कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

प्रदेश ४ को मुख्यमन्त्री कार्यालय टुंगो

पोखरा — प्रदेश ४ को मुख्यमन्त्री कार्यालय कास्की जिल्ला समन्वय समिति (जिसस) को कार्यालयमा रहने भएको छ । निवास भने राष्ट्र बैंक चोकस्थित क्षेत्रीय सिँचाइको क्वाटरमा रहने सहमति भएको छ ।

मुख्यमन्त्रीको कार्यालय र निवास तत्कालका लागि अस्थायी रूपमा तोकिएको हो । सीप विकास कार्यालयको भवन निर्माण सकिएपछि मुख्यमन्त्रीको कार्यालय उतै सार्ने गरी हाललाई समन्वय समितिको कार्यालयमा राख्ने सहमति भएको कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले बताए । ‘सीप विकासको भवन तयार नहुन्जेलसम्मका लागि समन्वय समितिकै भवनका केही कोठा मुख्यमन्त्रीका लागि छुट्याउने सहमति भयो,’ उनले भने ।

मुख्यमन्त्री निवासका लागि क्षेत्रीय सिँचाइ निर्देशनालयको क्वाटर प्रयोगमा ल्याउने सहमति भएको छ । यो निवास पनि अस्थायी प्रकृतिको रहेको र प्रदेशसभा सुरु भएपछि मुख्यमन्त्रीको सुरक्षा, पदको गरिमा र सम्मानका हिसाबले उपयुक्त विकल्प खोज्ने निर्णय भएको प्रजिअ अधिकारीले बताए ।

सरकारले प्रदेश सभाबाट निर्णय नभएसम्मका लागि सम्भाव्य स्थानको पहिचानका लागि क्षेत्रीय प्रशासकको अध्यक्षतामा एउटा समिति गठन गरेको थियो । समितिका अध्यक्ष क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालको अध्यक्षतामा आइतबार बसेको बैठकले नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको भवनमा प्रदेशसभा राख्ने सहमति जुटाइसकेको छ । साथै प्रदेशसभा सचिवालय र अन्य प्रादेशिक संरचना पनि सोही स्थानमा रहने गरी स्थानीयस्तरमा सहमति भएको थियो । सभामुख, उपसभामुख, प्रदेश प्रमुख, प्रदेशका मुख्यसचिव, सचिव र विभिन्न मन्त्रालयका लागि भवनको छनोटमा पनि सहमति जुटिसकेको छ ।

सहक्षेत्रीय प्रशासक बाबुराम गौतमको संयोजकत्वमा गठित एक कार्यदलले तयार पारेको पोखराका भौतिक संरचनाको विवरणका आधारमा प्रादेशिक संरचनाका लागि स्थान तोकिएको हो । कार्यादलले तारागाउँ रिसोर्टमा उपसभामुखको निवास, जिल्ला भूसंरक्षण कार्यालयमा प्रदेशको मुख्य सचिवको निवास प्रस्ताव गरेको छ ।

प्रकाशित : पुस ४, २०७४ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?