कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

सिंहदरबारभित्रै अस्थायी शिक्षकको धर्ना

कान्तिपुर संवाददाता

काठमाडौं — अस्थायी शिक्षकहरूले आफूहरूसँग यसअघि भएका सम्झौता कार्यान्वयन गराउन बुधबार शिक्षा मन्त्रालयमा धर्ना दिएका छन्।

शिक्षक सेवा आयोगले लिने परीक्षामा असफल भए पनि सुविधा दिने व्यवस्था गराउन शिक्षा ऐन संशोधन गर्ने भनी शिक्षा मन्त्रालय र शिक्षकहरूबीच सम्झौता भएको स्मरण गराउँदै उनीहरूले कार्यान्वयनका लागि दबाब दिइरहेका छन्। 

परीक्षामा असफल भए पनि सुविधा दिनुपर्ने माग राखेर अस्थायी शिक्षक अनशन बसेका थिए। अनशन तोडाउन मन्त्रालयले असार ९ मा ऐन संशोधन प्रक्रिया अघि बढाउने सम्झौता गरेको थियो। सम्झौताअनुसार शिक्षाले कानुन र अर्थ मन्त्रालयमा सहमतिका लागि पठाए पनि अर्थले अस्वीकार गरेको छ। 

अर्थले सहमति दिन नसकिने पत्र शिक्षालाई पठाएपछि अस्थायी शिक्षकहरू सम्झौता कार्यान्वयनप्रति सशंकित छन्। गत वर्ष असारमा संशोधन भएको शिक्षा ऐनमा अस्थायी शिक्षकलाई परीक्षा अथवा सेवासुविधा रोज्ने मौका दिइएको थियो। मन्त्रालयले बिहीबार उनीहरूलाई छलफलका लागि बोलाएको छ। आयोगले ऐनअनुसार १९ हजार २ सय ६५ दरबन्दीमा विज्ञापन गरे पनि १५ हजार ६ सय ९७ ले मात्र परीक्षामा सहभागी हुन आवेदन गरेका छन्। ३ हजार ५ सय ६८ जनाले सुविधा लिएर बाहिरिने निवेदन शिक्षा कार्यालयमा दिइसकेका छन्। 

आयोगले भदौ ३ गते परीक्षा तोकेको छ। अर्थले अस्वीकार गरेका कारण असफल भए पनि सुविधा दिने गरी ऐन संशोधन हुने सम्भावना कम छ।

प्रकाशित : श्रावण १२, २०७४ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?