कृषि पेसामा लागे राजी समुदाय

टीकापुर — कैलालीको भजनी नगरपालिका ९ भुरुवाका राजी समुदाय कृषि पेसातिर आकर्षित हुनथालेका छन् । पुख्र्यौली पेसाले जीवन धान्न नसकेपछि उनीहरु तालिम नै लिएर खेतीपातीमा लागेका हुन् ।

कृषि पेसामा लागे राजी समुदाय

‘माछा मार्ने, डुंगा चलाउने, मह काढने कामबाट अब गुजारा चल्दैन । वन र भीर माहुरीको मह काढने हाम्रो पुख्र्यौली काम हो तर त्यसलाई निरन्तरता दिएर गुजारा नचल्ने भो,’ भजनी ९ भुरुवाका गोले राजीले भने, ‘मौरीको मह पनि सिजनमा मात्र पाइन्छ । यसले खानलाउन पुग्दैन ।’

राजी समुदायले मह काढने पेसा छाडेका छैनन् । तर यससँगै खेतीपातीमा पनि लागे । केही वर्षअघिसम्म वन माहुरीको मह खोज्दै हिँड्ने प्रशस्त मह नपाइँदा खेतीपातीमा लागेका हुन् । ‘राजीको पुख्र्यौली पेसा मह काढने, डुंगा चलाउने अब घटदै गयो,’ भीमबहादुर राजीले भने ।

वनका तरुल, भ्याकुर र गिट्ठाले छाक टार्नेलाई आजभोलि तरकारी नभएर खाना नरुच्ने भएको फूलकुमार राजीले बताए । उनले भने, ‘घर माहुरी पालेको छु । मह बेच्छु, तरकारी बेच्छु र कुखुरा पनि पालेको छु ।’ बाढीग्रस्त क्षेत्र भएकाले बगरमा तरभुजा, लौका, फर्सी, काँक्रा लगाएर आम्दानी गरेको उनी बताउँछन् । ‘खेतीपाती नजान्दा भारतीयको खेतबारीमा करिब ८ वर्ष मजदुरी गरेँ,’ भीमबहादुरले भने, ‘अब मजदुरीभन्दा आफ्नै काममा लागियो, आम्दानी पनि राम्रै भएको छ ।’ धेरै राजीसित जग्गाजमिन छैन । भएको २/४ कट्ठाले खानलाउन पुग्दैन । अबका दिनमा खेतीपाती, कुखुरापालन तथा माहुरीपालन व्यवसायमा नलागे खानै नपाउने अवस्था आएको उनीहरू बताउँछन् । ‘हामीसित श्रम गर्ने क्षमता छ । सीप छैन,’ राजी उत्थान कृषि सहकारीका अध्यक्ष भीम भन्छन् ।’

२०४० सालमा आएको बाढीले घरखेत बगाएपछि राजीहरू कैलालीको टीकापुर, चौमाला, लालबोझी, खैलाडलगायतमा बसोबास गरेका छन् । बसाइँ सरी आएका करिब ९० प्रतिशत राजीसित जग्गा नभएको राजी समुदायको जातीय संस्था राजी शाल्म समाजले जनाएको छ ।

प्रकाशित : पुस १९, २०७४ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?