आफूखुसी नाम फेर्दै जनप्रतिनिधि

हाम्रा स्थानीय तह
कान्तिपुर संवाददाता

रोल्पा — माओवादी केन्द्रका तर्फबाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित निमकान्त डाँगी ‘जितजङ’ ले दुईखोली गाउँपालिकाको नाम फेर्ने निर्णय पारित गराए । गाउँसभामार्फत दुईखोलीको नयाँ नाम ‘परिवर्तन’ राख्ने निर्णय गर्दै मन्त्रिपरिषद्समक्ष प्रस्ताव पठाइने भएको छ ।

साबिकका इरिबाङ, पाछाबाङ, कुरेली, राङ्सी र राङकोट गाविसलाई गाभेर बनाइएको दुईखोली गाउँपालिकाको नाम इरिबाङ घर भएका तत्कालीन माओवादी लडाकु नेपबहादुर केसी ‘परिवर्तन’ को स्मृतिमा राख्ने गाउँसभाले निर्णय गरेको हो । गाउँपालिका अध्यक्ष डाँगीले माओवादी सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका सहिदको सम्मानस्वरूप गाउँपालिकाको नाम राखिएको बताए । तत्कालीन माओवादी लडाकुका कमान्डर ‘परिवर्तन’ ले लडाइँको अवधिमा कपिलवस्तुस्थित जंगलमा आन्तरिक विस्फोटमा परी ज्यान गुमाएका थिए ।

गाउँपालिकाका ६ वटै वडामा माओवादी केन्द्रकै प्रतिनिधि निर्वाचित भएका छन् । अन्य दलका प्रतिनिधिले सर्वदलीय छलफल नै नगरी मृतकका नाउँमा गाउँपालिकाको नाम राख्न प्रस्ताव अमान्य भएको बताएका छन् ।

यसैगरी सुवर्णावती गाउँपालिकाको नाम फेर्नेबारे छलफल सुरु भएको छ । मिझिङ, अरेश, तेबाङ, खुंग्री, घोडागाउँ, गजुललगायतका गाविसलाई गाभेर बनाइएको सुवर्णावती गाउँपालिकाको नाम गजुल घर भएका माओवादी लडाकुका तत्कालीन कमान्डर किमबहादुर थापा ‘सुनील’ को स्मृतिमा फेर्ने तयारी गरिएको हो । गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीमगरले प्रथम गाउँसभामा यसबारे प्रस्ताव ल्याउन खोजे पनि विपक्षी दलले विरोध गरेकाले फिर्ता लिएका थिए ।

‘यस क्षेत्रमा सहिद भएकामध्येमा सुनील उच्च तहका हुनुहुन्थ्यो । त्यसैले उहाँकै स्मृतिमा गाउँपालिकाको नाम राख्ने प्रस्ताव गरेका हौं,’ भदौ अन्तिममा आयोजित प्रथम गाउँसभामा अध्यक्ष घर्तीले भनेका थिए, ‘यसमा विपक्षीले विकल्प नदिए हुन्छ ।’ यस गाउँपालिकाका कतिपय वडामा कांग्रेसका प्रतिनिधिले जितेकाले यस विषयमा सर्वसम्मत निर्णय हुन सकेको छैन । 

कांग्रेसका तर्फबाट वडा नं. ४ बाट निर्वाचित अध्यक्ष गञ्जबहादुर क्षत्री महराले आफ्नो पक्षबाट यस विषयमा निर्णय गर्न नदिने बताए । ‘जबरजस्ती गरे अर्कै कुरा हो तर सहमतिमा यो निर्णय हुन दिन्नौं,’ उनले भने । व्यक्तिको नाममा गाउँपालिकाको नाम राख्न नहुने तर्क स्थानीयले गरेका छन् । राज्यले ‘सुनील’ र ‘परिवर्तन’ लाई ‘सहिद’ घोषित गरेको छैन । त्यस क्षेत्रबाट द्वन्द्वको अवधिमा मारिएका अन्य कार्यकर्ता र सर्वसाधारणले युद्धमै मारिएका आफ्ना परिवारका सदस्यमाथि ठूलो अपमान भएको गुनासो गरेका छन् ।

यसैबीच माडी गाउँपालिकास्थित जनप्रतिनिधिले घर्तीगाउँका क्रिश्चियन धर्मावलम्बीलाई केन्द्रित गरेर लाखौं बजेट विनियोजन गरेका छन् । चर्च निर्माण, चर्चसम्म पुग्न सडक निर्माण तथा उनीहरूको प्रचारमा सघाउ पुर्‍याउन माडी गाउँपालिका सभाले बजेट छुट्याएपछि स्थानीय तहमा विरोध सुरु भएको छ । उक्त गाउँपालिकामा माओवादी केन्द्रका प्रतिनिधिले जितेका छन् ।

