कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

घर फर्किनै सकस

भरतपुर ब्युरो

भरतपुर — अविरल वर्षाका कारण सयौं कच्ची घर भत्किएका छन् । हजारौं घरमा पानी जमेकाले बस्न सक्ने अवस्था छैन । पीडितहरू नजिकका विद्यालयमा आश्रित छन् । सर्लाही, रौतहट र बारा जिल्लामा पानी घट्ने क्रम जारी छ । पर्सा, मकवानपुर र चितवनमा पनि पानीको सतह घटेको छ ।

नारायणीको बाढीले नवलपरासीस्थित त्रिवेणी आसपासका बस्ती डुबानमै छन् । त्यसैले क्षतिको विवरण संकलन बाँकी छ । मध्य तराईका जिल्लामा एउटाबाट अर्को बस्तीमा पुग्नका लागि अहिले पनि डुंगाको आवश्यकता छ । ६ देखि ८ फिटसम्म पानी जमेकाले सरकारी अधिकारी र सुरक्षाकर्मीलाई राहत सामग्री पुर्‍याउन र उद्धारमा कठिनाइ छ ।

चितवनका विस्थापित सोमबारदेखि घर फर्किन थालेका छन् । स्थानीय प्रशासनले डुबानस्थलबाट उद्धार गरी नजिकका विद्यालयमा राखेको थियो । डुबानमा परेका १५ सय ३४ परिवार सोमबार घर फर्केका छन् । तर, घर बस्नलायक छैनन् । वर्षा हुन छाडेपछि उनीहरू घर फर्किन थालेको एसपी दीपक थापाले बताए । ‘पीडित सबैका घर डुबानमा परेकाले मानवीय क्षति हुन नदिन उद्धार गरेका थियौं,’ उनले भने ।

उनीहरूलाई जगतपुर र मेघौली निमाविमा राखिएको थियो । भरतपुर महानगरका १३, २३, २७ र २८ नम्बर वडा सबैभन्दा धेरै प्रभावित छन् । माडीको १, २, ३ वडाका २१ भत्किएका छन् । सोमबार प्रभावित क्षेत्रमा पुगेर महानगर प्रमुख रेणु दाहालले खाद्यान्नलगायत राहत वितरण गरेकी छन् । ‘हामीले बाढीपीडितलाई सहयोगका लागि विपद व्यवस्थापन कोष खडा गरेका छांै,’ दाहालले भनिन्, ‘त्यसरी संकलन भएको राहत महानगरभित्र एकद्वार प्रणालीबाट वितरण गर्ने योजना छ ।’

५ सय घर भत्किए
लगातारको झरीले सर्लाहीका ५ सय घर भत्केका छन् । हजारौं घर जलमग्न छन् । वाग्मतीले बाँध फुटाएर बस्ती प्रवेश गरेकाले क्षति बढेको हो । प्रजिअ प्रदीपराज कँडेलले कम्तीमा ५ सय घर भत्केको प्रारम्भिक अनुमान रहेको बताए । ‘तथ्यांक संकलन गर्न बाँकी छ,’ उनले भने, ‘घर भत्केका ५ सय परिवार विस्थापित छन् । एक हजारभन्दा बढी घर जलमग्न छन् ।’

सेनाले वाग्मती र मनुषमाराले दुवैतिर घेरा हालेर टापु बनाएको बस्तीसम्म पुगेर उद्धार जारी राखेको छ । सेनाको हेलिकप्टरले सोमबार राहत सामग्री मलंगवामा झारेको छ । पानी पर्न रोकिएको ३२ घण्टा भएकाले डुबानमा परेका बस्तीमा सतह घट्ने क्रम जारी छ । सोमबार मन्त्री प्रभु साह र ३ जना सांसद बाढीको अवस्था बुझ्न हेलिकप्टरमा मलंगवा आएका थिए ।

हजार विस्थापित
बाराका विभिन्न खोलामा आएको बाढी बस्ती पसेपछि एक हजार घरबारविहीन बनेका छन् । उनीहरूले स्थानीय विद्यालयमा आश्रय लिइरहेका छन् । ४ दिनदेखिको भीषण वर्षा थामिएपछि यहाँ जनजीवन भने क्रमश: सामान्य बन्दै गएको छ । विस्थापित भई विद्यालयलगायतका ठाउँमा शरण लिई बसिरहेका बाढीपीडितलाई विभिन्न संघसंस्था, रेडक्रस, उद्योग वाणिज्य संघ र दलहरू सुख्खा खानेकुरा वितरण गर्न सुरु गरेपछि उनीहरूले थप राहत महसुस गरेका छन् । जमुनी, तियर, बंगरी, अडुवा, दुधौरा, पसाहा, लालबकैया, थलहीलगायतका खोलाहरूमा पानीको बहाव घटेको छ । पानी घटेपछि तीन दिनदेखि बाढीले थुनिएका सयौं परिवारलाई राहत मिलेको बाढी प्रभावित भौराका गाविस सचिव पुनित जयसवालले बताए । ‘तीन दिनदेखि चुल्हो बाल्न नसकेका पीडितहरूले चौथो दिन चुलो बालेका छन्,’ कलैया–१४ का रामप्रवेश यादवले भने, ‘भौराका सय दलित समुदाय विद्यालयमा बास बसिरहेका छन् ।’

