक १५ हजार कमाइ

यही कामका लागि १४ हजार ऋण लिएका उनी अहिले महिनामै १५ हजारसम्म कमाउन थालेका छन् । डोकोडालो बनाउने काम सुरु गरेयता प्रकाशले कामको खोजीमा भौतारिनु परेको छैन । उनले निगालोका घरायसी सामान बनाएर बेच्छन् ।


गाउँकै आफू आवद्ध समूहबाट लिएको थोरै ऋणले उनी व्यवसायीको पहिचान बनाउन सफल भएका छन् । गरिबी निवारण कोषको कालापाट सामुदायिक संस्थाबाट १४ हजार लिएर निगालोका सामान बनाउन थालेपछि कामको खोजीमा भारत जाने दिन नआएको उनले बताए । ‘समूहबाट सुरुमा बाख्रा पाल्न साढे १० हजार लिएको थिएँ,’ उनले भने, ‘२ बाख्राबाट एकै वर्षमा ४ थपिएपछि काममा हौसला बढ्यो ।’


प्रकाशले घरै बसेर मासिक १५ हजारभन्दा बढी कमाउँछन् । ‘अहिले घरखर्च चलाउने समस्या छैन, यही पेसाबाट गर्जो टारेको छु,’ उनी भन्छन्, ‘सधैं भारत धाउँदा कमाइ जोगाउन नसकेपछि घरमै बसेर भएको सीप प्रयोग गर्ने सोच बनाएर यता लागेको हुँ ।’


घरबाहेक अरू जग्गा नभएर सुकुम्बासी बनेका उनी यही पेसामा निर्भर छन् । ‘खेतबारी छैन, आम्दानीको अन्य स्रोत पनि छैन,’ प्रकाशले भने, ‘यो पेसा सुरु गरेपछि राम्रै भएको छ, घरपरिवारको रेखदेख र आम्दानी सँगै गरेको छु ।’ भारतमा दु:ख गरेर काम गर्नुभन्दा आफ्नै घरमा बसेर गरेको कामले सहज भएको उनी बताउँछन् । भारतको मजदुरीभन्दा यहीँ बढी आम्दानी भएको उनले जनाए । बसीबसी डोकोडालो बुन्दै आम्दानी गर्न सक्दा जीवनमा कायापलट भएको उनको भनाइ छ । घरायसी प्रयोग हुने डोको, डालो, नांग्लोलगायत निगालोका उत्पादन बेच्न समस्या छैन । घरमा बसेर बनाएका सामान आसपासका गाउँमा सजिलै बिक्छन् । एउटा डोको ५ सयसम्ममा बिक्री हुने उनले सुनाए । बाँस र निगालो खेती घटदा उत्पादनमा भने केही समस्या आउने उनी बताउँछन् ।


जंगलमा निगालो कम पाइन थालेकाले खरबारीमा खेती गरे अरूले समेत आम्दानी गर्न सक्ने सम्भावना उनले सुनाए । पञ्चेश्वर आसपासका बासिन्दा मजदुरी गर्न दैनिक महाकालीपारिको भारतीय गाउँ र लोहाघाट बजारसम्म जान्छन् ।

प्रकाशित : पुस २१, २०७४ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?