सडक नामकरणमा आपत्ति

सिन्धुपाल्चोक– ग्रामीण सडकको नामकरणप्रति असहमति जनाउँदै सत्तारुढ दलका कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकाअन्तर्गतको माझीरुम्टी, टार, लेखर्क, गुन्सा हुँदै रैथाने जाने सडकको नाम ‘सहिद युक्तिबहादुर मार्ग’ राखिएपछि कांग्रेस, माओवादी केन्द्र र राप्रपा प्रजातान्त्रिकका कार्यकर्ताले गाउँपालिका घेरेर विरोध गरेका हुन् ।

गाउँपालिकाले द्वन्द्वकालमा माओवादी कार्यकर्ताले हत्या गरेका एमाले कार्यकर्ता युक्तबहादुर अधिकारीको नाममा सडकको नाम राख्ने निर्णय गरेको थियो । युक्तबहादुर गाउँपालिका उपाध्यक्ष सुनीता अधिकारीका पति हुन् । कांग्रेस कार्यकर्ता कालिका गोलेले एकलौटी निर्णय तत्काल सच्याउनुपर्ने बताए । एमालेबाहेक सबै दलका कार्यकर्ताको संयुक्त जुलुसले गाउँ परिक्रमा गरेको थियो । 

कालो झन्डासहित प्रदर्शनमा उत्रेका दलका कार्यकर्ताले उक्त सडकको नाम च्यो–च्यो मार्ग राख्नुपर्ने मागसमेत गरेका छन् । स्थानीय माओवादी कार्यकर्ता देवबहादुर थिङले गाउँका मुख्य सडक ४ लेन र शाखा सडक २ लेन बनाउने निर्णयमा पनि आफ्नो पार्टीको आपत्ति रहेको बताए । ‘मापदण्डअनुसार सडकको चौडाइ घटाइएको छ,’ उनले भने ।

माओवादी केन्द्रका वडाध्यक्षले सिलिन्डर मागे

विकास बजेटबाट कटौती हुने वडा नम्बर ८ र ९ का अध्यक्षले विपन्न र सीमावर्ती क्षेत्रका महिलाका लागि ग्यास सिलिन्डरको प्रस्ताव गरेका छन् । माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्षले निर्वाचनको समय ग्यास सिलिन्डर दिने वाचा गरेका थिए । वडा नम्बर ८ मा १ हजार १ सय घरधुरी र ९ मा २ हजारभन्दा बढी घरधुरी रहेको नगरपालिकाले जनाएको छ । वडाध्यक्ष हरिप्रसाद पासीले सीमावर्ती भारतीय जंगलबाट दाउरा बोकेर ल्याउँदा महिलाले निकै सास्ती भोग्नुपरेको र न्यून आयका महिलाको जीवनस्तरमा सुधार ल्याउन प्रस्ताव गरिएको बताए ।

महिलाको माग ‘मदिरा निषेध’

स्वराड (बैतडी)– जनप्रतिनिधिसमक्ष दुर्गमका महिलाको माग के होला ? सहजै अनुमान गर्ने कुरा विकास र सुविधा नै हो । तर, तल्लोस्वराड क्षेत्रका महिलाको माग भने बेग्लै छ । उनीहरूको प्रमुख माग 

आफ्नो गाउँबस्ती मदिरा निषेध गरिनुपर्ने छ । महिलाहरूले मदिरा बेचबिखन बन्द गर्न माग गर्दै स्थानीय तह र जनप्रतिनिधिलाई गुहारेका छन् ।

मेलौली नगरपालिका, पञ्चेश्वर र शिवनाथ गाउँपालिकाका महिलाहरू यतिबेला मदिरा निषेधको अभियानमा जुटेका छन् । गाउँमा जथाभाबी मदिरा बिक्री र सेवनले आफूहरू पीडित भएको उनीहरूले बताए । गाउँमा आयोजना हुने सबैजसो बैठक र सभामा उपस्थित महिलाहरू मदिरा निषेध गर्न माग गर्दै आएका छन् । 

 विकासभन्दा पहिले मदिरा बन्द गर्न आवश्यक रहेको उनीहरूले बताए । ‘सधैं बेचबिखन र सेवन व्यवस्थित गर्न माग गर्दै आयौं, समस्या बढ्दै जाँदा निषेधको माग गरेका हौं,’ शिवनाथ–५ उदयदेवकी काली साउदले भनिन्, ‘मदिराले घर, समाजमा झगडा र किचलो बढेको छ, धनसम्पत्ति र गरगहना सकिएको पत्तो हुँदैन, अन्य विकास पुगेर के गर्ने ?’ 

