१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

चुनावी चहलपहलबीच समुदायमा सौहार्दता

विराटनगर — महानगर सीमा जोडिएको मोरङको कटहरीसँगै मझारे अनि भाथिगछमा पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा मत माग्दै पहाडी समुदायका उम्मेदवारलाई मधेसी समुदायको घरदैलोमा पुग्नै समस्या थियो ।

पहिलो संविधानसभा निर्वाचनमा त पहाडी समुदायका उम्मेदवार र तिनका कार्यकर्ता मधेसी समुदायका घरमा पुग्नै सकेनन् । त्यो क्रम दोस्रो संविधानसभा निर्वाचनमा केही सुधार भयो । कटहरी गाउँपालिका ७ का राजेश भट्टराई भन्छन्, ‘यसपालि त यहाँका पहाडी र मधेसी समुदायबीचको द्वन्द्वलाई निमिट्यान्न पार्‍यो ।’

पहिलो मधेस आन्दोलनमा विराटनगरको हाटखोलामा सुरक्षाकर्मीको गोली लागेर यस क्षेत्रका तीन मधेसी युवाले ज्यान गुमाएपछि कटहरी, मझारे, भाथिगछ र सिसवनी जहदामा मधेसी र पहाडीबीच द्वन्द्व नै चर्किएको भट्टराई बताउँछन् । अब भने दुवै समुदायले एकअर्कालाई स्नेहका दृष्टिले हेर्ने गरेको उनको बुझाइ छ । सुरक्षाकर्मीको गोली लागेर तल्लु हास्दा, निर्मल राजवंशी र राजकुमार कामतको मृत्यु भएको दिन यस क्षेत्रका अधिकांश पहाडी समुदायका घर तोडफोड र लुटपाट भएको थियो । मृतक तीनै जनाको कटहरी बजारबीचमा सालिक बनाइएको छ ।

अधिकार प्राप्तिका लागि गरिएको मधेस आन्दोलनले सिर्जना गरेको पहाडी र मधेसी समुदायबीचको द्वन्द्व अन्त्य समयको मागले गरेको संघीय समाजवादी फोरमका तत्कालीन केन्द्रीय सदस्य मृतुञ्जय झाको बुझाइ छ । आन्दोलनताका दुई समुदायबीचको द्वन्द्वले समाजलाई विखण्डनझंै बनाएको उल्लेख गर्दै झाले भने, ‘अब त्यस्तो अवस्था छैन, मेलमिलाप बढेको छ ।’

कटहरी गाउँपालिका १ का वडाध्यक्ष कपुलाल माझी थारूले निर्वाचनको चहलपहलले सबै समुदायबीच सौहार्दपूर्ण सम्बन्ध बनेको बताए । ‘प्रतिनिधि र प्रदेशसभा निर्वाचनले पहाडी र मधेसी समुदायबीचको तीतो मेटेर भाइ–भाइको नाता कायम गरेको छ ।’

सुरक्षा प्रमुखद्वारा अनुगमन
भोजपुर– जिल्लामा निर्वाचन सुरक्षा संवेदनशीलतालाई ध्यान दिई सुरक्षा निकाय प्रमुखहरूले अनुगमन गरेका छन् । निर्वाचनविरोधी गतिविधि बढेपछि उनीहरूले अनुमगन गरेका हुन् । बिहीबार क्षेत्रीय र शुक्रबार केन्द्रीय स्तरको टोलीले अनुगमन गरी फर्केको प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले बताए ।

नेपाली सेनाको हेलिकप्टरमा नेपाली सेनाका रथी पूर्णचन्द्र थापा, सशस्त्र प्रहरी प्रमुख सिंहबहादुर श्रेष्ठ, नेपाल प्रहरी प्रमुख प्रकाश अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिपराज रेग्मी आएका थिए । टोलीमा गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा पनि छन् । उनीहरूले प्रजिअ तथा जिल्ला सुरक्षा निकाय प्रमुखहरूले निर्वाचनका लागि गरिएको सुरक्षा व्यवस्था तथा रणनीतिबारे जानकारी लिई निर्देशन दिएका थिए ।

 

प्रकाशित : मंसिर ९, २०७४ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?