प्रजिअ विजयनारायण मानन्धरका अनुसार प्रारम्भिक अनुगमनपछि झन्डै हजार घरपरिवार विस्थापित भएको अनुमान गरिएको छ । तीमध्ये अधिकांश दलित तथा पिछडिएका समुदायका छन् । कच्ची घर भएकाले अधिकांश भत्केका हुन् । ‘संघसंस्था तथा सहयोगीहरूको समन्वयमा सबै ठाउँमा राहत सामग्री वितरण भइरहेको छ,’ दैवी प्रकोप उद्धार समितिका संयोजकसमेत रहेका प्रजिअ मानन्धरले भने, ‘क्षतिको विवरणसँगै पीडित परिवारहरूको पहिचान गरी नामावली संकलन गर्दै छौं ।’

घर भत्किएर मृत्यु
आइतबारदेखिको वर्षाले माटोको कच्ची घर भत्किँदा एक किशोरको मृत्यु भएको छ । विभिन्न स्थानमा गरी माटोका कच्ची ६ वटा घर भत्केका छन् । प्रहरीका अनुसार कोटइमाई गाँउपालिका–१ सिपुवामा सोमबार बिहान घर भत्केर १५ वर्षीय रोशन हरिजनको मृत्यु भएको हो ।

उनका बुबा ५२ वर्षीय फागु हरिजन र आमा ४८ वर्षीया शिला हरिजन घाइते भएका छन् । रूपन्देहीका डीएसपी बेलबहादुर पाण्डेले घटनाको जानकारी पाउनासाथ घटनास्थलमा प्रहरी पठाएर उद्धार गरिएको बताए ।

यस्तै कांग्रेस जिल्ला कार्यसमिति पदाधिकारी लगायत क्रियाशील सदस्यबाट रकम संकलन गरी रूपन्देहीलगायत प्रभावित जिल्लाका बाढी–पहिरोबाट पीडित र कठिन अवस्थामा रहेका परिवारलाई सहयोग गर्ने भएको छ । कांग्रेस रूपन्देहीका सभापति तथा सांसद अब्दुल रज्जाकको सभापतित्वमा सोमबार भैरहवामा बसेको बैठकले राहतका लागि जिल्लामा रहेका महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, जिल्ला कार्यसमिति, क्षेत्रीय पदाधिकारी, नगर पदाधिकारीबाट न्यूनतम अनिवार्य हजार र सबै क्रियाशीलबाट न्यूनतम अनिवार्य सय रुपैयाँ संकलन गर्ने निर्णय गरेको छ ।

सुस्तामा डुबान
नवलपरासीको सीमावर्ती बस्ती सुस्ताका सबै २ सय ६५ घरमा सोमबार पानी पसेको छ । नारायणीको बाढी पसेको हो । त्यहाँका सबै घरमा २ देखि ६ फिटसम्म पानी जमेको प्रशासनले जनाएको छ ।

सर्वसाधारणलाई त्यहाँस्थित दलित प्राथामिक विद्यालय र अन्य २ आश्रय स्थलमा अस्थायी बसोबास गराइएको छ । केही संघसंस्थाले विस्थापितको खाने र अस्थायी बासको व्यवस्था मिलाएको छ । स्वयंसेवक र सशस्त्र प्रहरीले आपतकालीन उद्धार गरेर आश्रयको व्यवस्था मिलाएका हुन् । बाढी पसेपछि घरमा बस्न नमिल्ने अवस्था आएको सहमति संस्थाका कर्मचारी सुरेश पौडेलले जानकारी दिए । पक्लिहवा, गुठी सूर्यपुरा, नरसही, कुडियाका ३ सय ९१ सय घर डुबानमा परेका छन् । उनीहरूलाई नजिकको विद्यालयमा बासोबास गराइएको प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माले जानकारी दिए ।

घर र चौपाया बगे
नारायणीको बाढीले मध्यविन्दु नगरपालिका २, नारायणी किनारका ११ वटा घर र १३ वटा चौपाया बगाएको छ । त्यहाँ मानवीय क्षति छैन । सेहरीका अन्य ३ सय घरमा नारायणीको बाढी पसेको छ ।

ठोरीमा क्षति
शनिबार र आइतबारको वर्षाले जिल्लाको विकट ठोरी गाउँपालिकामा पनि व्यापक क्षति पुगेको छ । त्यहाँ खहरेखोलामा आएको बाढीले ५ दर्जनभन्दा बढी परिवार विस्थापित भएका छन् ।

प्रकाशित : श्रावण ३१, २०७४ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?