मदिराकै कारण परिवार र समाजमा झगडा र विवाद बढाएको स्थानीयको गुनासो छ । बाटोछेउको खेतबारीमा खाली सीसी फालेर घाँस काट्नसमेत समस्या भएको महिलाले बताए । पुरुष मदिरा सेवन गरी काममा नसघाउने, महिला र बालबालिकामा हिंसा गर्ने, धनसम्पत्ति उडाउने गरेको उनीहरूको भनाइ छ । 

मदिराले महिला र बालबालिकामाथि यातना र कुटपिट, गालीगलौज, दुव्र्यवहार बढाएको पञ्चेश्वर–२ महाकालीकी धना औजीले बताइन् । स्वराड क्षेत्रका १ नगरपालिका र २ गाउँपालिकामा ७० पसलले मदिरा बेच्ने अनुमति लिएका छन् । शिवनाथमा ३०, मेलौलीमा २३ र पञ्चेश्वरमा १७ फर्मले मदिरा बिक्रीको अनुमति लिएको घरेलु तथा साना उद्योग कार्यालय बैतडीले जनाएको छ ।

बिहानैदेखि मदिरा सेवन गरी पुरुषहरू घरबाहिर गएर जुवातासमा व्यस्त हुँदा पारिवारिक वातावरण बिग्रिएको मेलौली नगरपालिका–९ विशालपुरकी राधा भट्टले बताइन् । गाउँ खुला दिसामुक्त भए जसरी मदिरामुक्त बनाएमात्रै आर्थिक अवस्था सुधार हुने महिलाहरूको धारणा छ । ‘सबै मिलेर गाउँ खुला दिसामुक्त गर्‍यौं, अब सीसीमुक्त नबनाई भएन,’ राधाले भनिन्, ‘घरमा छाक टार्न मुस्किल हुन्छ, दिनभर काम गरेको पैसा साँझ मदिरा खाएर सक्छन् ।’ 

शिवनाथ गाउँपालिकाले असोज १ देखि मदिरा निषेध क्षेत्र घोषणा गरेको छ । सबै वडाबाट एउटै माग आएपछि गाउँ कार्यपालिकाले मदिरा निषेधको निर्णय गरेको गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले बताए । स्थानीय विक्रेताहरू राजस्व तिरेर अनुमतिपत्र नवीकरण गरिसकेको भन्दै बिक्री गर्न पाउनुपर्ने माग गर्दै उच्च अदालत पुगेका छन् । केही ठाउँमा जनप्रतिनिधिहरू नै मदिरा विक्रेता भएकाले दोहोरो निर्णयमा सहभागी भएका छन् । मेलौली नगरपालिकाले साँझ ५ बजेदेखि १० बजेसम्म बिक्री र सेवन गर्न पाउने निर्णय गरेको छ । गाउँका पसलमा जतिबेला पनि खुलेआम बिक्री भइरहेको स्थानीय बताउँछन् ।

प्रकाशित : आश्विन ९, २०७४ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सामग्री खरिदमा चर्को मूल्य

-४ हजारको क्यामेरालाई ७२ हजार
-विवादपछि निमित्त कार्यकारी जिसस तानिए
शाहीमान राई

यासोक (पाँचथर) — कार्यालय व्यवस्थापनका लागि सरकारले कुम्मायक गाउँपालिकालाई पठाएको १ करोडमध्ये ५२ लाख रुपैयाँ अनियमितता भएको भन्दै विवाद चर्किएको छ । कर्मचारीले सामान खरिदमा अनियमितता गरेको जनप्रतिनिधिको आरोप छ ।

कार्यालयका लागि दराज, कुर्सी, सोफा, फर्निचर, क्यामरालगायत सामान खरिदमा निमित्त कार्यकारी अधिकृत शिव राई र लेखापाल गोविन्द सारुमगर मिलेर ५२ लाख रुपैयाँ दुरुपयोग गरेको उनीहरूले बताए । यसबारे गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष जयबहादुर चेम्जोङ, उपाध्यक्ष सीता आचार्य, वडाध्यक्ष देवेन्द्रकुमार लावतीलगायत पदाधिकारीले जिल्ला समन्वय समितिको ध्यानाकर्षण गराएका छन् । कर्मचारीले कार्यकारी परिषद् बैठकमा अनुमोदनका लागि पेस गरेको बिल भर्पाईबारे छलफल हुँदा खरिद गरिएका सामग्रीको दरभाउ अस्वाभाविक देखिएकाले छानबिन थालिएको अध्यक्ष चेम्जोङले जानकारी दिए । ‘सामान खरिदमा परल मूल्यभन्दा धेरै बढी छ, कसरी पत्याउनु ?’ उनले भने, ‘हरेक सामानको मूल्य कति पर्छ, हामीलाई पनि थाहा छ ।’

