रामेछापको विकट गाउँमा नेपाली शैलीको विद्यालय

‘८ सय विद्यार्थीको अनुहारमा छायो खुशी’

गुन्सीभदौरे(रामेछाप) — नेपालप्रेमी जर्मन नागरिकको स्वेच्छिक सहयोगमा रामेछापको बिकट क्षेत्र मानिने गुन्सी–भदौरेमा सेवा–सुविधा सम्पन्न सरकारी विद्यालय निर्माण भएपछि गाउँलेहरु खुशी भएका छन् ।

रामेछापको विकट गाउँमा नेपाली शैलीको विद्यालय

स्थापनाको स्वर्ण जयन्ती मनाइसकेको शतलिङ्गेश्वर उच्च माध्यमिक विद्यालयको जीर्ण अवस्था देखेर जर्मनीस्थित सुलरहिल्फे फर नेपाल (नेपालका लागि विद्यालय) अभियान र रोटरी क्लब गुएन्जबर्गको सहयोगमा ६ सय विद्यार्थी बस्न सक्ने दुई तले नेपाली शैलीको भवन बनाइएको हो ।

शनिबार विद्यालय भवन उद्घाटन समारोहमा सहभागी हुन आएका सुलरहिल्फे फर नेपाल संस्थाका प्रमुख एवं मुख्य दाता एर्नष्ट क्लिमर र योर्ग बारले ‘दुर्गम पहाडी क्षेत्रका बालबच्चाको भविष्यका लागि यो विद्यालय निर्माण गरिएको’ मन्तव्य राखे । झण्डै ८० लाख रुपैयाँ खर्चेर विद्यालय भवनलाई नेपाली शैली र विशेषता समेटेर आरपी फाउण्डेसनले निर्माण गरेको हो । यसअघि पनि फाउण्डेसन समन्वयमा यही विद्यालय हातामा अर्को भवन निर्माण गरिसकिएको छ ।

‘यो विद्यालयमा रामेछापको दुरदराज र झण्डै २ घण्टाको पैदल बाटो छिचोलर विद्यार्थीहरु आउने गरेका छन्,’विद्यालयका प्रधानाध्यापक एकनाथ चौलागाईले कान्तिपुरसँग भने,‘दुई वर्षअघिको भुकम्पका कारण पनि रहेभएका भवनहरु क्षतिग्रस्त अवस्थामा थिए, आज जर्मनका नेपाल हितैषीले सहयोग गरिदिएर यो क्षेत्रमैं इज्जत गर्न सकिने विद्यालय निर्माण भएको छ ।’

प्रधानाध्यापक चौलागाईंका अनुसार, विद्यालय हस्तान्तरणको समारोहमा जर्मन दाताहरुले २० वटा कम्प्युटर र सोलार प्यानल समेत दिएका छन् । दाताले विद्यार्थीका सुविधायुक्त शौचालय समेत बनाइदिएका छन् ।

आरपी फाउण्डेसनका अध्यक्ष सम्पदाबिद् रवीन्द्र पुरीले जर्मनमा रहेका नेपालप्रेमी हितैषीको सहयोगमा अहिलेसम्म विभिन्न जिल्लामा ११ वटा सरकारी विद्यालय बनिसकेको जानकारी दिए । पुरीका अनुसार, सुलरहिल्फे फर नेपाल र सुलेन फर नेपाल नामका दुइवटा संस्थाको समन्वयले नेपाली परम्परागत शैली झल्कने गरी काभ्रे, रामेछाप, भक्तपुर, गोर्खा, नवलपरासी र नुवाकोटमा विद्यालय निर्माण भइसकेको छ ।

फाउण्डेसनले मथुरापाटी माध्यमिक विद्यालय(फूलबारी, काभ्रे), प्रभा उच्च माबि(कात्तिकेदेउराली, काभ्रे), बाल उज्ज्वल मावि(दाप्चा, काभ्रे), भीमेश्वर निमावि(फूलबारी, काभ्रे), सरस्वती निमावि(सिपाडोल, भक्तपुर), शतलिङ्गेश्वर उच्चमावि (गुन्सीभदौरे, रामेछाप), श्रीकृष्ण उच्च मावि(दाप्चा, काभ्रे) निर्माण सम्पन्न गरिसकेको छ । यसैगरी, फाउण्डेसनले जागृती निमावि(आशापुरी, काभ्रे), जनता उच्च मावि(आमपिपल, गोर्खा) र छत्तिसादेवी मावि(कोठार, नवलपरासी) निर्माण क्रममा राखेको छ ।

प्रकाशित : वैशाख २५, २०७४ १७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?