कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

सडक निर्माणले बस्ती पुरियो

प्युठान — स्वर्गद्वारी पुग्ने सडक निर्माण गर्दा निस्केको माटो र ढुंगाले स्थानीय खोल्सा पुरिँदा स्वर्गद्वारी नगरपालिका–४ ढाडगाउँमा वर्षातको भेल पस्ने गरेको छ । भेलसँगै आएको माटोढुंगाले स्थानीयको घरआँगन, गोठ पुर्नुका साथै खेतबारीसमेत पुरेर नोक्सान गरेको छ ।

 सडक निर्माणले बस्ती पुरियो

तीन दिनपहिले परेको पानीपछि आएको माटोको लेदोले घरआँगन पुरिदिएपछि हिजोआज माटो सोहोर्न सास्ती भएको स्थानीय निमा शाहीले दु:खेसो पोखिन् । ‘सबैका घरआँगन पहिरोसहित आएको माटोको लेदोले पुरेर बिजोग बनायो,’ शाहीले भनिन्, ‘बर्सेनि हामीलाई भेलले निकै दु:ख दिन थालेको छ ।’ उनले स्वर्गद्वारी पुग्ने सडक खन्न सुरु गरेको वर्षदेखि गाउँलेले वर्षातमा सास्ती बेहोर्दै आउनुपरेको बताइन् । स्थानीय चन्द्रेश्वरी प्राविमा समेत भल पसेर पुरिएको छ ।

‘दसैं मनाउन देश–विदेशबाट आफन्त जम्मा भएका छन् । घरआँगनमा भने भल पसेर बसिसक्नु छैन,’ स्थानीय जितबहादुर खड्काले भने । उनका अनुसार तीन वर्षयता स्थानीय धनबहादुर रोकाय, वामदेव रोकाय, चूडामणि रोकाय र सावित्रा केसीको परिवार भेलले घर पुरिएर विस्थापित भइसकेका छन् । २०६५ सालमा भिंगृ–स्वर्गद्वारी सडक ट्रयाक खोल्ने क्रममा डोजर लगाएदेखि गाउँमा भेल आउन थालेको स्थानीय बताउँछन् । त्यतिबेला जिविसमार्फत सडक खन्ने काम भएको थियो । ट्रयाक नमिलेको भन्दै पहिले खोलिएको ट्रयाक सडक डिभिजन कार्यालयले फेरेको छ ।
‘सडक खन्दा निस्केको माटोढुंगाले गाउँ पुरिएको गुनासो सरोकारवालासँग गरिरहेका छौं,’ स्थानीय बाली खड्काले भनिन्, ‘हाम्रो कुराको सुनुवाइ भएन । अहिले गाउँ नै उठिबास हुन थाल्यो ।’

गाउँका झन्डै ८० घरपरिवार विस्थापित हुने अवस्थामा रहेको स्थानीय प्रदीप साहीले बताए । सडकका कारण गाउँलेले सास्ती खेप्नुपरेको प्रति नगरपालिका गम्भीर भएको नगरप्रमुख नेत्रबहादुर रोकायाले बताए । उनले जिल्लाबाट टोली आएर ढाडगाउँको अवलोकन गरेको बताए ।

‘स्थानीयको गुनासो जिल्ला प्रशासन कार्यालयमा समेत आएको छ,’ प्रमुख जिल्ला अधिकारी कृष्ण घिमिरेले भने । समस्याको अध्ययन गरी निकास दिन स्वर्गद्वारी नगरपालिका प्रमुखको संयोजकत्वमा सडक डिभिजन, भूसंरक्षण, जिल्ला वन र प्राविधिक कार्यालय प्रमुख सदस्य र स्वर्गद्वारी नगरपालिकाका कार्यकारी अधिकृत सदस्यसचिव रहने समिति निर्माण गरेको घिमिरेले बताए ।

‘समितिबाट विस्तृत अध्ययन गरी सुझाव आउला,’ घिमिरेले भने, ‘सडक निर्माणको जिम्मा लिएका ठेकेदारलाई जथाभावी माटोढुंगा नफाल्न आग्रह गरेका छौं ।’ उनले स्थानीय स्तरबाट रोकथाम गर्न नसकिने सुझाव आए केन्द्रमा समेत बजेटको माग गरी रोकथाम गरिने बताए । 

स्वर्गद्वारी जाने सडक फराकिलो बनाएर कालोपत्रे गर्न १४ करोड ५६ लाख रुपैयाँमा ओसिस/डीएस जेभीले निर्माणको जिम्मा लिएको छ । स्वर्गद्वारी गेटदेखि तीन किलोमिटर सम्ममा निस्केको माटो बोकाएर अन्यत्र फाल्ने ठेकेदारसँगको सम्झौतामा रहेको सडक डिभिजन कार्यालय देवीस्थानका प्रमुख सुरेश न्यौपानेले बताए । सडक निर्माण गर्दा निस्केको माटो बोकाएर अन्यत्र फालेर मात्र समाधान ननिस्कने बताउँदै भेललाई माडी खोलासम्म जाने निकास खोल्नुपर्ने बताए ।

प्रकाशित : आश्विन ९, २०७४ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?