बिल भर्पाई विश्वसनीय नभएपछि कार्यकारी अधिकृत र लेखापाललाई स्पष्टीकरण माग्दा चित्तबुझ्दो जवाफ नआएकाले छानबिनका लागि जिससमा पेस गरिएको १ नम्बर वडाध्यक्ष देवेन्द्रकुमार लावतीले बताए । उनका अनुसार कर्मचारी र पदाधिकारीबीच तीक्तता बढेपछि जिसस प्रमुख विमलप्रसाद सापकोटाले दुवै पक्षलाई राखेर विवाद समाधान गर्ने सहमति भएको छ ।

आन्तरिक छानबिन चित्तबुझ्दो नभए अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गर्ने जनप्रतिनिधिले चेतावनी दिएका छन् । राई र मगर मिलेर ४ हजार रुपैयाँ पर्ने क्यानन क्यामेराको ७२ हजार, ७ हजार पर्ने सोफासेटको १७ हजार राखेर बिल बनाएको वडाध्यक्ष लावतीले बताए । उनका अनुसार दराज, कुर्सी, टेबल, कार्पेट, स्टेसनरी कुनै पनि सामग्रीको मूल्य पत्याउन सकिने खालको छैन । सामग्रीको मूल्य चित्त नबुझेपछि कारोबारमा संलग्न व्यापारीलाई समेत उपस्थित गराई छानबिन भइरहेको लावतीले बताए । ‘जुन व्यापारीको बिल छ, उसैलाई सोधेर निर्णय गर्छौं,’ उनले भने, ‘कर्मचारीले घोटाला गरेको रकम असुल गरिछाड्छौं ।’

विवादपछि निमित्त कार्यकारी अधिकृत राईलाई जिससमै फिर्ता पठाइएको छ । खरिदारबाट नायब सुब्बामा बढुवा भएपछि वरिष्ठतमका आधारमा ६ महिनाअघि काम चलाउ निमित्त कार्यकारी अधिकृतको जिम्मेवारी पाएका उनले अनियमिततामा आफ्नो संलग्नता नभएको दाबी गरे । ‘जनप्रतिनिधिले मलाई मन पराएनन्, काम गर्ने चाहना भएन,’ राईले भने, ‘मैले त छोडिसकें, अनियमितता भएको आरोपबारे केही थाहा छैन ।’ आफ्नै हस्ताक्षरको चेकमार्फत रकम भुक्तानी भए पनि कमिसन नलिएको दोहोर्‍याउँदै उनले सामान खरिद, बिल भपाई मिलाउने सबै काममा लेखापाल मगर जिम्मेवार रहेको औंल्याए ।

सामान खरिद गर्दा व्यापारीले लेखापाललाई ४ लाख ७५ हजार रुपैयाँ उपलब्ध गराएको सुने पनि यकिन भन्न नसकिने राईले बताए । ‘मैले गल्ती गरेको छैन, प्रमाणसहित कमिसन लिएको औंल्याइदिए तिर्न तयार छु,’ उनले भने, ‘खरिद कार्यमा संलग्न लेखापालले नै व्यहोनुपर्छ, मेरो गल्ती ठहरे जेल पनि बस्न तयार छु ।’ यसबारे लेखापाल मगरको मोबाइल फोनमा प्रयास गर्दा सम्पर्क हुन सकेन ।

विकास वजेट कटौतीको विरोध

गुलरिया– वडास्तरीय भेलाले प्रस्ताव गरेको बजेट कटौती गर्न लाग्दा प्रतिपक्षले आपत्ति जनाएपछि नगरपालिकाको बैठक पाँचौंपटक पनि कुनै निष्कर्षमा नपुगी स्थगित भएको छ । गुलरियामा १२ वडाका लागि १ करोडका दरले १२ करोड विकास बजेट प्रस्ताव गरिएको छ ।

वडा भेलाले निर्णय गरेको प्रस्तावित बजेट नगरसभाबाट स्वीकृत गर्नुपर्ने कार्य विधिमा उल्लेख छ । करिब दुई सातादेखि त्यस विषयमा कुनै निर्णय हुन सकेको छैन । वडा नम्बर ४ का अध्यक्ष रामबहादुर रावलले नगर प्रमुख मुक्तिनाथ यादवले रकम हुँदाहँुदै पनि विकास बजेट कटौती गर्न लागेकामा आपत्ति जनाउँदै जस्ताको त्यस्तै पास नगरे स्वीकार्य नहुने बताए । बैठक लम्बिँदै जाँदा परिषद् ढिलाइ हुने र विकासको काम समयमा नहुने प्रतिपक्षको भनाइ छ ।

नगर प्रमुख यादवले बैठक स्थगित नभई छलफलमा केन्द्रित भएकाले लम्बिएको दाबी गरेका छन् । परिषद् नबस्दा पछि अनुमोदन हुने गरी शिक्षक र कर्मचारीको तलब भत्ता निकासा गरिएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित : आश्विन ९, २०७४ ०८:३५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT