२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

ताङ्लीचोकवासीले यसरी सम्झिए डा. हर्क गुरुङलाई

लमजुङ — भूगोलविद् डा. हर्क गुरुङलाई शनिबार उनको जन्मथलो मर्स्याङ्दी गाउँपालिका-७, ताङ्लीचोकवासीले सम्झिए । उनलाई स्थानीयले ठूलाकान्छाको रुपमा चिन्दछन् ।

ताङ्लीचोकवासीले यसरी सम्झिए डा. हर्क गुरुङलाई

२०६३ असोज ७ गते (सेप्टेम्बर २३, २००६) का दिन ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटना हुँदा डा. हर्कसहित २४ जना देशी-विदेशी हस्तीहरुले ज्यान गुमाएका थिए । तिनै डा. हर्कको जन्मथलो ताङलीचोकमा निर्माण गरिएको समाधिस्थलमा शनिबार डा. हर्क गुरुङको ११ औं स्मृति दिवस मनाइएको हो । गाउँछेउकै समाधिस्थलमा स्थानीयले बिहानभरि पूजापाठ गरे । जिल्लाका सांसद, जनप्रतिनिधि, आमा समूह, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीले डा. हर्कप्रति श्रद्धाञ्जली अर्पण गरे । सुरुमा डा. हर्कका जेठी भाउजु ८३ वर्षीया तोला गुरुङले श्रद्धाञ्जली अर्पण गरिन् । 

स्मृति सभालाई सम्बोधन गर्दै सांसद भीष्मनाथ अधिकारीले सरकारी तवरबाट डा. हर्कलाई सम्झने कुनै कार्यक्रम नहुनु दुखद् भएको बताए । डा. हर्क को हो ? भन्नलाई उनकै किताब पढे पुग्ने भन्दै उनले राज्यलाई ठूलो गुन लगाए पनि राज्यले नसम्झनु उनीप्रतिको अपमान भएको टिप्पणी गरे । डा. हर्कको नाममा अनुसन्धनात्मक विश्वविद्यालय खोल्नुपर्ने र  विकास, पर्यटन र शिक्षालाई जोडेर पाठ्यक्रम बनाइनुपर्ने बताए । ‘जिल्लाका हरेक स्थानीय तहले उनलाई सम्झाउने खालको कार्यक्रम ल्याइनुपर्छ’ उनले भने ।

डा. हर्कलाई उनको योगदानको कदर गरेर राष्ट्रिय विभूति घोषणा गर्न स्थानीयले माग गर्दै आएका छन् । सांसद जमीन्द्रमान घलेले जिउँदा छँदा नै डा. हर्कलाई राज्यले नचिनेको गुनासो गरे । डा. हर्कका योजनालाई कार्यान्वयनमात्रै गर्न सकिए उनीमाथिको ठूलो सम्मान हुने उनले बताए । सांसद लालबहादुर गुरुङले हर्क गुरुङ सच्चा राष्ट्रवादी ब्यक्ति रहेको टिप्पणी गरे । राष्ट्रवादीलाई कदर गर्ने चलन नभएको भन्दै डा. हर्क राष्ट्रका योद्धा भएको टिप्पणी गरे । 

कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य नन्दराम विक, मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, उपाध्यक्ष होमबहादुर विक, वडा नं. ८ का अध्यक्ष हिरादेवी घले, घेर्मु स्रोत केन्द्रका स्रोतब्यक्ति ऋषिराम श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक, शिक्षक, मनास्लु तमु आमा समूह, महेन्द्रदेव माविका शिक्षक विद्यार्थीलगायतले श्रद्धाञ्जली अर्पण गरेका थिए । डा. हर्कका भतिज तेजु गुरुङ (डा. हर्कका दाइको छोरा)ले गाउँकै महेन्द्रदेव मावि र आमा समूहको संयोजनमा ट्रष्ट स्थापना गरिने बताए । बाल्यकालका साथी ८३ वर्षीय चुरे परियार डा. हर्कलाई सधैं सम्झिरहने बताए ।

वि.सं. १९९५ साल पुस २१ गतेका दिन बाबु पारसै गुरुङ र आमा मैँस्योको कोखबाट ठूलाकान्छा छोराको रुपमा जन्मेका डा. हर्क बहुमूखी प्रतिभाका धनी थिए । विश्व वन्यजन्तु कोष नेपालले आयोजना गरेको कञ्चनजंघा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण गर्ने कार्यक्रममा भाग लिएर फर्कने क्रममा डा. हर्क चढेको हेलिकप्टर २०६३ असोज ७ गते (२००६, सेप्टेम्बर २३) को दिन दुर्घटना भएको थियो । 

प्रकाशित : आश्विन ७, २०७४ २०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?