कुम्भेश्वर मन्दिर जीर्ण

प्रशान्त माली

ललितपुर — विश्व सम्पदामा सूचीकृत पाटन बगलामुखीस्थित कुम्भेश्वर मन्दिर जीर्ण बन्दै गएको छ। ललितपुर महानगरपालिका–११ स्थित मन्दिर पुनर्निर्माण गर्ने ठेकेदार कम्पनीले समयमा चासो नदिँदा मन्दिरमा पानी चुहिन थालेको हो। अहिले पुनर्निर्माणको काम पनि रोकिएको छ।

कुम्भेश्वर मन्दिर जीर्ण

भूकम्पले पाँचतले मन्दिरको माथिल्लो तला (गजुरसहित) भत्केको थियो। पुरातत्त्व विभाग दरबार हेरचाह तथा स्मारक संरक्षण कार्यालयका अनुसार कुम्भेश्वर मन्दिर पुनर्निर्माणको ठेक्का धर्मएस/तुल्सी/ड्रामा जेभी (संयुक्त)ले २०७४ पुस मसान्तभित्र सम्पन्न गर्ने गरी २०७३ साउन १० मा भ्याटसहित २ करोड ८५ लाख ९३ हजार ४० रुपैयाँमा ठेक्का पाएका थिए।

तर ठेक्का पाएको १ वर्ष बितिसक्दा पनि मन्दिर पुनर्निर्माणका लागि गर्नुपर्ने विस्तृत अध्ययन भएको छैन। अहिले मन्दिरमा स्केट फोल्डिङ राखिएको छ। पुरातत्त्व विभाग, दरबार हेरचाह तथा स्मारक संरक्षण कार्यालय प्रमुख काजी प्याकुरेलले पुनर्निर्माणको काम वर्षा र जात्राले गर्दा ढिलाइ भएको दाबी गरे। ‘पुनर्निर्माणको काममा पक्कै पनि ढिलाइ भएको हो,’ उनले भने, ‘अर्को महिनादेखि काम सुरु हुन्छ।’ उनले मन्दिरको भत्केको गजुरको भागमा जस्तापाता राखिएकाले पानी नचुहिने दाबी गरे। स्थानीयवासीका अनुसार मन्दिरमा पानी जम्दा टुँडाल, खम्बा, मूर्तिलगायत ऐतिहासिक पुरातात्त्विक महत्त्वका वस्तुमा खिया लागेको छ। मन्दिर ढल्नबाट बचाउन गजुरदेखि दोस्रो तलासम्म राखिएको एउटै खम्बामा पानी परेको छ।

मन्दिरका मूल पुजारी माधवश्याम शर्माले भारी वर्षाको बेलामा मन्दिरमा बस्न समेत डर लाग्ने गरेको बताए। ‘ठेक्का अवधिभित्रमा पुनर्निर्माण सम्पन्न हुने छाँटकाँट देखिएन,’ उनले भने, ‘यस्तै स्थिति रहिरहे अहिले भइरहेको दैनिक नृत्य, आरती पूजा र सर्वसाधारणलाई बगलामुखी र महादेवको दर्शन गराउन मन्दिर खुला राख्न मुस्किल हुनेछ।’ उनले वैज्ञानिक तरिकाले निर्माण भएको मन्दिरको पछि हतारहतार काम गर्नुपर्दा गतिलो र पुरातात्त्विक ढंगबाट नहुनेमा चिन्ता व्यक्त गरे।

जेठमा मन्दिरको नौ महिनादेखि रोकिएको काम प्रधानमन्त्री शेरबहादुर देउवाले मन्दिरमा क्षमा पूजा गरी पुनर्निर्माणका लागि ज्याबल हस्तान्तरण गरेका थिए। मन्दिर पुनर्निर्माण गर्न स्थानीय २९ जना पदाधिकारीसहितको कुम्भेश्वर मन्दिर पुनर्निर्माण समन्वय समिति गठन गरिएको थियो। जसमा मन्दिरका मूल पुजारी, कुम्भेश्वर टोल सुघार समिति र बगलामुखी द्य: पाला (देवता हेरचाह गर्ने व्यक्ति) ले समन्वय गर्ने निर्णय भएको थियो। 

मन्दिर पुनर्निर्माणको जिम्मा पाएका ठेकेदार दिनेश श्रेष्ठले मन्दिरको बिग्रिएको भाग भत्काउन प्रहरीलगायत सम्बन्धित सुरक्षा निकायका प्रतिनिधि नखटिएकाले पुनर्निर्माण रोकिएको दाबी गरे।

प्रकाशित : श्रावण १२, २०७४ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?