२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

‘सत्ता प्राप्तिमा मात्र सीमित नहोस्’

वाम एकता अभियान
भरतपुर ब्युरो

काठमाडौं — प्रदेश र प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा प्रमुख दुई वामपन्थी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण अभियान घोषणा भएको छ । चुनावी तालमेलका लागि छलफलमा जुटेका प्रमुख वाम शक्ति एकै ठाउँ उभिन सहमत भएका हुन् ।

‘सत्ता प्राप्तिमा मात्र सीमित नहोस्’

दुवै दलले करिब ५ महिनादेखि थालेको एकता र सहकार्यको अभियानले ठोस रूप लिएको छ । माओवादीबाट टुक्रिएको नयाँ शक्ति नेपालसहित एउटै कम्युनिस्ट पार्टी निर्माणको अभियान मंगलबार घोषणा भयो । यसै घटनाक्रममाथि विभिन्न जिल्लाको रिपोर्ट : 

मुख्य कम्युनिस्ट पार्टीबीच सुरु भएको एकता अभियानलाई भैरहवाका अधिकांश सर्वसाधारणले सकारात्मक रूपमा लिएका छन् । कम्युनिस्ट पार्टीजस्तै प्रजातान्त्रिक शक्तिबीच पनि एकता अभियान सुरु गरी मुलुकमा अति कम संख्यामा राजनीतिक दल राख्न जरुरी भएको उनीहरूको बुझाइ छ । थोरै दल भए राजनीतिक स्थायित्व हुने, दलीय भागबन्डाको परिपाटी अन्त्य हुने र राजनीतिक भागबन्डामा जाने गरेको ठूलो राष्ट्रिय बजेट विकास निर्माणमा खर्च हुने धेरैको विश्वास छ । ‘मुख्य कम्युनिस्ट पार्टीबीच हुन लागेको वाम एकता अभियान सकारात्मक छ,’ एडभोकेसी फोरम रूपन्देहीका संयोजक तथा अधिवक्ता शिव गौडेलले भने, ‘अभियानले च्याउसरी दल उम्रिने र अनावश्यक पदीय भागबन्डाको परिपाटी अन्त्य गर्न सहयोग हुने छ ।’ उनले मुलुकमा २ वा ३ वटामात्र राजनीतिक दल कायम हुन जरुरी भएको बताए ।

वाम एकता प्रदेशसभा तथा प्रतिनिधिसभा चुनावसम्मका लागि मात्र हो वा दीर्घकालीन भन्नेबारे धेरैमा अन्योल छ । केहीले यस अभियानलाई कम्युनिस्ट पार्टी सत्तामा जाने खेल भएको र निर्वाचनमा पदको भागबन्डा नमिल्नासाथ फेरि पार्टी टुक्रिन सक्ने सम्भावना रहेको अडकल गरेका छन् । ‘यो एकता चुनावमा धेरै सिट ल्याएर सत्ता नछाड्ने चलाखीपन वा पछिसम्मका लागि हो हेर्न बाँकी छ,’ व्यवसायी महेन्द्रकुमार श्रेष्ठले भने, ‘वाम एकता भन्ने तर सत्ता नछाड्ने कस्तो खालको प्रवृत्ति हो ?’ 

मिश्रित प्रतिक्रिया
कपिलवस्तुमा वाम एकताबारे मिश्रित विचार देखिएको छ । आर्थिक समृद्धिका लागि वाम एकता अभियान अपरिहार्य भएको तर्क गर्ने बढी छन् । लोकतन्त्रवादीले यस्तै मोर्चा बनाएर अघि बढ्न सके विकासले गति लिने भनाइ कतिपयको छ । एकतालाई अधिकारकर्मी रवि ठाकुरले सकारात्मक रूपमा लिएका छन् । ‘संविधान कार्यान्वयनमा आएकाले मुलुकको समृद्धिका लगि पूर्णकालीन सरकार बनाउनुपर्छ,’ उनले भने, ‘यसका लागि एकता अपरिहार्य थियो ।’ मुलुकमा धेरै पार्टी हुँदा बेथिति निम्तिएको उनको तर्क छ । ‘लोकतन्त्र माथि खतराको संकेत पनि हुन सक्छ,’ उनले भने, ‘कांग्रेसले नेतृत्व लिएर लोकतन्त्रवादीको मोर्चा बनाउनु आवश्यक छ ।’

अधिवक्ता चक्रबहादुर क्षत्रीले अभियानलाई मुलुकका लागि नयाँ नेपाल बनाउने स्वर्ण अवसरका रूपमा लिएको बताए । ‘सधैं एक–अर्काप्रति टीकाटिप्पणि गर्ने नेता एकै थलोमा बसेर देश बनाउँछौं भन्नु राम्रो कुरा हो,’ उनले भने, ‘सबैले मुलुक र जनताको स्वार्थमा काम गर्नुपर्छ ।’ यो एकता साम्प्रदायिकता फैलाउनेलाई राम्रो प्रहार भएको धारणा सर्वसाधारणको छ । मधेसी बुद्धिजीवी सुरेश शर्माले वाम एकता २०१५ र २०४६ सालमा पनि भएको र फेरि नटुक्रियोस् भनी सुझाव दिए । फरक–फरक नीति र सिद्धान्त बोकेका मान्छे एउटै ठाउँमा आउनु राम्रो भएको स्थानीय बताउँछन् । 

व्यवस्थापन प्रमुख चुनौती
केन्द्रमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि तालमेल गर्ने सहमति भएलगत्तै सर्लाहीमा एमाले र माओवादी केन्द्रका केही नेता आफ्नो क्षेत्रमा सिट सुरक्षित गर्न दौडधुपमा लागेका छन् । तालमेलका नाममा अर्काे पार्टीले आफ्नो प्रभाव क्षेत्रमा टिकट लिन सक्ने भय केही नेतामा देखिन्छ ।

जिल्लामा प्रदेशका ८ र प्रतिनिधिसभाका ४ सिट छन् । एमाले र माओवादी मिल्दा १ र ३ नम्बर निर्वाचन क्षेत्रमा बलियो देखिन्छ । सोही क्षेत्रमा पर्ने ४ वटा प्रदेशसभा सिटमा पनि मजबुत हुने भएकाले बेलैमा आफ्नो टिकट सुरक्षित गराउन आकांक्षीको दौडधुप सुरु भएको हो ।

तालमेल घोषणाको भोलिपल्टै दसैंको चटारो छाडेर केही नेता काठमाडौं हिँडेका छन् । क्षेत्रमा अफूले गरेको मेहनतको फल तालमेलका नाममा अर्काले लैजाने सम्भावनाका कारण नेतालाई भनसुन गर्न टिकट आकांक्षी दौडधुपमा लागेका हुन् । अहिले नेताबीच कुन दलले भाग पाउने भन्ने होड सुरु भएको हो । माओवादी केन्द्रका नेता राजकुमार रायले एउटै कम्युनिस्ट पार्टी हुनु राम्रो भएको उल्लेख गरे । ‘हाम्रा पार्टी अध्यक्षले सबै कम्युनिस्ट एक हुनुपर्छ भन्दै आउनुभएको हो,’ उनले भने, ‘धोखाधडी नभई मिलेर जान सके अहिलेको तालमेलले पार्टी एक हुने वातावरण बन्छ ।’

केन्द्रमा मिले पनि तल्लो तहमा कार्यकर्ता व्यवस्थापन मुख्य चुनौती देखिएको छ । एमाले जिल्ला सचिव बेची लुंगेलीले तालमेल सुखद भए पनि तल्लो तहसम्म कसैलाई अन्याय नहुने गरी चुनावी व्यवस्थापन मिलाउन चुनौती रहेको बताइन् । ‘तालमेलले ऊर्जा दिएको छ,’ उनले भनिन्, ‘उचित ठाउँमा उचित व्यक्तिलाई टिकट दिएर व्यवस्थापन गर्न सकेमात्र यसको उचित परिणाम निस्कन्छ ।’

‘सत्तामा सीमित नहोस्’
वाम शक्तिको एकता अभियानलाई मकवानपुरका नागरिक समाज र वुद्धिजीवीले सकारात्मक रूपमा लिएका छन् । यद्यपि सबै तहका नागरिकसम्म सहमतिको सन्देश पुगिसकेको छैन । पुनरावेदन बार एसोसियसन हेटांैडाका पूर्वअध्यक्ष अधिवक्ता मदन दाहाल ठूला दुई वाम पार्टीबीचको सहमति सकारात्मक भए पनि आन्तरिक तयारी नगरी हतारमा गरिएको निर्णयले परिणाम निकाल्न नसक्ला कि भन्ने आशंका व्यक्त गर्छन् । ‘यही निहु पारेर सरकारले केन्द्र र प्रदेशको निर्वाचन गराउँदैन कि भन्ने डर पैदा गरेको छ,’ उनले भने ।

