१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

कुलो भत्किँदा साढे ४ सय रोपनी बाँझै

खगेन्द्र अवस्थी

बैतडी — दस वर्षअघि भत्किएको कुलो मर्मत नहुँदा मेलौली नगरपालिका १ स्यालतडीमा ५० परिवारको ४ सय ३२ रोपनी खेत बाँझै रहेको छ । कुलो मर्मत बजेट आउने आसमै स्थानीय लामो समयसम्म पर्खी बसेका हुन् ।

कुलो भत्किँदा साढे ४ सय रोपनी बाँझै

०६४ भदौमा पहिरोले मुन्द्रे र स्यालतडी गाउँ आउने साढे ३ सय मिटर कुलो भत्केको थियो । कुलो भत्किएयता ४ सय ३२ रोपनी (२२ हेक्टर) खेत बाँझो बनेको हो । सिँचाइका भरमा उब्जनी हुने खेत बाँझो बनेपछि ३१ परिवार गाउँ छोडेर मेलौली नगरपालिका ६ महारुद्रमा बस्दै आएका छन् । अन्य परिवार पनि बिचल्लीमा छ । बर्सेनि कुलो मर्मतको माग गरे पनि कहिल्यै सुनुवाइ भएको छैन ।

३ किलोमिटर टाढा भीर काटेर सुर्नया नदीबाट ल्याएको परम्परागत कुलो भत्किएपछि धान र गहुँ उत्पादन हुने खेतमा सिँचाइ अभावका कारण विस्थापित हुनुपरेको गुनासो स्थानीयको छ । सिँचाइ गर्न नसक्दा उब्जाउ खेत सिस्नु र झारपात उम्रिएर बन्जर बन्यो । बालुवा भएको खेतमा पानी नहुँदा उब्जनी हुँदैन । आकाशे पानीका भरमा १/२ वर्ष खेती गरे पनि बलौटे माटोमा उत्पादन नहुँदा बाँझै छाड्न बाध्य भएको स्थानीय देवदत्त भट्टले बताए ।

पानी बढी चाहिने माटो भएकाले आकाशे पानीका भरमा बीउ नै नउम्रिने किसान बताउँछन् । आफ्नै उत्पादनले ९ महिना खान पुग्ने खेत बाँझो हुँदा १०/१२ परिवारबाहेकले बसाइँ सर्नुपरेको छ । वैकल्पिक खेती लगाउने सुझाव पाए पनि बालीसम्बन्धी सीप र जानकारी नहुँदा उर्वरभूमि बाँझो छाड्न बाध्य भएको भट्टले बताए । ‘कुलो बन्ने आसमै १० वर्ष सकिए, भीरमा आफ्नै स्रोतले खन्न सक्ने अवस्था छैन, कसैले सहयोग गरेन,’ उनले भने, ‘सिँचाइको अन्य स्रोत छैन, पानी नभए बलौटे माटोमा केही फल्दैन ।’ पटकपटक कुलो मर्मत माग गर्दा पनि कतैबाट सहयोग नपाएको स्थानीयले बताए । भीरमा आफूहरूले बनाउने सम्भव नभएपछि गाउँ हँुदै जिल्ला परिषदको योजना पुस्तिकामा समावेश भए पनि रकम नआएको उनीहरूले बताए । ‘नदी किनारको उब्जाउ भूमिमा एकै सिजनमा ३ बाली फल्थ्यो,’ स्थानीय धना भट्टले भनिन्, ‘कुलो नबनेर खेत बाँझो हुँदा गाउँ छाड्न बाध्य भइयो ।’

६ महिनाभन्दा बढी खाना पुग्ने खेत बाँझो छोड्नु परेपछि यहाँ बासिन्दा भने भारततिर लागेका छन् । गाउँका आधाभन्दा बढी पुरुष भारत गएको स्थानीय रामचन्द्र ओझाले बताए । ‘खेत बाँझो छाडेर भारतमा मजदुरी गरी गुजारा गर्ने अवस्था छ,’ ओझाले भने । कुलो मर्मत माग गर्दै १० वर्षयता जिविस, सिँचाइ कार्यालय, कृषि विकासलगायत धाउँदासमेत समाधान नभएको उनीहरू बताउँछन् । मेवा, आँप, केरालगायत फलफूल खेती सम्भावना भए पनि बसाइँ सरेर बस्ती रित्तो हुँदा बाँदरलगायत जंगली जनावरबाट जोगाउन नसकिएको स्थानीयले बताए ।

प्रकाशित : पुस १५, २०७४ ०६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?