बिहे नगर्न प्रेमिकाको हत्या- उपत्यका - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बिहे नगर्न प्रेमिकाको हत्या

कान्तिपुर संवाददाता

गुल्मी — प्रेम र शारीरिक सम्पर्कपछि विवाहको विषयमा विवाद हुँदा एक युवकले प्रेमिकाको हत्या गरेको खुलेको छ।

 

मुसिकोट नगरपालिका–१ पौंदीअमराईकी ३५ वर्षीया गीता नेपाली असार २६ मा बडीगाड खोला किनारमा मृत अस्थामा फेला परेकी थिइन्। उनको हत्या गरेको आशंकामा बागलुङको बढीगाड गाउँपालिका–२ राक्सेका हीरा बलामीलाई प्रहरीले पक्राउ गरेको छ। बलामीले प्रेम र शारीरिक सम्बन्धपछि गीताले विवाहका लागि दबाब दिँदा हत्या गरेको स्वीकारेको बागलुङका प्रहरी उपरीक्षक चन्द्रकुबेर खापुङले बताए। 

‘सम्बन्ध बनाएपछि उमेर र जात नमिल्ने भनेर मारेको भन्ने बयानमा स्वीकारेका छन्। दुईबीच प्रेम र अनुचित सम्बन्ध दुवै देखियो, उनले भने, ‘गीताले विवाह नगरे प्रहरीमा उजुरी गर्छु भनेपछि हत्या गरेर बडीगाड खोलामा फालेको स्वीकार गरेको छ।’ प्रहरीका अनुसार बलामीको उमेर १८ वर्ष र मृतकको उमेर ३५ वर्ष छ। तीन सन्तानकी आमा गीताको श्रीमानसँग राम्रो सम्बन्ध नभएपछि माइतीमा बस्दै आएकी थिइन्। बलामीले असार २५ गते नै हत्या गरेर फालेको स्वीकार गरेको प्रहरीले जनाएको छ।

प्रकाशित : श्रावण ११, २०७४ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्

नयाँ मापदण्डले तर्सिए कुस्मावासी

अगन्धर तिवारी

पर्वत — मध्यपहाडी लोकमार्गको रेखांकनको योजनासँगै पर्वतको सडक ६२ मिटर कायम हुने हल्लाले सदरमुकाम कुस्मा र मोदी गाउँपालिका आसपासका स्थानीय जग्गा जान्छ भनेर त्रसित छन्।

सडक विभागले केही महिनाअघि लोकमार्गको आसपासको क्षेत्रमा नयाँ मापदण्ड निर्धारण गरिएको व्यहोराको पत्र कुस्मा नगरपालिकालाई पठाएको थियो।