‘पार्टी बलिया भए भने लोकतन्त्र पनि बलियो हुने भएकाले दलहरू जुट्नु राम्रो हो,’ डेम्रोकेटिक लयर्स एसोसियसनका वरिष्ठ उपाध्यक्ष केशव काफ्लेले भने, ‘वाम पार्टीको एकताले प्रजातान्त्रिक शक्तिलाई एकजुट हुने वातावरण सिर्जना गर्नेछ ।’ यो सहमतिलाई सत्ता प्राप्तिको खेलमा सीमित नराखी मुलुकको बृहत् हितमा प्रयोग गर्न उनको सुझाव छ । गैरसरकारी संस्था महासंघ हेटांैडा अध्यक्ष कृष्ण धितालले विचार र उद्देश्य मिल्नेहरू सबै एकजुट हुन जरुरी रहेको बताए । देश र जनताले सहमतिबाट थोरै भए पनि राहत पाउने उनको तर्क छ । 

लामो समय टिक्नेमा आशंका 
नवलपरासी, कावासोतीका धर्म केसीलाई वाम एकता भन्ने शब्द निकै मन पर्छ । चार दशकभन्दा बढी समय कम्युनिस्ट पार्टीको कार्यकर्ता बनेर हिँडदा उनले विभिन्न कालखण्डमा फरकफरक पार्टीको काम नजिकबाट नियाले । अझै पनि कम्युनिस्ट नेता ‘मनैदेखि’ मिल्छन् भन्नेमा उनी ढुक्क छैनन् । ‘पाका कम्युनिस्ट नेता मोहनविक्रम, मोहन वैद्यजस्ता कट्टर वामपन्थी एकातर्फ छन्, प्रचण्ड, केपी ओलीजस्ता नेता अर्कोतर्फ चुनाव लक्षित कार्यगत एकतामा छन्,’ केसीले भने, ‘अहिलेको आवश्यकता एकता हो, ढिलै भए पनि कार्यगत एकता भएकाले खुसी लागेको छ ।’ 

यो एकतालाई लिएर कांग्रेसलगायत प्रजातन्त्रवादी शक्ति भने सशंकित छन् । आम कम्युनिस्ट कार्यकर्तामा ऊर्जा भए पनि चुनावको मुखमा एकता हुनुले टिकट पाउने आशामा रहेका जिल्ला तहका एमाले र माओवादी नेतामा भने तालमेलमा सिटै खोसिने हो कि भन्ने चिन्ता छ । चियापसल तथा चोक–चोकमा गठबन्धनबारे चर्चा बढेको छ । राजनीतिमा स्थायी शत्रु नहुने भन्दै शीर्षनेता क्षणभरमा मिलेपछि गाउँतहका कार्यकर्तालाई समेत राजनीतिका नाममा प्रतिशोध राख्न नहुने भावना जागेको सुनवलका सञ्जीव भट्टले बताए । ‘हामीलाई शान्ति र विकास चाहिएको हो, मुलुकमा समृद्धि ल्याउने दिशामा जुनसुकै गठबन्धन भए पनि सर्वसाधारणलाई मान्य हुन्छ,’ उनले भने । 

कतै हर्ष, कतै चिन्ता
पछिल्लो राजनीतिक ध्रुवीकरणले बारामा कतै हर्ष त कतै चिन्ता देखिएको छ । राजनीतिकर्मीमा हर्ष र खुसी छ । आमनागरिकमा भने राजनीतिक द्वन्द्व बढ्ने आशंकाले चिन्ता बढाएको छ । ‘वाम एकताको घोषणाले राजनीतिक असन्तुलन बढाएको छ, यसले आमनागरिकमा चिन्ता बढाएको छ,’ नागरिक समाजका अगुवा हीरालाल साहले भने, ‘सन्तुलनका लागि अब प्रजातान्त्रिक धार एक हुनुपर्छ ।’ कतै एकता र ध्रुवीकरण भयो भने समाजलाई फाइदाभन्दा द्वन्द्व बढाउने उनको बुझाइ छ । 

कतिपयले एकता मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थिरताका लागि सकारात्मक कदम भएको ठम्याएका छन् । ‘फुटको राजनीतिका कारण देशले फडको मार्न सकेन, त्यसैले अब दलबीच एकताको खाँचो छ,’ निजगढका शिक्षक हस्तबहादुर लामाले भने, ‘समृद्ध देश बनाउन दलले टुक्रेर राजनीति गर्नुभन्दा एकताको राजनीति गर्नुपर्छ, अहिलेको आवश्यकता यही हो ।’

 

प्रकाशित : आश्विन १९, २०७४ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?