उक्त पत्रअनुसार कुस्मा नगरपालिकाले गत चैत २६ देखि राजमार्गको दायाँबायाँ खण्डमा पर्ने जग्गामा बनेका पुराना संरचनाको नक्सा नियमित तथा नयाँ नक्सापासमा रोक लगाएको छ। ‘सुरुमा २१/२१ मिटर छोडेर संरचना बनाउन दिने आशयको पत्र आएको थियो,’ कुस्माका कार्यकारी अधिकृत हीरामणि सुवेदीले भने, ‘पछि अर्को व्यवस्था नभएसम्मका लागि भन्ने सूचना छ। अरू निर्देशन आउने बेलासम्म सबै काम रोकिएको छ।’
सडक फराकिलो हुँदा ६२ मिटर कायम भए मोदी गाउँपालिका र कुस्मा नगरपालिकामा पर्ने करिब हजारभन्दा बढी घर भत्काउनुपर्छ। पुरानो मापदण्डअनुसार सडकको दायाँबायाँ १५ मिटर छोडेर घरटहरा निर्माण गरेकाहरू नयाँ हल्लाले निकै तनावमा छन्। ‘बैंकहरूले समेत लगानी रोकेछन्,’ शिवालय चोकका व्यवसायी शिव सुवेदीले भने, ‘निर्णय कार्यान्वयन भए हामी चौपट हुन्छौं।’ नयाँ मापदण्डसहितको सडक निर्माण भए कुस्माका आधाजसो घरटहरा भत्काउनुपर्ने हुन्छ। दुर्लुङचोकका व्यवसायी बद्री पौडेलका अनुसार हल्लाकै कारण राजमार्ग आसपासमा घरघडेरी किनबेच रोकिएको छ। ‘मेरै काकाले घर किन्न दिएको १० लाख बैनासहित छोड्नुभयो,’ उनले भने, ‘हाँसेर बोले पनि रातभर निद्रा लागेको छैन।’
सडक डिभिजन कार्यालय बागलुङले राष्ट्रिय राजमार्गको हकमा २५–२५ मिटर सडक बाहेक ६–६ मिटर छोडेर घरटहरा बनाउने मापदण्ड भए पनि त्यस्तो कार्यान्वयन हुन सम्भव नभएको जनाएको छ। ‘अहिलेलाई राइट अफ वे २१–२१ मिटर कायम भएको छ। त्यसपछिको सेटव्याक ६–६ मिटरको मापदण्ड हो,’ डिभिजन प्रमुख थानेश्वर खत्रीले भने, ‘बनिसकेका संरचना भत्काउने हल्ला मात्रै हो। सडक केही फराकिलो बन्न सक्छ।’ तराई क्षेत्रमा त्यो मापदण्ड कायम भए पनि पहाडी क्षेत्रमा त्यो निर्णय कार्यान्वयन हुन कठीन हुने डिभिजन कार्यालयले जनाएको छ।
डिभिजन कार्यालयले कुस्मा नगरपालिकालाई नयाँ मापदण्ड कायम हुनेगरी सडक बिस्तार हुने आशयको पत्र कुस्मा गत चैतको पहिलो साता पठाएको थियो। नगरपालिकाले त्यसको केही समयदेखि राजमार्ग वरपर नयाँ घर निर्माणका लागि अनुमति दिएको छैन। पुराना संरचनाको पनि नक्सा नियमित रोकेको छ। नगरपालिकाले अनुमति नदिएपछि राजमार्ग छेउका संरचना धितो राखेर लगानी नगरिएको बैंकहरूले जनाएका छन्। ‘अहिलेसम्म नयाँ सर्कुलर आएको छैन,’ नेपाल बैंकका प्रबन्धक सुरेस लामिछानेले भने, ‘हामीले नगरपालिकाको सर्कुलरअनुसार काम गर्ने हो। अहिलेलाई त्यस्तो केही जानकारी छैन।’ नगरपालिकाका कार्यकारी अधिकृत सुवेदीले सडक विभागले स्पस्ट निर्णयको जानकारी नदिँदासम्मका लागि नयाँ संरचना र पुरानाको काम रोकिएको बताए।
राजमार्ग वरपर घडेरी किन्ने र पहिले नै घडेरी भएका र आफ्नै संरचना बनाएर बसेका स्थानीयसमेत पछिल्लो मापदण्ड कायम हुँदा घरबारविहीन बन्ने अवस्था आउने भन्दै धेरैले स्पस्ट जानकारी दिन सम्बन्धित निकायलाई आग्रह गरेका छन्। कुस्मावासीले नगरपालिका र सडक डिभिजन कार्यालयलाई आफूहरू अन्योलमा परेकोबारे जानकारी गराएको ती कार्यालयहरूले जनाएका छन्। पूर्वको पाँचथरको चियोभन्ज्याङबाट सुरु हुने यो राजमार्ग पश्चिमको बैतडीको झुलालघाटमा टुंगिन्छ। यसको लम्बाइ १७ सय ७६ किमि हुनेछ।

प्रकाशित : श्रावण ११, २०७४ १०:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×